उन्नत नश्लको चिया र अलैचीको नेपालमै पहिलो पटक अनुसन्धान सुरु

यो समाचार 193 पटक पढिएको

इटहरी, १८ माघ  / पहाडी तथा उच्च क्षेत्रको चिसो हावापानीमा राम्रो उत्पादन दिने उन्नत नश्लको चिया र अलैँचीको व्यावसायिक खेती गर्न धनकुटाको पाख्रिवासमा नेपालमै पहिलो पटक अनुसन्धान सुरु गरिएको छ । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रले पहिलो पटक चिया र अलैचीको उन्नत नश्लको प्रजातीका खेतीको अनुसन्धान सुरु गरेको हो ।alaichhi, Newsagro

पूर्वका विभिन्न जिल्लाका कृषकको मुख्य आम्दानीका रूपमा रहेको चिया र अलैचीको व्यावसायिक खेती हुँदै आएको छ । पछिल्लो समय कृषक चिया र अलैची खेतीप्रति बढी आकर्षित देखिएपछि पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रले पहिलो पटक यसको वैज्ञानिक अनुसन्धान थालेको हो ।

विदेशी मुद्रा आर्जनमा प्रमुख भूमिका खेल्दै आएको चिया र अलैचीको उत्पादन नेपालमा लामो समयदेखि हुँदै आए पनि यसको वैज्ञानिक अनुसन्धान अहिलेसम्म भएको थिएन ।

पूर्वी नेपालको झापा र इलाम जिल्लालाई चिया उत्पादनका लागि पकेट क्षेत्र मानिदै आएको छ । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रले पहिलो पटक अलैची र चियाको अनुसन्धान सुरु गरी पूर्वी पहाडी जिल्लामासमेत चिया उत्पादनको सम्भावना बढाउने योजना अघि सारेको छ ।

अनुसन्धान केन्द्रमा तीन वर्ष अघिदेखि पूर्वी पहाडी जिल्लाको हावापानी सुहाउँदो चियाको विकास र उत्पादनको विषयमा अनुसन्धान गर्दै आएको यस केन्द्रले पहाडी जिल्लामासमेत गुणस्तरीय चिया उत्पादन गर्न सकिने केन्द्रका प्रमुख रामनारायण चौधरीले जानकारी दिनुभयो ।

केन्द्रले २२ प्रजातिका चियाको विषयमा अनुसन्धान गरिरहेको र विशेषगरी प्राङ्गारिक रूपमा अर्थोडक्स चियाको उत्पादन बढाउनका लागि अनुसन्धान गरिरहेको बताइएको छ ।

केन्द्रले पहिलो चरणमा ह्यापी भ्याली, तक्दा, घुम्रीलगायत प्रजातिका चियाको बीउको अनुसन्धान भई रहेको पनि प्रमुख रामनारायण चौधरीले जानकारी दिनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :