दूध उत्पादन १ खर्बको, कारोबार २० अर्बको

यो समाचार 233 पटक पढिएको

काठमाडौं,  माघ २२ / सानो एकाइमा खरिद–बिक्री हुने दूधको बजार बिस्तारै फैलँदै गएको छ । व्यावसायिक पशुपालनका माध्यमबाट दूध आपूर्ति बढाइए पनि उत्पादनको ठूलो हिस्सा घरेलु प्रयोजनमा खपत भइरहेको छ ।किसानले घर–घरमा उत्पादन गरेको सबै दूध बजारमा आउँदैन, आफैँले खपत गर्छन् । कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार वार्षिक १६ लाख २२ हजार टन दूध उत्पादन हुने गरेको छ । यसमध्ये मुस्किलले २० प्रतिशत दूधमात्रै व्यावसायिक प्रयोगमा आउँछ ।
DDC Milk,Newsagroउत्पादनको ठूलो परिमाण किसान आफैँले खपत गरे पनि औसत नेपालीले पर्याप्त दूध भने पिउन पाएका छैनन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य रहन एक व्यक्तिले वर्षमा एक सय ४६ लिटर दूध पिउनुपर्ने तर्क गरेको छ । ‘तर, एक नेपालीले प्रतिवर्ष औसतमा करिब ५० लिटर दूधमात्रै पिउने गरेको हाम्रो अध्ययनले देखाएको छ,’ नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले भने ।

 

निजी क्षेत्रका व्यवसायीको अध्ययनले वार्षिक ८० अर्ब रुपैयाँभन्दा बढीको दूध उत्पादन हुने गरेको जनाएको छ । यो तथ्यांकमा गाउँघरतिर आपसमा बिक्री हुने दूध परिमाण सामेल छैन । ‘गाउँघरमा छरछिमेकीबीच नै दूध खरिद–बिक्री हुने गरेको छ । त्यसलाई जोड्ने हो भने १ खर्ब पुग्छ,’ उनले भने ।

 

झन्डै एक खर्ब रुपैयाँको दूध उत्पादन भए पनि व्यावसायिक प्रयोजनमा भने २० प्रतिशत (२० अर्ब रुपैयाँ बराबर) मात्रै आउने गरेको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्यांक छ । ‘किसान आफैँले दूध खपत गर्छन्, गाउँघरमा दही, मही, घिउलगायत बनाउने र परिवारमा दूध खपत गर्ने प्रचलन बढी छ,’ बोर्डका अध्यक्ष बाबुकाजी पन्तले भने ।

 

कृषि मन्त्रालयका अनुसार मुलुकमा सबैभन्दा बढी काभ्रे जिल्लामा दूध उत्पादन हुने गरेको छ । आर्थिक वर्ष ०६७/६८ को तथ्यांकअनुसार काभ्रेमा सबैभन्दा बढी ७७ हजार ५ सय १७ टन दूध उत्पादन भएको थियो । काठमाडौं उपत्यकामा दूधको माग तीव्र रूपले बढ्न थालेपछि उपत्यकानजिकको जिल्ला काभ्रेमा व्यावसायिक गाई तथा भैँसीपालन गर्नेको संख्या ह्वात्तै बढेको हो ।

 

त्यस्तै, मनाङ, मुस्ताङ र डोल्पामा सबैभन्दा कम दूध उत्पादन हुने गरेको मन्त्रालयको तंथ्याक छ । तीनवटै हिमाली जिल्लामा चिसोका कारण गाई र भैँसी पालनमा कठिनाइ हुने भएकाले दूध उत्पादनमा कमी भएको मन्त्रालयले जनाएको छ ।

 

उत्पादन भएको ठूलो परिमाण व्यावसायिक प्रयोजनमा नआउँदा बर्सेनि करिब ५ लाख टन दूध भारतबाट आयात भइरहेको व्यवसायीले बताएका छन् । हाल मागअनुसार उत्पादन नहुँदा भारतबाट दैनिक एक लाख लिटर दूध आयात भइरहेको दाहालले जानकारी दिए । ‘सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले ४० हजार र निजी क्षेत्रले ६० हजार लिटर भारतबाट अहिले आयात गरिरहेका छौँ,’ उनले भने ।

 

प्रत्येक दिन १ लाख लिटर दूध आयात गर्दा दैनिक ४५ लाख रुपैयाँ बाहिरिन थालेको छ । दुग्ध विकास संस्थान (डिडिसी) का पूर्वमहाप्रबन्धक सियारामप्रसाद सिंहले हालको उत्पादन अवस्था हेर्दा यस वर्ष आयात बढेर जाने बताए । ‘यो वर्ष दूध उत्पादन कम भएको छ । यसर्थ, भदौसम्म भारतबाट दूध आयात हुने देखिन्छ,’ सिंहले भने ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :