आलु किसानलाई भण्डारको समस्या

यो समाचार 242 पटक पढिएको

 कावासोती,  २१ माघ । झन्डै पाँच वर्षदेखि व्यावसायिक आलुखेती गर्दै आएका किसान हुन् गुरुप्रसाद खनाल । घरमा खान र बिक्री गर्नका लागि सिन्धुरे र कार्डिनर जातका आलु लगाएका खनालले चार वर्षदेखि चिप्स सोना नामको आलु लगाएर उद्योगलाई कच्चा पदार्थका रुपमा बिक्री गर्ने गरेका छन् ।
Potato seedआत्मनिर्भर हुदै व्यावसायिक बन्न उद्योगकै सहयोगमा उनीलगायत यहाँका करिब ६०० किसान आलुखेतीमा लागेका हुन् । तर उनीहरूले उत्पादन गरेको आलु भण्डार गर्न नसक्दा समस्या परेको छ । चौधरी उद्योगग्राम दुम्कौलीले माटो परीक्षण गर्दा गिरुवारीको माटो उत्तम भएपछि यहाँका किसानलाई व्यावसायिक बनाएको खनालले बताउँछन् ।
चौधरी ग्रुपले आलुको बीउ र उत्पादन भएपछि बजारको व्यवस्था गरेकाले यहाँका किसान आलुखेतीमा लागेका हुन् । किसानलाई आत्मनिर्भर गराउँदै स्वदेशी कच्चा पदार्थमै उद्योग चलाउने नीतिअनुसार किसानलाई प्रोत्साहन गरिएको सिजी एग्रो फरेस्टीका प्रमुख शरद घिमिरेले बताउनुभयो । साधारण आलुभन्दा किसानलाई यो धेरै फाइदाजनक छ । धान रोप्दा मुस्किलले एक कट्ठामा रु छ हजार आम्दानी हुने गरेको उहाँले बताउनुभयो । आलुखेती बरदानको स्वरुप आएकाले सरकारले बीउ, प्राविधिक पक्ष र चिस्यान केन्द्र (कोल्ड स्टोर) बनाउनुपर्ने किसान ईश्वरीप्रसाद पाण्डे बताउनु हुन्छ ।
देउरालीको बेलहानी, बेलुवा, झ्यालवास र गिरुवारीमा अहिले आलु पकेट क्षेत्र भएको छ । छ कट्ठाको आलुखेतीले चार जना छोराछोरीलाई उच्च शिक्षा पढाउन पुगेको अन्नपूर्ण कृषक समूहका अध्यक्ष गुरुप्रसाद खनालले बताउनुभयो । साह्रै उद्यमशील किसानले जस्तो साधारण किसानले फाइदा लिन सकेका छैनन् । अगुवा किसानबाहेक अन्य किसानले प्रतिकट्ठा रु आठ हजार कमाएका छन् । नेपालमा सहज नपाइने चिप्स सोना जातको आलुको बीउ नेपालसँग पनि छैन । भारतको अल डण्डिया सिड डेभलपमेन्ट कर्पोरेसनबाट नेपालमा बीउ ल्याइएको हो । पछिल्लो समयमा किसानले बीउ सिधै ल्याउन पाएका छैनन् । उत्पादन ल्याउँदा जति पनि दिने भारतले बीउको बोरा देख्ने बित्तिकै नदिने गरेको गुनासो किसानको छ ।
बीउमा सहजता, कोल्ड स्टोर र बजार भाउको प्रतिस्पर्धा मुख्य चुनौती हो । किसानले कुखुरेज्योति जातका आलु खानका लागि लगाउने गर्छन् । ४० बिघा जमिनमा आलुखेती हुने यो गाउँमा चौधरी ग्रुपले यहाँका किसानसँग रु ३२ लाख बराबरको आलु बर्षेनि किन्ने गरेको छ । यस वर्ष आफ्नै बीउ प्रयोग गरेका किसानको समस्या समाधानमा उद्योग लागेको चौधरी गु्रप समाजसँग सहकार्य परियोजना (सिएसआर) का प्रमुख रामचन्द्र धितालले बताउनुभयो ।
माघमा भारतबाट आलु ल्याउँदा प्रतिकेजी भारु ९ पर्छ । गिरुवारीको आलु ककतयार हुँदा रु १२÷१३ पर्छ । त्यो अवधिमा यहाँका किसानको रु १८ सम्ममा कम्पनीले आलु लिएको छ भन्नुहुन्छ सिजी एग्रो एण्ड फरेस्टी सेक्सनका प्रमुख घिमिरे । गएको वर्ष नारायणघाटको कोल्ड स्टोरमा राखेको आलु उद्योगमा खपत हुन नसक्दा खानका लागि बिक्री गरिएको थियो । ११ देखि १३ सेल्सियस तापक्रममा मिलाउन नसक्दा आलु भण्डारमा समस्या थपिएको हो ।
चौधरी ग्रुप दुम्कौलीका महाप्रबन्धक रामभक्त केसीका अनुसार एक महिनामा खपत हुने भन्दा धेरै आलु गिरुवारीमा उत्पादन हुँदा भण्डारको समस्याले किसान र उद्योग दुवैलाई सताएको छ । नवलपरासीमा ३८ हजार एक सय मेट्रिक टन आलुको माग भए पनि उत्पादन भने दश हजार मेट्रिक टन मात्र रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रवीन्द्रनाथ चौवेले बताउनुभयो । उहाँका अनुसार कोल्ड स्टोर निर्माणका लागि रु दुई करोडसम्म सरकारले अनुदान दिने भए पनि करिब रु आठ करोड लागत लाग्ने हुँदा किसानको उत्पादन भण्डार हुन नसकेको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :