अवैध रूपमा भक्तपुर ल्याइएका चल्ला नष्ट

यो समाचार 248 पटक पढिएको

भक्तपुर,  बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा भएको भक्तपुरमा अवैध रूपमा ल्याइएका लेयर्स कुखुराका पाँच हजार चल्ला बुधबार नष्ट गरिएको छ। महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको तीन दिनपछि जिल्ला पशु सेवा कार्यालय भक्तपुर र प्रहरीको रोहबरमा प्रहरी वृत्त परिसरमै खाल्डोमा गाडेर चल्ला नष्ट गरिएको हो। ती चल्ला काभ्रे जिल्लाको बनेपास्थित हिमालय भेटेरिनरीले मंसिर ९ गते चितवनस्थित हाइले ब्रिडर नेपाली प्रालिबाट मगाएको थियो।

नष्ट गरिएको चल्लाको मूल्य पाँच लाख ६७ हजार नौ सय ७० रुपैयाँ रहेको भेटेरिनरीका प्रमुख हरिकृष्ण थापाले जानकारी दिए। Birdfluथापाले बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएको चार महिना बित्दा पनि उक्त घोषणा फिर्ता नहुँदा लाखौं रुपैयाँ खेर गएको गुनासो गरे। सरकारले गत साउन ३० गते भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। संकटग्रस्त क्षेत्र घोषणापछि भक्तपुरमा कुखुरा तथा कुखुराजन्य पदार्थ ओसारपसार तथा बिक्रीवितरण गर्न पाइँदैन। संकटगस्त क्षेत्र घोषणाको अवधिमा भक्तपुर भित्रिने कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने प्रावधानअनुसार बुधबार चल्ला नष्ट गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले यसअघि पनि ल्याइएको कुखुरा तथा अन्डा नष्ट गरिएको जानकारी दिए। चल्ला ल्याउने भेटेरिनरीका सञ्चालक थापाले भने गाडीका चालक गणेश स्याङताङले झुक्किएर भक्तपुरको बाटो गरी चल्ला ल्याएकाले त्यसलाई फिर्ता गर्नुपर्नेमा नगरिएको गुनासो गरे। ‘चितवनबाट चल्ला लिएर आएका चालकलाई भक्तपुर बर्डफ्लु संकटग्रस्त क्षेत्र भन्ने थाहा थिएन’, उनले भने, ‘त्यसैले त्यसलाई फिर्ता पठाएको भए मेरो लाखौं रकम खेर जाने थिएन।’ उनले भुदवश आएको गाडी नियन्त्रणमा लिए पनि चल्ला नष्ट गर्न तीन दिन लगाएको आक्रोशसमेत पोखे। चल्ला नष्ट गर्न ढिला गर्दा गाडी र चालकलाई थप खर्च गुर्नपरेको उनको भनाइ थियो। जिल्ला पशुसेवा कार्यालयका प्रमुख भट्टले भने चल्ला नियन्त्रणमा लिएकै दिउँसो कर्मचारी चल्ला नष्ट गर्न आउँदा अवरोध गरेको बताए। ‘भक्तपुर प्रवेश गर्ने मनहरामै प्रवेशमा रोक लगाइएको भए राम्रो हुने थियो’, कुखुरापालक व्यवसायी दयाराम महतले भने, ‘अन्त नरोकेर सीधै जगातीमा पासो थाप्नु मनासिब होइन।’ भक्तपुरकै बाटो भएर काभ्रेमा कुखुरा, चल्ला र दाना तथा अन्डा बिक्रीवितरण भइरहेको उनको दाबी थियो।

‘काभ्रेबाट भक्तपुरमै छ्यापछ्याप्ती कुखुरा तथा अन्डा आइरहेका छन्’, उनले भने, ‘प्रहरीले पैसा पाएकालाई छाड्ने र नपाएकालाई समाउने गरेको छ।’ भक्तपुरका बजारमा अहिले कुखुराको मासु तथा अन्डा जहाँतहीं भेटिन्छ तर जिल्ला पशुसेवा कार्यालयले भने त्यसलाई देखेको छैन। ‘भक्तपुरमा संकटग्रस्त क्षेत्र खुलेको छैन’, पशु कार्यालयका प्रमुख भट्टले भने, ‘त्यसैले कुखुरा तथा कुखुराजन्य पदार्थ ओसारपसार र बिक्रीवितरण गर्न पाइँदैन।’ भक्तपुरका बर्डफ्लुपीडित कुखुरा व्यवसायीले सरकारी अकर्मण्यताले भक्तपुरमा कुखुरा तथा कुखुराको मासु खुलमखुला बिक्रीवितरण भइरहेको आरोप लगाएका छन्। उनीहरूले जिल्लास्थित व्यवसायीका बर्डफ्लु नलागेका कुखुरा मार्न दिएर बाहिरबाट महँगोमा कुखुरा तथा कुखुराको मासु बिक्रीवितरण गर्न दिइएको गुनासो गरेका छन् । पशु सेवा कार्यालयले संकटग्रस्त क्षेत्र घोषणा पालना गराउन निरन्तर निगरानी र अनुगमन गरिरहेको जनाएको छ ।

अन्नपूर्ण पोष्टबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :