उखुको उचित मूल्य निर्धारण नहुँदा किसान निरास

यो समाचार 167 पटक पढिएको

पर्सा, १८ माघ / यसवर्ष उखुको उत्पादनमा वृद्धि भएपछि खुसी भएका किसान उखुको उचित मूल्य निर्धारण नहुँदा निरास भएका छन् । मूल्य निर्धारण नहुँदा किसानहरू चिनी मिललाई उधारोमा उखु बेच्न बाध्य भएका छन् । प्रमुख नगदेबालीका रूपमा खेती गरेका किसानले उखुको मूल्य निर्धारण नहुँदै मिलमा सस्तो र उधारोमा बेच्न बाध्य भएका हुन् ।

Sugarcane

मध्यतराइका बारा, पर्सा र रौतहटका किसान अहिले बिना मूल्य आफ्नै लगानीमा उखु काटेर चिनी मिलसम्म पु-याइरहेका छन् । तर भुक्तानी नपाउँदा किसानको घर खर्च, मजदुरलाई ज्याला दिन र उखुको ढुवानी भाडा दिनसमेत समस्या परेको उखु किसान बताउछन् । उखु उत्पादक कृषक महासङ्घ र चिनी उत्पादक सङ्घबीचको विवादले किसानले मूल्य नपाएका हुन् । यस वर्ष उखुको खरिद मूल्य महासङ्घले प्रतिक्विन्टल रु ६२५ निर्धारण हुनुपर्ने अडान लिएको छ भने चिनी उत्पादक सङ्घले मूल्य बढाउन नसक्ने अडान राख्दै आएको छ । दुवै पक्षबीच विवाद उत्पन्न हुँदा मूल्य निर्धारण हुन नसकेको हो ।

सरकारले समेत महासङ्घ र सङघबीचको विवाद मिलाई मूल्य निर्धारण गर्ने पहल नगरिदिँदा किसानले सास्ती भोग्नु परेको हो । यसअघि हरेक वर्ष सरकारले मूल्य निर्धारण गर्ने गरेकोमा यस वर्ष उखु बिक्री भइसक्दा पनि मूल्य निर्धारण गरेको छैन । उखु खेतमा सुक्ने अवस्था आएको कारण किसानले ऋण काढेर भए पनि ज्यालादारीमा मजदुर खटाई उखु काटिरहेका छन् । उखु काट्ने र ओसार्ने काममा प्रयोग हुने मजदुरी र यातायात खर्च अभावमा आफू रहेको पर्साका उखु किसान अनिरुद्ध दहैतले बताउनुभयो । उखु नकाटौँ सुकेर जान्छ, उहाले भन्नुभयो, “काटाँै त मजदुर र ढुवानीलाई दिने पैसा छैन ।

साहुसँग ऋण गरेरै भए पनि उखु काट्दै मिल पठाउने गरेको छु उहाँले भन्नुभयो । यस वर्ष चिनीको भाउ घटेकाले चिनी मिल सञ्चालकहरू भने गत वर्ष निर्धारित उखुको मूल्यमा पनि घटाउनुपर्ने दाउमा रहेका छन् । गत वर्ष स्थानीय बजारमा प्रतिकिलो रु ६५ देखि ६७ सम्ममा चिनी बिक्री गरिएकोमा यस वर्ष मूल्य घटेर रु ५२ देखि ५४ सम्म रहेको छ, रिलायन्स सुगर एन्ड केमिकल इन्डष्ट्रिज प्रालिका प्रबन्धक राजेशकुमार पाण्डेले भन्नुभयो, “घाटा खाएर भए पनि मिलले उत्पादित चिनी बजारमा पठाउन थालेको हो ।” स्वदेशी चिनी मिल सञ्चालकले भारतीय चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालमा उत्पादित चिनी बिक्री नभएको उनीहरूले बताउदै आएका छन् ।

एक क्विन्टल उखुको उत्पादनका लागि बीउ, मलखाध, सिँचाइ, जोताई, किटनाशक औषधि र मजदुरको ज्याला जोडेर करिब ४ सयदेखि ५ सयसम्म खर्च गरेका किसानले अहिले प्रतिक्विन्टल उखुको पुरानो मूल्य ४ सय ८१ मा पनि बिक्री नहुँने अवस्था देखिएको छ । पुरानै मूल्यमा बिक्री भइहाले पनि त्यसको भुक्तानी कहिले पाउने हो भन्ने ठेगान नभएको किसानको गुनासो छ । छिमेकी मुलुक भारतले कृषिमा गरेको लगानी वा आफ्ना कृषकका लागि प्रदान गरेको सहयोग र सहुलियतका कारण राष्ट्रिय पुजीको निर्माण भई त्यहाको मध्यम वर्ग आर्थिक रूपले बलियो भएका छन् तर नेपालका किसानको जीवनस्तर तुलनात्मक रूपमा अति खस्कदो छ, सरकारी जागिरबाट अवकास प्राप्त वरिष्ठ कृषि वैज्ञानिक अम्बिकाचरण श्रीवास्तवले भन्नुभयो, “भारतीय किसानले कृषिमा पाएको सरकारी सुविधा र सहयोगका कारण नेपालको तुलनामा भारतमा कृषि उत्पादन लागत कम हुने गरेको छ ।

अहिलेको आवश्यकता भनेको नै कृषिमा यान्त्रिकरण र व्यवसायीकरण गर्नु तथा कृषि उत्पादनलाई सहज रूपमा बजारसम्म पुग्ने व्यवस्था गर्नु रहेको अर्का वरिष्ठ कृषि वैज्ञानिक रामचन्द्र प्रसादको भनाइ छ । कृषिलाई व्यवसायीकरण र व्यापारीकरण गर्नु भनेको नै कृषिलाई मर्यादित, उन्नतशील र आधुनिक पेसाका रूपमा रूपान्तरण गर्नु हो, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका क्षेत्रीय निर्देशक कैलाशप्रसाद भुडेरले भन्नुभयो– “कृषिलाई उद्यम र कृषकलाई कृषि उद्यमी बनाउनु जरुरी छ । त्यसका लागि सरकार, गैरसरकारी संस्था र निजी क्षेत्र एकीकृत रूपमा हातेमालो गरी अगाडि बढ्नुपर्दछ ।”

रचनात्मक प्रतिक्रिया दिनुहोस् :