३ करोड वढीको अल्लोको उत्पादन विदेश निर्यात

This post has already been read 161 times!

संखुवासभा, माघ २१/  स्थानीय स्तरमा उत्पादित अल्लोको बजार मूल्य उच्च भएसँगै अल्लो मुख्य आम्दानीको श्रोत बनेको छ । आन्तरिक र बाह्य बजारमा अल्लोको कपडा प्रयोग गर्नेको सङख्या बढेपछि किसानहरुले राम्रो मूल्य पाउन थालेका छन् । बाहिर निर्यात गर्दा उत्पादन मूल्यसमेत नउठ्ने भएपछि अल्लो धागो उत्पादन गर्ने उद्यमी समस्यामा परेका थिए तर पछिल्लो समयमा स्थानीय बजार र बाह्य बजारमा यसको माग बढ्न थालेको उद्यमीहरुको भनाइ छ । अल्लोको धागो र कपडाबारे उपभोक्तालाई जानकारी गराउन नसक्दा बजारीकरणमा समस्या देखिएको र हाल उत्पादन सँगै बजारमा प्रचारप्रसार बजारीकरण व्यवस्थित गरेपछि बजार फष्टाएको छ ।Allo, Newsagro
अल्लोको माग बजारमा बढी भएको अल्लो उद्यमी डिल्ली कुलुङले बताए । हाल उत्पादित अल्लोले बजारको माग धान्न नसकेको कुलुङको भनाइ छ । बर्षाीक ३ करोडभन्दा वढीको अल्लोको उत्पादन हुने गरेको उद्यमीहरु बताउछन् ।

अघिल्लो वर्षदेखि उत्पादन बढाएको र बजारमा मागसमेत बढी भएकाले उद्यमीहरुले वार्षिक रुपमा राम्रो आम्दानी गर्न थालेका हुन् । सङखुवासभाको उत्तरी बाला, सिसुवा, ताम्कु, माङतेवा लगायतका गाविसका कुलुङ, मेवाहाङ जातिको मुख्य पेशा र आम्दानीको स्रोत नै अल्लो बनेको छ । हाल यहाँका प्रत्येक परिवारले वार्र्षिक २ देखि ३ लाखसम्म आम्दानी गर्छन् । जिल्लामा अल्लो लघु उद्यमी समूहसमेत गठन गरी उद्योगलाई व्यवस्थित गर्न शुरु गरेको छ । ‘उत्पादित वस्तु गुणस्तर र आर्कषक भएकाले स्थानीयले प्रयोग गर्न थालेको र अल्लोको वैज्ञानिक महत्वबारे उपभोक्ताले बुझ्दा बिक्री भएको हो । वैज्ञानिक रुपमा अल्लोको कपडा प्रयोग गर्नु शरीरका लागि उत्तम मानिन्छ ।

बेग्लै रुप, फेसन, आर्कर्षण र पार्टी तथा सेमिनारमा प्रयोग गर्नका लागि कोट, दौरासुरुवालको प्रयोगमा अल्लोको कपडा अत्याधिक उपयोग हुने गरेको पाइन्छ । अल्लोबाट जुत्ता, चप्पल, पर्स, टोपी, कोट, इस्टकोट, सल, ब्यागलगायतका ५० भन्दा बढी वस्तु बन्ने गरेका छन् । खाँदबारीमा अल्लो कोशेली घर समेत स्थापना गरी अल्लोका उत्पादन बिक्री हुन थालेको छ । उत्पादन गरिएको अल्लोधागो सबै बजारमा पठाए पनि अपुग भएकाले थप उद्योग बिस्तारका लागि शुरु गरिएको उद्योगी कुलुङको भनाइ छ । स्थानीय स्तरमा उत्पादित अल्लोको कपडा प्रति मिटर ४ सय देखि माथि पर्न आउँछ । जिल्लामा अल्लो उत्पादन परिमाणबारे यकिन तथ्याङक नभए पनि एक सय बढी उद्यमीले अल्लो उत्पादन गर्दै आएको लघु उद्यमी समूहले जनाएको छ ।

परापूर्व कालदेखि कुलुङ, मेवाहाङ र जिमी जातिले जातीय वस्त्रको रुपमा प्रयोग गर्दै आएका अल्लोका कपडा अहिले बाला, सिसुवा, पावाखोला, ताम्कु, याफु र माङतेवा क्षेत्रमा आफ्नै घरमा तान लगाएर बुनी जीविकोपार्जनको माध्यम बनाएका छन् । अहिले अल्लोको कपडाले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा समेत राम्रो बजार पाउन थालेपछि घरमै बसेर जीवीकोपार्जन स्रोत बनेको जनाइएको छ ।