फूल तथा मालाको व्यापारमा कमी

यो समाचार 321 पटक पढिएको

 जनकपुरधाम, १८ माघ / जनकपुरमा फूल तथा मालाको व्यापारमा कमी आएको छ । श्रद्धालु भक्तजनको सङ्ख्यामा कमी आएकाले फूल तथा मालाको व्यापारमा कमी आएको हो । फूलखेतीका लागि प्रमुख मानिने तराईका विभिन्न जिल्लामध्ये धनुषा पनि एक हो । यहाँ वर्षौदेखि व्यावसायिक रूपमा पूmलखेती भइरहेको पाइएको छ ।

 

Cut Flower

जिल्लाको देपुरारूपैठा, घोरघास, मङ्गलपुर, रामपुर, ठेरा, कटरैत, नक्टाझिँज, इच्छापुर, फूलगमा, धनुषाधाम र मिथिलेश्वरमा फूलको व्यावसायिक खेती भइरहेको व्यापारीले बताएका छन् । त्यतिमात्रै नभएर भारतको पटना, सिलीगुढी र कलकत्ताबाट पनि यहाँ फूल तथा माला आयात हुने गरेको उनीहरूको भनाइ छ । यस जिल्लामा उत्पादित फूलको व्यवसाय मुख्य गरी जनकपुरका विभिन्न धार्मिकस्थल, मठमन्दिरलगायत जनकपुर ढल्केबर सडकखण्डको रमदैयास्थित राजदेवी मन्दिरमा हुने गरेको छ ।

 

जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर, हनुमान मन्दिर, शिव मन्दिर, सङ्कटमोचन मन्दिर र कृष्ण मन्दिरलगायतका स्थानमा फूल तथा मालाको बिक्री मुख्य रूपमा हुने गर्दछ । सो स्थानमा भारतबाट आयात हुने चैरीचिन्ना, रजनीगन्धा, गुलाफ, गेडी, जरबेरा र यसै जिल्लामा उत्पादन भएको जाफरी र गेदा फूलको माला बिक्री हुने गर्दछ । जानकी मन्दिर प्राङ्गणमा करिब १५ वर्षअघिबाट फूल तथा मालाको व्यापार थालेका शङ्कर भण्डारीले समयअनुसार बिक्री घटबढ हुने गरेको बताउनुभयो ।

 

उहाँ भन्नुहुन्छ– बुबा रामसुन्दर मालीले पनि यही पेसामा आफ्नो जीवन बिताउनुभयो । म जन्मनुभन्दा अघिदेखि नै मेरो बुबाले व्यापार थाल्नुभएको थियो र बुबापछि दाजुले पनि यही पेसा अपनाउनुभएको थियो । त्यसपछि मैले पनि सोही पेसालाई निरन्तरता दिएको छु । यहाँ बनाइएको प्रतिमाला रु १० र भारतबाट आयात हुने प्रतिमाला रु १५ पर्ने भएकाले सोहीअनुसार बिक्री गरिरहेको जानकी मन्दिरस्थितक माला व्यापारी प्रमोद भण्डारीले जानकारी दिनुभयो ।

 

यस व्यापारबाट कसैको मुख ताक्नु नपर्ने र मासिक रु पाँच हजारभन्दा अधिक आम्दानी हुने गरेको सोही स्थानका व्यापारी श्याम भण्डारीले बताउनुभयो । एक दिनमा कम्तिमा २० भन्दा अधिक माला बिक्री हुने गरेको राम मन्दिरका व्यापारी उपेन्द्र भण्डारीले जानकारी दिनुभयो । त्यतिमात्रै नभएर यहाँ उत्पादन गरिएको माला व्यापारीले काठमाडौँ समेत लिएर जाने गरेका छन् । जनकपुरमा भन्दा काठमाडौँमा फूल तथा मालाको बिक्री बढी हुने भएकाले व्यापारीले सो स्थानमा लाने गरेका हुन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :