बेमौसमी तरकारी उत्पादनमा धनकुटा अगाडि

यो समाचार 250 पटक पढिएको

धनकुटा,  १९ माघ / बेमौसमी तरकारी उत्पादनका लागि धनकुटा पूर्वी पहाडी जिल्लाहरूमा अग्रस्थानमा रहेको छ।

धनकुटाको भीरगाउँ गाविस गुराँसेका किसानको घरमा तरकारी संकलन केन्द्रमा लैजान राखिएको बन्दाकोभी।

जिल्लाका करिब सात हजार पाँच सय हेक्टर क्षेत्रमा बेमौसमी तरकारी खेती हुने गरेको कृषि विकास कार्यालय धनकुटाले जनाएको छ। जिल्लाबाट हिउँद याममा वार्षिक एक लाख १७ हजार मेट्रिक टनभन्दा बढी बेमौसमी तरकारी बाहिर निर्यात हुने गरेको छ।

 

तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा बेमौसमी तरकारी खेती हुने गरेको छ। तर, ती जिल्लामा भन्दा बढी तरकारी धनकुटामा उत्पादन हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत होमनाथ लम्सालले बताए।

 

जिल्लाका धनकुटा नगरपालिका, परेवादिन, भीरगाउँ, मारेकटहरे, हात्तीखर्क, पाख्रिबास, भेडेटार, राजारानी, छ नम्बर बुधबारेलगायतका २२ गाविसमा व्यावसायिक तरकारी खेती हुने गरेको छ। जिल्लामा बेमौसमी तरकारीको रूपमा सबैभन्दा बढी बन्दागोपी उत्पादन हुने गरेको छ। धनकुटाबाट बाहिरी जिल्ला र विदेशी बजारसम्म पुग्ने बन्दागोभी पाँच सय १८ हेक्टर क्षेत्रफलबाट वार्षिक २९ हजार तीन सय मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको छ।

 

हिउँद वर्षा दुवै समयमा खेती हुने आलु बेमौसमीका रूपमा २० हजार नौ सय मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको छ। गोलभेडाको उत्पादन परिमाण वार्षिक ३९ हजार ६ सय मेट्रिक टन रहेकोमा यसमध्ये ५० प्रतिशत बेमौसमीको भएको कृषि विकास कार्यालयले जनाएको छ। गोलभेडा खेतीको पनि उत्पादन दर राम्रो रहेको प्राविधिकको भनाइ छ।

 

जिल्लामा बेमौसमी तरकारीका रूपमा उत्पादन हुने मुला, रायोसाग, फूलगोभी, तुनेबोडी, तरुल, गाजर, इस्कुस, करेला, भन्टा, ब्रोकाउली, घिउसिमीको उत्पादन हुने गरेको छ। यी तरकारी १४ सय हेक्टरमा लगाइने गरेको कृषि विकास कार्यालयको तथ्यांक छ।

 

जिल्लाबाट गत वर्ष ६० हजार ४५ मेट्रिक टनभन्दा बढी तरकारी निर्यात भएको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जिल्लामा उत्पादित तरकारीको मुख्य बजार तराईका सुनसरी, मोरङ, झापाका साथै छिमेकी मुलुक भारत र बंगलादेश हुन्।

 

स्थानीय उत्पादनमा आधारित कृषक समूह र कृषि सहकारी निर्माण भएका कारण कृषिउपज बिक्रीका लागि बजार सहज भएको किसानले बताएका छन्। जिल्लामा किसान समूह पाँच सयभन्दा बढी छन्। जिल्लामा निर्माण गरिएका समूहमा महिलाको पूर्ण स्वामित्वमा ४० समूह छन्।

 

विभिन्न गाविसमा किसानको सक्रियतामा २३ कृषिउपज संकलन केन्द्र सञ्चालनमा रहेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :