खोरेत रोग नियन्त्रणमा यसकारण कठिनाई : डा झा

यो समाचार 257 पटक पढिएको

खोरेत गाई, भैंसी, भेडाबाख्रा वा बंगुर लगायतका जनावरमा देखिने सरुवा रोग हो । यो सरुवा रोग भएका कारण जनावर आवतजावत गर्दा वा हावापानीले एकबाट अर्को जनावरमा छिट्टै सर्ने सम्भावना हुन्छ । एक महिनादेखि सुरु भएको खोरेतले नेपालका ३० जिल्लालाई बढी प्रभाव पारेको छ । प्रस्तुत छ यसै बिषयमा पशु स्वास्थ्य निर्देशनालयका प्रमुख डा विजयकान्त झासित गरिएको कुराकानीको अंश :

 

खोरेत कस्तो रोग हो   ?

खोरेत वास्तबमा एक प्रकारको भाईरसबाट लाग्ने रोग हो । यो खास गरेर खुर भएको जनावर, मुखमा पनि यसको लक्षण हुन्छ खुट्टामा पनि यसको लक्षण हुन्छ ।

यो रोग लागेपछि पशुहरुमा कस्तो खालको लक्षण देखापर्छ ?

एउटा त खुट्टामा दुईवटा खुरको बिचको छालाहरु कुहिएर जान्छ । कतिपयमा त खुरनैं कुहिएर जान्छ । सुरुको अवस्थामा मुखबाट र्‍याल आउनु र मुख भित्र जिब्रोमा घाउ हुन्छ जसबाट जनावरहरु राम्रोसँग खाना खान सक्दैन । खाना नखाने लक्षण त अरु रोगमा पनि हुन्छ । तर खास यसमा के हो भने जिब्रोमा घाउ आएपछि र खुट्टामा पनि घाउ देखिएपछि किसानहरुले सहजै अनुमान लगाउन सक्नुहुन्छ खोरेत हो भनेर ।

रोग देखापरेमा किसानहरुले के गर्ने ?

सबभन्दा पहिला त किसानसँग मेरो विनम्र निवेदन के छ भने आफ्नो जनावरलाई आफ्नो गोठभन्दा बाहिर लानुभएन । किनभने यो सरुवा रोग हो अरु जनावरलाई पनि सर्नसक्छ । मुख र खुट्टामा घाउ देखिईसकेपछि फिट्किरि पानीले मुख र खुट्टालाई सफा गर्ने । सम्भव भएसम्म ओभानो राख्ने । अर्को भनेको खानेकुरा पनि सहजै पच्ने खालका दिनुपर्‍यो ।

जस्तै जाउलो, दालको पानी आदी । र, अरु मान्छेलाई पनि आफ्नो गोठभित्र आउन नदिने । यो भनेको जैविक सुरक्षाका उपायहरु अपनाउनुपर्‍यो । एकठाउँबाट अर्को ठाउँमा रोग नरोस भनेर किसानले उपाय अपनाउनुपर्छ । यस्तै एन्टिसेफ्टिका मलमहरु बजारमा उपलब्ध छ । ति मलमहरु प्रयाग गर्नुप¥यो जसले गर्दा घाउमा किरा पर्न नसकोस् ।

खोरेत नियन्त्रण गर्न किन कठिन मानिन्छ ?

निश्चित रुपमा, खोरेत नियन्त्रणका लागि एउटा गोठबाट अर्को गोठमा जान नदिनुनैं सबभन्दा ठुलो चुनौती हो । जैविक सुरक्षाका उपायहरु र फिट्किरि पानीले सफा गरियो भने रोग नियन्त्रण गर्न सजिलो हुन्छ । यसको खोप पनि हुन्छ, त्यो खोप बर्षमा दुईपटक लगाउनुपर्ने हुन्छ । हाम्रो देशमा खोप बन्दैन त्यसैले सहजै रुपमा किसानलाई खोप उपलब्ध छैन । जसले गर्दा यो रोग नियन्त्रण गर्न कठिनाई भैराखेको छ ।

अहिले अब खोरेतको प्रकोप पनि बढ्यो, सँगै खोपको पनि अभाव छ । किसान त यसको मारमा परे । व्यवस्थापनका लागि तपाईंहरु के गर्दैहुनुहुन्छ ?

हामीले गएको वर्षदेखि कोशीपारिका १० जिल्लामा र सुदुर पश्चिमका ९ जिल्लामा गरेर १९ जिल्लामा राष्ट्रिय खोरेत नियन्त्रण कार्यक्रमनै सञ्चालन गरेका छौं । २०२० सम्ममा सार्क देशहरुले खोरेत उन्मुलन गर्ने भन्ने प्रतिबद्धता जनाएका छन् । र, २०२० सम्ममा खोरेत रोग नियन्त्रणका लागि हामीले क्रमिक रुपमा कार्यक्रम सुरु गरेका छौं । यस्ता जिल्ला जुन जिल्लाबाट अर्को जिल्लामा पशुको आवागमन बढी छ र हाम्रा डेरी पकेटहरुमा हामीले खोपको कार्यक्रमहरु सञ्चालन गरेका छौं ।

यसवर्ष हामी १९ जिल्लामा पाँच लाख खोप प्रयोग गर्दैछौं । गत बर्ष कोशीपारीका ९ जिल्लामा मात्र यो कार्यक्रम थियो । अब रह्यो कुरा बजारमा खोप अभावको । हामी खोप मगाउँदैनौं, खोप ल्याउन आयातकर्ताहरु छन् । हामीले सिफारिस मात्र दिने हो । अर्को भनेको किसानको बानी पनि हो के–बढी दुध उत्पादन दिने गाईभैंसीलाई खोरेत विरुद्धको खोप लगाउनैपर्छ ।

साभार : उज्यालो नेटवर्क

रचनात्मक प्रतिक्रिया दिनुहोस् :