केही समयलाई नबढ्ने भयो दुधको मूल्य

यो समाचार 248 पटक पढिएको

काठमाडौं , १९ माघ / सरकारले दुधको मूल्य तत्काल नबढाउने भएको छ। नयाँ सरकार गठन प्रक्रिया सुरु भएकाले वर्तमान सरकार मूल्य बढाउन पछि हटेको हो। सरकारले प्रतिलिटर दुधमा चार रुपैयाँसम्म बढाउने तयारी गरेको थियो। निजी क्षेत्रले सात रुपैयाँसम्म वृद्धि गर्नुपर्ने र किसानले थप पाँच रुपैयाँ आफूहरूले पाउनुपर्ने माग अघि सारेका छन्।

Milk suकृषि विकास मन्त्रालय स्रोतका अनुसार सरकारले बाहिरिने बेलामा दुधको मूल्य बढाएर अपजस लिन नखोजेकाले तत्कालका लागि मूल्य वृद्धि रोकिएको हो। ‘जाने बेलामा अपजस लिन नपरोस् भनेर प्रधानमन्त्रीको कार्यालयबाट जानकारी आएपछि मूल्य बढाउने काम स्थगित गरेका हौं’, मन्त्रालय स्रोतले भन्यो, ‘हामीले गरेको अध्ययनको आधारमा अब आउने नयाँ सरकारले मूल्य वृद्धि गर्नेछ।’

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले मूल्य वृद्धि गर्ने तयारी भए पनि बजार अध्ययन गर्ने काम सम्पन्न नभएकाले तत्काल बढाउन नसकिने जानकारी दिए। मूल्य बढाउनुअघि बोर्डले बजारको अवस्था के छ, बजारमा दुधको आपूर्ति कस्तो छलगायतका विषयमा अध्ययन गर्छ।

अध्ययनको आधारमा मूल्यसम्बन्धी निर्णय हुन्छ। कार्यकारी निर्देशक पन्तले भने, ‘मूल्य निर्धारण गर्नुअघि स्थलगत अध्ययनका लागि पूर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा खटिएका टोलीले प्रतिवेदन बुझाइसकेका छन्।’

मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले प्रतिवेदन प्राप्त भए पनि मूल्य बढाउने विषयमा प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए। ‘मन्त्रालयले निर्णय गरेपछि मूल्य बढाइनेछ’, उनले भने।

बजार भाउसँगै पेट्रोल र डिजेलमा भएको मूल्य वृद्धि तथा लोडसेडिङका कारण जेनेरेटर खर्चमा भएको वृद्धिका कारण दुधको मूल्य बढाउने तयारी गरिएको दुग्ध विकास संस्थान (डीडीसी) का निमित्त महाप्रबन्धक तपेश्वर चौधरीले जानकारी दिए। उनका अनुसार ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगीले पाउने गरी दुधको मूल्य वृद्धि गर्न लागिएको थियो।

पछिल्लो समयमा गत फागुनमा संस्थानले दुधको मूल्य वृद्धि गरेको थियो। बजारमा दुध आपूर्तिमा संस्थानको हिस्सा ४० प्रतिशत छ। नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले सरकारले मूल्य वृद्धिको तयारी एकलौटी रूपमा गरेको बताए।

‘मूल्य वद्धिका सम्बन्धमा हामीसँग सुझाउ मागिएको छैन’, उनले भने, ‘बजारको ६० प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रसँग सल्लाह नै नगरी सरकारले एकलौटी रूपमा मूल्य वृद्धिको प्रक्रिया अघि बढाएको छ।’

काठमाडौंमा दैनिक पाँच लाख लिटर दुधको माग भए पनि चारलाख लिटरमात्रै आपूर्ति हुँदै आएको छ। यसमध्ये संस्थानले डेढ लाख र बाँकी निजी क्षेत्रले आपूर्ति गर्छन्।

बढी उत्पादन हुने मौसममै अभाव
बढी दुध उत्पादन हुने मौसममै नेपालमा दुधको अभाव देखिएको छ। असोजदेखि माघसम्म दुध बढी उत्पादन हुन्छ। दुध आपूर्ति कम भएकाले दैनिक भारतको पटनाबाट संस्थानले २० हजार र निजी क्षेत्रले ६० हजार लिटर दुध आयात गर्दै आएका छन्।

संस्थानले गत पुसमा मात्रै नौ लाख २० हजार रुपैयाँको दुध आयात गरेको थियो। भारतबाट प्रतिलिटर ४६ रुपैयाँमा दुध ल्याएर संस्थानले ५० रुपैयाँमा बेच्ने गरेको छ।

केन्द्रीय दुग्ध उत्पादक संघका उपाध्यक्ष बाबुराम अधिकारीका अनुसार लागतअनुसार किसानले मूल्य नपाएर पशुपालन व्यवसायबाट विस्थापित भएकाले दुध उत्पादनमा कमी आएको हो। उपभोक्ता बढेका कारण पनि आपूर्ति कम देखिएको उनले बताए।

डलरको मूल्य बढेका कारण धुलो दुधको मूल्य बढ्दा उपभोक्ता तरल दुध खरिदतर्फ आकर्षित भएकाले पनि अभाव भएको विज्ञले औंल्याएका छन्।

अन्नपूर्ण पोष्टबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :