गोल्छाको पशु भ्याक्सिन उद्योग छिट्टै

यो समाचार 241 पटक पढिएको

बनेपा,   माघ २२ / गोल्छा समूहको लगानीमा काभ्रे, उग्रचण्डीमा स्थापित हेस्टर बायोसाइन्सेजले छिट्टै पशुजन्य भ्याक्सिनको उत्पादन गर्ने भएको छ। ‘उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ। आगामी जुलाईबाट व्यावसायिक उत्पादन थाल्दैछौं,’ कम्पनीका प्रबन्धक डा. रुपेन्द्र चौलागार्ईंले जानकारी दिए। Animal Medicine, Newsagroउनका अनुसार कम्पनीले भारतको अग्रणी पक्षीजन्य खोप उत्पादन हेस्टर बायोसाइन्सेज(एचबिएल) कम्पनीको प्रत्यक्ष रेखदख र निगरानीमा ३७ प्रकारका पशु तथा पक्षीजन्य खोप उत्पादन गर्नेछ।
‘हामीले उत्पदान गर्ने भ्याक्सिन नेपालका लागि मात्रै नभई निर्यातसमेत गर्ने लक्ष राखेका छौं,’ उनले थपे। कम्पनीले यहाँ उत्पादित भ्याक्सिन खाडी मुलुक, युरोप, अफ्रिका र उत्तर अमेरिकी देशमा निर्यात गर्ने जनाएको छ। ‘कूल उत्पादनको ४ देखि ५ प्रतिशत नेपालमा खपत हुने र बाँकी सबै निर्यात हुने भएकाले यो नेपालबाट भ्याक्सिन निर्यात गर्ने पहिलो कम्पनी समेत हुनेछ,’ चौलागाईंले दाबी गरे।
भारतको एचबिएल र गोल्छा समूहको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा स्थापित यो नेपालमा बायोटेक्नोलोजीमा आधारित पहिलो पशु खोप उद्योग हुनेछ। यसमा हिम इलेक्ट्रोनिक्स र एचबिएलको क्रमशः ३५ र ६५ प्रतिशत लगानी रहेको छ।
हेस्टर नेपालको समग्र प्राविधिक काम एचबिएलले र व्यवस्थापकीय काम गोल्छा समूहले गर्ने उनले बताए। कूल २५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगका लागि आवश्यक पर्ने अधिकांश मेसिन भारत, स्विजरल्यान्ड तथा अमेरिकाबाट झिकाइएको छ।
‘उद्योग पूर्ण रुपमा सञ्चालनमा आउँदासम्म २ सयजनाले रोजगारी पाउनेछन्। कम्पनीले बेरोजगार तर सीप भएका स्नातकलाई प्राथमिकता दिने नीति लिएको छ,’ उनले भने। पहिलो चरणमा पशुबस्तुका स्वाइन फिभर, पिपिआर भ्याक्सिन उत्पादन हुने उनले बताए। ‘दुवै भ्याक्सिन वार्षिक रुपमा १–१ अर्ब डोज उत्पादन गर्ने क्षमता छ,’ उनले भने।
यस्तै, उद्योगले कुखुराका लागि साल्मोनेल्ला एस्जिनाइनआर, आइबी, मरेक्स एचभिटी र मरेक्स रिस्पेन्स उत्पादन गर्ने लक्ष राखेको छ।
‘नेपाललाई पशु खोपमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौं। यसका लागि औषधी व्यवस्था विभागबाट लाइभ र किल्डतर्फ ३७ थरि भ्याक्सिन उत्पादनको अनुज्ञापत्र समेत पाइसकेका छौं,’ चौलागाईंले भने।
भारतमा बर्डफ्लू आउँदासमेत यहाँको उत्पादन नरोकिने हुँदा नेपालका कुखुरापालन व्यवसायी तथा किसानले लाभ लिन सक्ने उनको भनाइ छ।  हाल पशु सेवा विभागअन्तर्गत केन्द्रीय जैविकी उत्पादन प्रयोगशालामा भेटेरिनरी भ्याक्सिन उत्पादन हुने गरे पनि यहाँ उत्पादित भ्याक्सिनले माग धान्न सकेको छैन। यहाँ सीमित किसिमका र थोरै मात्रामा भ्याक्सिन उत्पादन हुने भएकाले मुलुकले भारत तथा तेस्रो मुलुकबाट आयातित भ्याक्सिनको भर पर्नु परेको भेटेरिनरी डाक्टरहरुको भनाइ छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :