खोरेतको महामारीले झन्डै पाँच प्रतिशतले दूध उत्पादनमा कमी

यो समाचार 249 पटक पढिएको

बनेपा,   माघ २१/ काभ्रेमा खोरेत रोगको महामारी देखिएपछि झन्डै पाँच प्रतिशतले दुग्ध उत्पादनमा कमी आएको छ । कात्तिकको अन्तिम सातादेखि काभ्रेमा देखिएको खोरेत रोगबाट ग्रसित २७३ वटा दुहुना गाईबाट दैनिक करिब १० लिटर र २८६ वटा दुहुना भैँसीबाट आठ लिटर दुग्ध उत्पादनमा कमी आएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

Animal Desease,Newsagro

यी पशु बिरामी भइसकेकाले यसबाट दुग्ध उत्पादन घट्ने निश्चित छ पशु सेवा कार्यालयकी प्रमुख डा सम्झना काफ्लेले भन्नुभयो । उहाँकाअनुसार दूधको उत्पादनमा देखिएको ह्रासले दैनिक रु २४ लाख १२ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडका कोषाध्यक्ष दीपक पौडेलले खोरेतको महामारी देखिएका गाविसमा दुग्ध उत्पादनमा ह्रास आएकोे उल्लेख गर्दै रोग नियन्त्रणका लागि सरकारलाई विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो ।
काभ्रेका जुनजुन गाविसमा खोरेत रोग देखिएको छ, त्यहाँत्यहाँ दुग्ध पदार्थको उत्पादन घट्ने क्रम रहेको छ उहाँले, भन्नुभयो । खोरेत रोगको सङ्क्रमण नियन्त्रणमा नआए दुग्ध सङ्कलनमा वृद्धि हुने सम्भावना न्यून छ निजीस्तरबाट सञ्चालित हिमालय दुग्ध चिस्यान केन्द्र कुशादेवीका सञ्चालक रवीन्द्र हुमागाईंले भन्नुभयो । उहाँका अनुसार दुई लिटर दुग्ध उत्पादन गर्ने कृषकले सो चिस्यान केन्द्रमा दुग्ध सङ्कलन गर्न बन्द गरेका छन् । मैले पहिले करिब २४ लिटर दुग्ध सङ्कलन गर्थें तर अहिले बीस हजार १२ लिटर मात्रै सङ्कलन गर्ने गरेको छु– सञ्चालक हुमागाइँले भन्नुभयो ।
कुशादेवी गाविसलगायत जिल्लाका २० वटा गाविसमा देखिएको खोरेत रोगबाट झन्डै एक हजार ५०० पशु बिरामी भएको देखिएको छ तर पशु कार्यालयले अझै सबै तथ्याङ्क नआएको जनाएको छ । काभ्रेमा भएको पशुपालनबाट दैनिक करिब तीन लाख लिटर दूधको उत्पादन हँुदै आएको छ । सोमध्ये एक लाख लिटर दूध आन्तरिक रूपमा खपत भएको छ भने अन्य काठमाडौँंमा निर्यात हुँदै आएको छ ।
खोरेत रोगबाट काभ्रेमा मरेका झन्डै ६५ वटा पशुबाट करिब रु २२ लाख ७५ हजारको क्षति भएको पशु कार्यालयले प्रारम्भिक अनुमान गरेकोसमेत जनाइएको छ । सो रोगबाट गाईभँैसी, पाडापाडी, बाख्रा र बङ्गुर मरेका थिए । खोरेत रोगको महामारीलाई नियन्त्रणमा ल्याउन पशु सेवा विभाग क्षेत्रीय निर्देशनालय र जिल्ला पशु सेवा कार्यालयले यही माघ १४ गतेदेखि २० गतेसम्म घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :