एमाले संसदीय दलको नेतामा केपी ओली निर्वाचित

यो समाचार 151 पटक पढिएको

काठमाडौं,२१ माघ/ नेकपा एमाले संसदीय दलको नेतामा केपी ओली निर्वाचित भएका छन् । सहमतिका प्रयास असफल भएपछि मंगलबार दिउँसो भएको निर्वाचनमा पार्टी अध्यक्ष झलनाथ खनाललाई २३ मतान्तरले पराजित गर्दै ओली संसदीय दलको नेता चुनिएका हुन् ।

Jhalanath-ana-kp-oli-650

ओलीले ९८ मत पाएकाछन् भने खनालको पक्षमा ७५ मत मात्र परेको छ । एमाले संसदीय दलमा १ सय ७३ मतदाता थिए भने दलको नेतामा निर्वाचित हुन ८७ मत चाहिन्थ्यो ।

मत नदिनेलाई पूर्वाग्रह राख्निन : ओली

संसदीय दलका नवनिर्वाचित नेता ओलीले सबै सभासदलाई मिलाएर अघि बढ्ने बताए । उनले भने-’निर्वाचन आयोगको परिणामअनुसार मैले ९८ मत ल्याएँ, अध्यक्षजीले ७५ मत । कुनै पनि पक्षमा मतदान गरेवापत, कुनै पक्षलाई मत नदिएवापत कसैमाथि पनि आग्रहपूर्वाग्रह राखिने छैन ।’

पार्टीलाई एक ढिक्का बनाउने भन्दै उनले संसदीय दलमा पनि मिलेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले भने-’संसदीय दललाई प्रभावकारी बनाएर जानेतर्फ हामी अग्रसर हुनेछौं । नेकपा एमालेले राष्ट्रिय राजनीतिमा खेल्ने महत्वपूर्ण भूमिकामा आफूलाई प्रस्तुत गर्ने काममा कमी रहन दिदैँनौ ।’

मतदानपछि हात मिलाउँदै झलनाथ खनाल र केपी ओलीप्रधानमन्त्रीको उम्मेदवारी दिनुहुन्छ भन्ने प्रश्नमा उनले भने-’प्रधानमन्त्रीको उम्मेदवारका लागि उम्मेदवार बनाउने कुरा छैन । सहमतीय सरकारको चरण समाप्त भएर बहुमतीय चरणमा गएकाले मुख्य पार्टीले सहमति र सहकार्यका साथ जिम्मेवार भूमिका खेलेर अघि बढ्नु जरुरी छ ।’

दलको नेतामा पराजित खनालले चुनावी परिणाम एमालेको जित भएको भन्दै मिलेर अघि बढ्ने बताए । उनले भने-’केपी ओली संसदीय दलको नेता हुनुभयो । म अध्यक्ष छु । अब हामी दुबै जना मिलेर पार्टीलाई अगाडि बढाउँछौं ।’ संसदीय दलको नेता चयनका लागि लोकतान्त्रिक अभ्यास सम्पन्न गरेको भन्दै उनले यसले पार्टीलाई अझै बढी सुदृढ बनाउने बताए । अध्यक्ष खनालले ओलीलाई बुहमतका साथ निर्वाचित गरेकोमा आफ्नो व्यक्तिगत तथा सिंगो पार्टीको तर्फबाट बधाई दिएका छन् ।

ओलीलाई उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, महासचिव इश्वर पोखरेल, सचिव विष्णु पौडेल र शंकर पोखरेलको समर्थन थियो । विगतमा खनाल पक्षमा रहँदै आएका गौतम संसदीय दलको नेता चयन प्रक्रियामा ओली गुटमा गएपछि खनाल पक्ष दबावमा परेको थियो । सभासद नरहेका महासचिव पोखरेल सिंहदरवार पुगेका थिए ।

पार्टी अध्यक्ष खनाललाई भने वरिष्ठ नेता माधवकुमार नेपालसँगै सचिव युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी र अमृतकुमार बोहोराले समर्थन गरेका थिए ।

नवौं महाधिवेशनको मिति तय भइसकेको अवस्थामा संसदीय दलको नेतामा ओलीको जितलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली बैशाखमा हुने महाधिवेशनबाट अध्यक्ष बन्ने प्रयासमा छन् ।

खनालले भने संसदीय दलको नेताको उम्मेदवारी दिँदा सघाएका माधव नेपाललाई समर्थन गर्ने बताइएको छ । बुटवलमा भएको आठौं महाधिवेशनमा ओलीलाई हराउँदै खनाल अध्यक्षमा निर्वाचित भएका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :