१२ वर्षमा ‘अग्र्यानिक’ काठमाडौं

This post has already been read 165 times!

काठमाडौं, १८ माघ /  मुलुकको प्रशासनिक केन्द्र काठमाडौंलाई कृषि विकासको समेत नमुनाका रूपमा चिनाउने अभियान सुरु गरिएको छ । १२ वर्षमा अग्र्यानिक (प्रांगारिक) उत्पादनमात्र गर्ने नमुना जिल्ला बनाउने अभियानमुखी कार्यक्रमअन्तर्गत व्यावसायीक कृषि उत्पादनमा संलग्न कृषकलाई परिचयपत्र वितरण सुरु भएको छ । 

Vegetable

जिल्ला कृषि विकास कार्यालयले नेपालमै पहिलो पटक व्यावसायिक कृषक परिचयपत्र वितरण थालेको हो । “व्यावसायिक कृषकको पहिचान आवश्यक देखिएकाले पहिलो पटक कृषक परिचयपत्र वितरण सुरु गरेका छौं,” कार्यालय प्रमुख शरद श्रेष्ठले भने, “कृषक परिचयपत्र कृषकलाई कृषि ऋण, बिमा र अन्य अनुदानका लागि सहयोगी हुनेछ ।” कृषि पेसामा संलग्न व्यावसायिक कृषकलाई ‘कृषक’ नभनेर ‘कृषि उद्यमी’का रूपमा सम्बोधन गर्न आवश्यक देखिएको उनले बताए । “उद्यमीका रूपमा सम्बोधन गरिए कृषकको मनोबल उच्च हुन्छ,” उनले भने ।
काठमाडौंमा मात्रै करिब २ सय व्यावसायिक कृषक रहेको अनुमान छ । यीमध्ये चालू आवमा १ सय कृषकलाई परिचयपत्र वितरण गर्ने योजना कार्यालयको छ । लघु उद्यमको अवधारणामा आधारित भएर कम्तीमा १० रोपनी जग्गामा व्यावसायिक खेती गर्ने कृषि उद्यमीलाई परिचयपत्र व्यवस्था गरिएको श्रेष्ठले बताए । उनका अनुसार मौरी पाल्नेले २६ घार, फूलखेती गर्नेले २ रोपनीजस्ता न्यूनतम मापदण्डका आधारमा कृषकले परिचयपत्रका लागि आवेदन दिन सक्नेछन् ।

 

परिचयपत्रका लागि आवदेन दिन निश्चित मापदण्डसहितको फर्म व्यवस्था गरिएकाले ३ प्रति फोटो, नागरिकताको फोटोकफी र कृषि उद्योगको विवरणसहित निवेदनका साथ उपस्थित हुन उनले कृषकलाई आह्वान गरे ।
व्यावसायिक कृषिमा संलग्न कृषि उद्यमी (व्यक्ति), कृषक समूह, कृषि सहकारी र कम्पनी सबैलाई परिचयपत्र व्यवस्था गरिएको कार्यालयले जनाएको छ । अग्र्यानिक र गैरअग्र्यानिक कृषकलाई फरक–फरक रंगका परिचयपत्र हुनेछन् । यिनमा कृषकको पहिचान, उसले गर्दै आएको व्यावसायिक कृषिको प्रकारलगायत विवरण उल्लेख गरेर कार्यालयले प्रमाणित गरिदिएको हुन्छ ।

 

काठमाडौैंबाट सुरु गरिएको अभियानलाई देशभर विस्तार गर्नुपर्ने कृषक प्रतिनिधिको माग छ । “यो अत्यन्तै राम्रो अभियान हो, हामी साना कृषक यस्तो अभियानलाई स्वागत गर्छाैं,” राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले भने, “देशभरका कृषकलाई परिचयपत्र व्यवस्था गरेर कृषक अनुदान वृद्धि गर्ने कार्यक्रम लागू गर्न जरुरी छ ।” कृषकलाई प्रोत्साहन गर्न मल, बीउ, औजार खरिद, कृषि ऋणलगायतमा अनुदान तथा सहुलियतको व्यवस्था गरिए कृषि व्यवसायीकरणका लागि सहयोगी हुने उनले बताए ।
परिचयपत्र वितरणलाई अन्य जिल्लाका कार्यालय प्रमुखले पनि पछ्याउन इच्छा देखाएका छन् । “नमुना काम गर्नुभएको छ भनेर अरु जिल्लाका साथीले प्रशंसा गरिरहेका छन्, आफ्नो जिल्लामा समेत सुरु गर्ने इच्छा देखाएका छन्,” श्रेष्ठले भने, “हामीले तयार गरेका मापदण्ड र अन्य कागजात पठाइदिने गरेका छौं ।”
व्यावसायिक कृषि उत्पादनमा बढ्दो युवा आकर्षणलाई मध्यनजर गरेर सुरु गरिएको नयाँ अवधारणाले रासायनिक मल तथा विषादी प्रयोगलाई दुरुत्साहन गर्दै अग्र्यानिक कृषिउपजमात्र उत्पादन गर्ने योजना राखेको छ ।
व्यावसायिक कृषकलाई आवश्यक कृषि औजार र टनेलका लागि प्लास्टिक खरिदमा ५० प्रतिशतसम्मको अनुदान र निःशुल्क प्राविधिक सहयोगको व्यवस्था गरिएको छ । प्रांगारिक मल, बीउविजन, जैविक विषादी, कृषियन्त्र, कृषि ऋणलगायतका विषयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने कार्यक्रम कृषि कार्यालयको छ । केन्द्रीय तथ्यांक विभागले पनि देशभरका व्यावसायिक कृषकको तथ्यांक संकलन गरिरहेको छ ।

कारोबारबाट