व्यावसायिक कृषिबाट वर्षमा १० लाख आम्दानी

This post has already been read 157 times!

पोखरा,  १९ माघ / कृषिप्रधान भनेर चिनिए पनि मुलुकमा व्यावसायिक रूपमा कृषि पेसा अंगाल्ने जनताको संख्या उल्लेख्य छैन । कास्की माझठानाका एक कृषक भने कृषि क्षेत्रबाट व्यावसायीक बन्दै समाजकै अगुवा भएका छन् ।Newsagro, Tomato
माझठाना-६ भुर्तेल गाउँका ४५ वर्षीय भोजराज भुर्तेलले परम्परागत रूपमा गर्दै आएको कृषि पेसालाई आधुनिकीकरण गरेका छन् । २५ वर्षअघि अम्रिसोखेतीमा लागेका भुर्तेल अहिले कफीखेती, भुइँकटहर, केराखेती, माछापालन आदिमा विस्तारित भएका छन् ।
उनी अहिले वर्षमा २ लाख रुपैयाँभन्दा बढी अम्रिसोखेतीबाट आम्दानी गर्छन् । कफीखेती तथा माछापालनको समेत जोड्दा उनको वार्षिक आम्दानी १० लाख रुपैयाँभन्दा बढी हुन्छ ।
भुर्तेलका अनुसार अम्रिसोको लागत र मेहनत कम छ, तर आम्दानी बढी छ । एकपल्ट लगाएपछि हरेक वर्ष फूल फुल्छ । फूल पाकेपछि कुचोको रूपमा प्रयोग हुन्छ र बाँकी गाईभैंसीका लागि घाँस तथा सिठा आगो बाल्न प्रयोग हुन्छ ।
५ जनाको परिवार पाल्न व्यवसायले कुनै समस्या नभएको बताउँदै भुर्तेलले परम्परागत खेती ६ महिना पनि खान नपुग्ने अनुभव सुनाए । उनले करिब ५० रोपनी क्षेत्रफलमा अम्रिसो लगाएका छन् । त्यस्तै ८ सयभन्दा बढी केराका बोट छन् । करिब १५ सय कफीका बिरुवा छन् । अढाइ दशकअघि परम्परागत खेतीको विरोध गर्दै अम्रिसो लगाएका भुर्तेल अहिले गाउँका मात्र नभई माझठानाकै अगुवा कृषक भएका छन् । भुर्तेलबाट प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा करिब १ सय ५० घरधुरी प्रभावित भएको स्थानीय चक्रपाणि भुर्तेलले दाबी गरे ।
स्थानीय कृष्णप्रसाद बाँस्तोलाले उनको सिको गर्दै धेरै कृषक व्यावसायिक खेतीतर्फ आकर्षित भएको बताए । ५४ वर्षीय बाँस्तोलाले ११ वर्ष भारतमा पसिना बगाए पनि अहिले स्वदेशमै खेती गर्न पाउँदा खुसी लागेको बताए । “छोराछोरीलाई डिग्रीसम्मको अध्ययनका कृषिबाटै पुगेको छ,” उनले भने । विदेश जानु अपराध गर्नुजस्तै हुने उनको तर्क छ । युवालाई स्वदेशमै रमाउने वातावरण सिर्जना गर्न उन्नत जातका कृषिजन्य वस्तु वितरण गरी उनीहरूलाई व्यावसायिक बनाउनुपर्ने उनको जोड छ ।

– दीननाथ बराल