अण्डाको मूल्य निर्धारण

यो समाचार 193 पटक पढिएको

चितवन, १५ माघ । चितवनमा कुखुराको अण्डा उत्पादनमा ह्रास आएसँगै मूल्यमा एकरुपता नदेखिएपछि अण्डा उत्पादक संघले मूल्य निर्धारण गरेको छ । संघले अहिले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य २ सय ९० र बिक्री मूल्य २ सय ९५ तय गरेको छ । Eggयस्तै सानो अण्डा प्रतिक्रेट फार्म मूल्य २ सय ७५ र बिक्री मूल्य २ सय ८० तोकिएको अण्डा उत्पादक सङ्घ चितवनले जनाएको छ । सङ्घले सार्वजनिक सूचना नै जारी गरेर तोकेको मूल्यभन्दा घटी या बढीमा बिक्री नगर्न पनि सबैमा अनुरोध गरेको छ । एक क्रेटमा ३० पिस अण्डा हुन्छ । अण्डामा मनोमानी मूल्य देखिएकाले नियन्त्रणका लागि मूल्य तोकिएको व्यवसायीले बताएका छन् ।

अहिले चितवनमा ५० प्रतिशतले अण्डा उत्पादनमा कमी आएको छ । त्यसैले विगत चार महिनाको अन्तरालमा अण्डाको मूल्य एक्कासि बढेको छ । अहिले उपभोक्ताका लागि भने ३ सय ३० सम्ममा बिक्री भइरहेको चितवनका एक उपभोक्ता रामकुमार अधिकारीले बताउनुभयो । जिल्लामा हाल प्रतिगोटा १२ का दरले अण्डाको खुद्रा बिक्री भइरहेको छ ।

उहाँका अनुसार साविकको रुपमा अण्डा उत्पादन हुन अझै केही महिना लाग्ने छ । चितवन अण्डा उत्पादनका दृष्टिले नेपालकै अग्रभागमा पर्छ । चितवनमा गएको वर्ष दैनिक १२ हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले मुस्किलले आधामात्रै उत्पादन हुने गरेको छ ।अघिल्लो वर्ष अण्डा प्रतिक्रेट २ सय ३५ देखि २ सय ४० सम्ममा बिक्री हुने गरेको थियो । चितवनमा अण्डाकै लागि व्यवसाय सुरु गरेका करिब एक हजार ५ सय किसान रहेका छन् । रोगको सङ्क्रमणसँगै उत्पादन कमी भएर व्यवसायमा घाटा व्यहोर्न पुगेका कृषकमा अहिले भाउ केही उकालो लाग्न थालेपछि आशा पलाएको पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले बताउनुभयो ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :