बिकेन बेसार, २० टन बारीमै

यो समाचार 153 पटक पढिएको

इलाम, १९ माघ / नगरपालिका-८ का नन्दलाल लुइँटेलले यो वर्ष बेसार बिक्री गर्न सकेनन् । उनको बारीमा करिब ५ सय मन (२० हजार किलो) बेसार छ । प्रतिकिलो २५ रुपैयाँले मात्रै बिक्री हुने हो भने पनि अहिले उनको बारीमा ५ लाखबराबरको बेसार थन्किएको छ ।

Besar, Newsagro Turmerik
बहुपयोगी बालीका रूपमा प्रयोग हुने बेसारले इलाममा व्यावसायिक रूप पाएको ५ वर्षमात्रै भएको छ । तर, बजारमा कृषकको पहुँच नपुग्दा करिब २० टन बेसार बारीमै थन्किएको छ । प्रशोधन गरेर धूलो बनाउने प्रविधि नहुँदा कृषक मर्कामा परेको कन्याम–२ का बेसार उत्पादक कृषक पदम गिरी बताउँछन् ।
मुख्यतः मसला बालीका रूपमा प्रयोग हुने बेसार खाद्यरंगका रूपमा पनि उपयोग गरिन्छ । विभिन्न सौन्दर्य सामग्री तथा औषधि बनाउन पनि यसको प्रयोग उच्च छ । तर, बहुपयोगी भएर पनि बजार व्यवस्थित नहुँदा खेतीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको कृषक गिरी दुखेसो गर्छन् ।
बेसारमा पाइने कुर्कुमिन भन्ने फायटोकेमिकल क्यान्सर, मधुमेह, आथ्रिटिस तथा युरिक एसिडजस्ता रोगबाट बचाउन उपयोगी हुने विज्ञहरू बताउँछन् । बेसारको गानोमा ५ प्रतिशतसम्म कुर्कुमिन हुन्छ र ७ प्रतिशतसम्म बास्नादार तेल पाइन्छ ।
इलामको १ सय ९ हेक्टरमा वार्षिक १ हजार ९ सय ८० टन बेसार उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक शत्रुघ्न यादवले बताए । नेपालका केही उच्च हिमालीबाहेक प्रायः जिल्लामा धेरै–थोरै बेसारखेती गरिएको सरकारी तथ्यांक छ । तरकारी विकास निर्देशनालयको तथ्यांकअनुसार आव ०६/६९ मा देशभर ४ हजार ३ सय २५ हेक्टरमा ३५ हजार ३ सय ५१ टन बेसार उत्पादन भएको थियो ।
इलामसहित सप्तरी, मोरङ, सुनसरी, बारा, रौतहट, महोत्तरी, धनुषा, सिन्धुपाल्चोक, कास्की, तनहुँ, अर्घाखाँची, सल्यान र अछाममा बेसारको व्यावसायिक खेती सुरु भएको छ । तर, केही वर्षयता क्षेत्रफल र उत्पादन घट्दो क्रममा देखिएको छ । यसले आयात बढाएको छ भने निर्यात घटाएको छ ।

बढ्दो आयात
आफ्नै उत्पादनको प्रवद्र्धन र व्यवस्थापन गर्न नसक्दा नेपाल बेसारका लागि पनि विदेशीकै भर पर्नुपर्ने अवस्थामा पुगेको छ । नेपालमा भारत, चीन र मलेसियाबाट पनि बेसार आयात हुने गरेको छ । नेपालबाट भारत, जर्मनी, अमेरिका, जापान र चीनमा बेसार निर्यात हुँदै आए पनि त्यो घट्दो दरमा छ । आव ०६८÷६९ मा १ करोड २० लाख रुपैयाँको ७७ टन बेसार निर्यात र ३ करोड २७ लाखबराबरको ४ सय ७४ टन आयात भएको तथ्यांक छ ।

उच्च उत्पादकत्व
अरू बालीको तुलनामा प्रतिहेक्टर बेसारको उत्पादकत्व पनि उच्च छ । बिक्रीमूल्य पनि घूलोमा प्रतिकिलो ४ सयसम्म र अप्रशोधित प्रतिकिलो ३० रुपैयाँभन्दा माथि रहेको कृषक बताउँछन् । कृषि विकास कार्यालयका अनुसार देशभर बेसारको उत्पादकत्व ८.१७ टन प्रतिहेक्टर छ भने इलाममा १६.६४ टन प्रतिहेक्टर छ । विश्वमा भारत, चीन, म्यानमार, नाइजेरिया र बंगलादेशमा पनि बेसार उत्पादन हुन्छ । ८० प्रतिशत भारतमा मात्रै उत्पादन हुने विभिन्न अध्यानले देखाएका छन् ।

– तोयानाथ भट्टराई

रचनात्मक प्रतिक्रिया दिनुहोस् :