तरकारीमा विषादी हाल्दै हुनुहुन्छ ? प्रतिबन्ध लाग्ला !

यो समाचार 241 पटक पढिएको

काठमाडौं,  १९ माघ  / तरकारी धेरै फलाउने र छिट्टै मुनाफा कमाउने उद्देश्यले मात्रा भन्दा धेरै रासायनिक विषादी हाल्दै हुनुहुन्छ ? हुनुहुन्छ भने सर्तक हुनुहोस, बिक्रि गर्नकै लागि विषादी हालर फलाईएका तरकारीमा सरकारले प्रतिबन्ध लगाउँदै छ ।
Vegetable test Machine, Newsagro
सरकारले सार्वजनिक सूचना जारी गरी विभन्न सञ्चारमाध्यम मार्फत मानव स्वास्थ्यमा असर पुर्‍याउने खालका रासायनिक विषादी प्रयोग नगर्न पटक पटक आग्रह गर्दै आएपनि विषादीको व्यापक प्रयोग भैरहेपछि त्यस्ता तरकारीमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
परीक्षण पछि विषादी हालिएका तरकारीमा प्रतिबन्ध लाग्ने छ । अधिकाँश ठाउँबाट काठमाडौंमा धेरै तरकारीको खपत हुने भएकाले काठमाडौंबाटै तरकारीको परीक्षण गर्ने तयारी भएको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

 

‘तरकारीको परीक्षणमा मानव स्वास्थ्यमा असर पुर्‍याउने खालका विषादीको प्रयोग भएको भेटिए विषादी मिसिएका तरकारी जसले उत्पादन गरेको हो उसैलाई फिर्ता पठाईने छ । तरकारीमा विषादी हाले÷नहालेको जाँच गर्न ताईवानबाट मेसिन ल्याउने तयारी भैरहेको छ । मेसिन ल्याउन ४ जना अधिकारी हामी ताईवान पठाउँदै छौ’ निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्मा भन्नुहुन्छ, ‘अबको एक महिना भित्र मेसिन आइपुग्छ ।’

 

परीक्षणका क्रममा विषादी धेरै मिसावट भएका तरकारी सम्बन्धित किसानलाई फिर्ता पठाउने र पछि तरकारीमा विषादी नहालेको प्रमाणित गर्न सके मात्र उनीहरुबाट तरकारी खरिद गर्ने सरकारले बताएको छ । तरकारी बालीमा हालिने सामान्य प्रकारका विषादीले स्वास्थ्यमा खासै असर नगरेपनि कडा खालका विषादीले बढी असर गर्ने कृषि विज्ञ बताउँछन् ।

 

विषादी हाले पछि त्यसको अवधि सम्म रहिरहन नदिई छिट्टै बजारमा पुर्‍याइने गरेकाले पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पर्दै गएको उनीहरुको तर्क छ ।कडा खालका विषादी प्रयोग भएका तरकारीले मन्द विषका रुपमा असर गर्ने र कालान्तरमा क्यान्सर जस्ता खतरनाक रोग पनि लाग्न सक्ने भएकाले विषादी हालेका तरकारीमा प्रतिबन्ध लगाउन सरकार कडा रुपमा प्रस्तुत हुन लागेको हो ।
सरकारी तथ्याङ्क अनुसार नेपालमा वार्षिक आयात हुने ३ सय ४५ मेट्रिक टन विषादीमध्ये ८५ प्रतिशत भन्दा धेरै तरकारी बालिमा प्रयोग भइरहेको छ ।
विषादीको अव्यवस्थित प्रयोग रोक्न स्थानीय स्तरमा जनचेतना जगाई विषादीको साटो जैविक विषादीको प्रयोग गर्नगराउन बाली उपचार शिविर पनि सञ्चालन भइरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :