घरमै निर्मित मलको प्रयोगबाट लाखौँको टमाटर उत्पादन

This post has already been read 91 times!

भद्रपुर, २१ माघ । मुलुकको पूर्वोत्तर गाविस बाहुनडाँगीका किसानले घरमै निर्मित मलबाट ठूलो परिमाणमा टमाटरलगायतका तरकारी उत्पादन गरेर बर्सेनि लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् ।

Tomato

रासायनिक मल र विषादीको प्रयोग गरी उत्पादन भएका तरकारी स्वास्थ्यका लागि अति हानिकारक हुनुका साथै खेतको माटोसमेत बिग्रने गरेका कारण खेतको उर्वराशक्तिलाई जोगाउन र स्वास्थ्यवद्र्धक तरकारी उत्पादन गर्ने उद्देश्यले अधिकांश किसानले घरमै तयार पारिएका मलबाट तरकारी उत्पादन गर्न थालेका हुन् ।

 

भारतको सिक्किमबाट आएका पाहुनाले घरमै मल बनाउने विधिबारेमा विस्तृत जानकारी गराएपछि सोअनुरुपको मल तयार गरी प्रयोग गर्दा एउटा बोटमा १५ किलोसम्म टमाटर उत्पादन भएको किसान कमल आचार्यले सुनाउनुभयो । मल बनाउनका लागि गाईकै मलमूत्र, दूध, दही प्रयोग गरिएको र बाहिरका सामानमा सखर, केरा र मह सामान्य मात्रामा मिसाएर न्यून लागतमा शक्तिवद्र्धक मल तयार भएको बाहुनडाँगी–७ की रोजीला आचार्यले बताउनुभयो ।

 

मल तयार पार्ने विधिको सम्बन्धमा किसान कमल आचार्य भन्नुहुन्छ, “पाँच कट्ठासम्म खेतका लागि मल तयार गर्नका लागि पाँच किलो गाईको गोबर, अढाई लिटर गाईको गहुँत एउटा भाँडोमा राखेर प्रत्येक दिन एक पटक गरी चार दिनसम्म मोल्नु पर्दछ । त्यसपछि, पाँचाँै दिनमा त्यसमा दुई किलो दही, दुई लिटर गाईको दूध, आधा किलोका दरले नौनी घिउ, मह र सखर, चार कोसा केरा र रक्सी बनाउनमा प्रयोग गरिने अलिकति मर्चा सोही भाँडोमा राखी राम्ररी मोलेर भाँडोको बिर्काे बन्द गरी २१ दिनसम्म राख्नुपर्दछ ।” त्यसपछि, एउटा भाँडोमा छानेर राखेपछि १३ किलो मल तयार हुन्छ ।

 

 

यसलाई तरकारीबालीको भिटामिन भन्ने गरिन्छ । खासगरी अपराह्नको समयमा यो मल बालीमा साताको एक पटक स्प्रे गर्नुपर्ने हुन्छ । यसको प्रयोगबाट बालीमा अत्यधिक शक्ति प्राप्त हुने गरेकाले उत्पादनमा गुणात्मक रुपमा वृद्धि हुने गरेको उहाँको अनुभव छ । यस प्रकारको मलबाट तरकारीको उत्पादनमा गुणात्मक रुपमा वृद्धि भएपछि बाहुनडाँगी गाविसका अधिकांश किसान यतिखेर तरकारीका साथै चियाखेतीमा पनि यस विधिले तयार पारिएको मल प्रयोग गर्न थालेका छन् । सोही कारणले बाहुनडाँगीमा विभिन्न जातका तरकारीका साथै टमाटरको खेती व्यापक रुपमा हुन थालेका हो ।

 

 

आपूmले तीन कट्ठामा लगाइएको टमाटरको खेतीबाट रु एक लाख बराबरको टमाटर गत वर्ष बिक्री गरेको किसान कमल आचार्यले बताउनुभयो । उहाँ भन्नुहुन्छ– “यसपालि अहिलेसम्ममा ६० क्रेट टमाटर बिक्री गरिसकिएको छ, एक क्रेटमा २२ किलो टमाटर अटाइन्छ । सोअनुसार, एक हजार ३२० किलो टमाटर बिक्री भइसकेकोे छ । प्रतिकिलो रु ३२ का दरले बिक्री गर्दा रु ४२ हजारको बिक्री गरिसकेको र अहिले पनि बारीमा टमाटर ठूलो परिमाणमा छन् ।” कमल आचार्यले यसप्रकारको प्राङ्गारिक मल तयार पारेपछि उहाँसँग मागेर आपूmले एउटा करेलाको बोटमा प्रयोग गर्दा प्रतिहप्ता १०/१२ किलोसम्म करेला फलेको स्थानीय प्रेमसागर पौडेलले जानकारी गराउनुभयो । त्यसपछि, गत वर्ष पाँच कट्ठामा गरिएको टमाटरखेतीबाट रु एक लाख बराबरको टमाटर बिक्री गर्नुका साथै अन्य मौसमी तरकारी र सागपातको खेतीमा सो मल प्रयोग गरेपछि उत्पादनमा गुणात्मक रुपमा वृद्धि भएको उहाँले बताउनुभयो ।

 

बाहुनडाँगी गाविस जिल्लाको उचाइमा अवस्थित रहेकाले सिँचाइको समस्या रहेको छ । सिँचाइका कारण किसानलाई निकै कठिनाइ भइरहेको अवस्थामा पूर्वाञ्चल सिँचाइ डिविजन कार्यालयले ती प्रभावित क्षेत्रमा नयाँ प्रविधिमा आधारित सिँचाइ कार्यक्रम लागू गरेर सिँचाइको सुविधा पु¥याएको छ ।

 
तीन किलोमिटर टाढा भएर बग्दै गरेका निन्दाखोलाको पानीलाई सिँचाइ गराउने उद्देश्यले सो प्रविधिका माध्यमबाट ११० एमएमको पाइपबाट पानी तानेर सिञ्चित क्षेत्रमा निर्माण गराइएको सानो पोखरीमा खसाइएको छ र त्यहाँबाट सिँचाइको व्यवस्था मिलाइएको पूर्वाञ्चल सिँचाइ डिविजन कार्यालयका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी गराउनुभयो । रु २६ लाखको लागतमा निर्माण गरिएका ती सिँचाइ प्रविधिबाट बाहुनडाँगी गाविस– ७ का २५ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । आफ्नै घरमा तयार पारिएको मलको साथै तरकारी बालीका लागि आवश्यक सिँचाइ सरकारले व्यवस्था गरिदिएपछि बाहुनडाँगी– ७ का किसान उत्साहका साथ तरकारीबालीको उत्पादन गर्न आकर्षित भएका देखिन्छन् ।