वामदेवको ९ भोट ! केपीलाई चाहियो थप सभासद

यो समाचार 103 पटक पढिएको

काठमाडौं, माघ २०/ संसदीय दलको नेता छनोटमा सहमति जुटाउन नसकेपछि एमालेका शीर्ष नेताहरु सभासदसँग भोट माग्न थालेका छन् । कुल मतसंख्या १ सय ७३ रहेको एमाले संसदीय संसदीय दलमा जीत हात पार्न ८७ मत ल्याउनुपर्ने हुन्छ ।

CPN, Newsagro

केन्द्रीय कमिटीको बैठकमा सोमबार सहमति नजुटेपछि अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता केपी शर्मा ओलीवीच दलको नेताका लागि निर्वाचनको तयारी सुरु भैसकेको छ ।

 

नेता ओलीलाई उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल र सचिवद्वय शंकर पोखरेल तथा विष्णु पौडेलसमेत सिंगै पदाधिकारी टिमको साथ रहेको छ । अध्यक्ष खनाललाई बरिष्ठ नेता माधवकुमार नेपालको साथ रहेको छ ।

 

संसदीय दलको नेतामा निर्वाचन हुने अवस्था आएमा आफूले जित्ने ओली र खनाल दुबै पक्षले दाबी गरेका छन् । केपी ओली पक्षले आफूसँग ९० भन्दा बढी सभासद रहेको र वामदेवको पक्षमा रहेका ९ जना सभासदको भोट थपिँदा कम्तिमा एक सय मत हात पार्ने दाबी गरेको छ भने खनाल पक्षले गौतम र ओली मिले पनि आरामले जित्ने निश्कर्ष निकालेको छ ।

 

तर, केही मध्यमार्गी नेताहरुले भने चुनाव हुने अवस्थामा खनाल र ओली दुबैको तीव्र प्रतिस्पर्धा हुने र मतान्तर खासै बढी नहुने हिसाब निकालेका छन् । अहिलेसम्म दुबै पक्ष तीव्र प्रतिस्पर्धामा देखिएकाले रातभरिमा सभासदहरुलाई यताबाट उता तानातान गर्ने खेलले हारजित निक्र्यौल गर्ने एमाले नेताहरुको विश्लेषण छ ।

 

एमालेका केही नेताहरुले तयार पारेको सूचीअनुसार झलनाथ खनाल र माधव नेपालले नेतृत्व गरेको संस्थापन पक्षमा हालसम्म ९३ सभासद देखिएका छन् । ओलीसँग ७१ र वामदेवसँग ९ सभासद रहेका छन् । तर, ओली पक्षको दाबी आफ्नो पक्षमा ९० भन्दा बढी सभासद रहेको भन्ने छ । ओली र वामदेवले सोमबार साँझदेखि खनाल पक्षमा रहेका सभासदलाई आफूतिर तान्ने अभियान सुरु गरेका छन् ।

 

एमाले नेताहरुले कित्ताकाट गरेको सभासदको सूची अनलाइनखबरले प्राप्त गरेको छ । यो सूचीमा संस्थापन पक्षमा ९३, ओली पक्षमा ७१ र वामदेवको पक्षमा ९ सभासद देखाइएको छ । यो सूचीमा खनालतिर रहेका सभासदमध्ये जुनैद अन्सारी, सञ्जुकुमारी झा, मीनादेवी यादव, छेवाङ तेन्जेन तामाङ, रत्नदेवी गुरुङ, नरदेवी पुन मगर, भीष्मनाथ अधिकारी, केदारप्रसाद सञ्जेल डम्बर तुम्बाहाम्फे, पार्वत गुरुङ, शत्रुघन महतो, धनबहादुर घले र राजाराम स्याङतान आफूतिर रहेको ओली पक्षको दाबी छ ।

 

सुनसरी १ का सभासद एवं राप्रपाका पूर्वनेता कृष्णकुमार राई सोमबार बिहानसम्म संस्थापन पक्षमै रहे पनि वामदेवले फकाएको दाबी ओली पक्षले गरेको छ । ओली पक्षको यो दाबी सही ठहरिए संसदीय दलमा झलनाथ अल्पमतमा पर्ने अवस्था आउनेछ ।

 

तर, रातारात आश्वासन र गुटगत फेरबदल नभए अहिलेको सामान्य अवस्थामा ओली र वामदेव आपसमा मिल्दा पनि खनालसँगै बढी मत देखिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :