काम गर्न नसके सात दिनमै फर्कन्छु : एसएसपी खरेल

यो समाचार 185 पटक पढिएको

काठमाडौं, माघ २०/ एसएसपी रमेश खरेलले काठमाडौं प्रहरी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेकै दिन ‘काम गर्न नसके सात दिनमा जाने’ बताएका छन्।Ramesh_Pd._Kharel,Newsagro

‘कुनै पनि आवरणमा गुण्डागर्दी गर्न पाइदैन र गुण्डागर्दी गर्नेलाई कुनै पनि बहानामा छोडिनेछैन,’ सोमबार महानगरीय प्रहरी परिसर हनुमानढोकामा हाजिर गरेर प्रभाग र वृतहरुका प्रमुखहरुलाई निर्देशन दिएपछि अन्नपूर्ण पोस्ट्लाई प्रतिक्रिया दिदै खरेलले भने।

‘काठमाडौंमा काम गरेर देखाउन नसक्नेहरु छोडेर जानुपर्छ र मैले पनि सकिन भने म पनि सात दिनमा जान्छु’ खरेलले भने।

दोस्रो पटक काठमाडौंको प्रहरी प्रमुख भएर आएका खरेललाई गुन्डागर्दी नियन्त्रण एवं प्रहरीको आचरण र व्यवहारमा सुधार गर्ने प्रमुख चुनौती रहेको छ। दिनेश अधिकारी ‘चरी’ र रमेश बाहुन जस्ता गुण्डाहरु सबै कानुनी दायरामा आउने खरेलले दाबी गरे ।

‘गैरकानुनी कार्यमा संलग्न सबै कानुनी दायरामा आउँछन् र म कसैसँग पनि सम्झौता गर्दिन र पक्रेर देखाउँछु’ खरेलले भने। प्रहरीको आचरण र छवि राम्रो नभएको सम्बन्धमा एसएसपी खरेलले ‘कोही पनि ३२ लक्षणले युक्त नहुने र आम नागरिकले सहभागी भएर प्रहरीलाई राम्रो काम गर्न र सुध्रन सहयोग गर्नुपर्ने’ बताए।

‘गुण्डागर्दी र अपराधीहरु बारे नागरिकले प्रहरीलाई खबर गर्नुपर्छ,’ खरेलले भने। अञ्चल प्रहरी कार्यालय बागमतीका प्रमुख रहेका खरेललाई माघ १४ गते पुनः काठमाडौँ प्रहरी प्रमुख बनाइएको थियो।

यसअघि २०६७ बैशाखमा उनी महानगरीय प्रहरी परिसर काठमाडौंको पहिलो पटक प्रमुख बनेर आएका थिए। त्यतिबेला उनले रात्रिकालीन व्यवसायको आवरणमा खुल्ला रुपमा चलेका नग्न बारमा छापा मारेर कामदारको साटो सञ्चालकविरुद्ध कारवाही, चिनियाँ नागरिकको २५ लाख र यार्चागुम्बा लुटपाटमा जोडिएमा माओवादी कार्यकर्ता पक्राउ गरेका थिए। एमाले नेता प्रचन्ड थैबको हत्यामा संलग्न माओवादी वाइसिएल इन्चार्ज सुजित विकलाई समेत उनले पक्राउ गरेका थिए।

अन्नपूर्णबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :