अर्गानिक तरकारीको प्रमाणीकरण सुरु

यो समाचार 177 पटक पढिएको

पोखरा,  माघ १५ \ अर्गानिक तरकारी तथा खाद्यवस्तु उत्पादनमा सक्रिय गराउन र उपभोक्तालाई पनि जागरुक बनाउन सहभागितामूलक गुणस्तर निर्धारण पद्धति (पीजीएस) प्रमाणीकरण सुरु भएको छ ।

Pokhra, Newsagro
पछिल्लो समय अर्गानिक खाद्यान्नतर्फ उपभोक्ता आकषिर्त भए पनि मागअनुसारको आपूर्ति हुन नसकेको भन्दै द बजार कृषि सहकारी संस्था तथा पीजीएस व्यवस्थापन समिति कास्कीले प्रमाणीकरण अभियान थालेका हुन् । ‘प्रांगारिक उत्पादनको प्रमाणीकरण हुनुपर्छ र प्रमाणीकरणले किसानाले उत्पादन गर्न आर्थिक रूपमा पनि सहज हुने तरिका अपनाउने उद्देश्यसाथ पीजीएस सुरु गरेका हौं,’ सहकारीका अध्यक्ष तुलसी गिरीले भने, ‘सम्भवतः यो नेपालमै पहिलो हो ।’

 
अभियानमा ११ वटा उत्पादक समूह र ३ सयभन्दा बढी किसान आबद्ध छन् । यसअघि साढे ४ सय उपभोक्तासँग बजारमा सर्वेक्षण समेत गरिएको थिए । उक्त अवसरमा उपभोक्ताले प्रमाणसहितको अर्गानिक वस्तु पाइएमा १५ प्रतिशत बढी मूल्य तिरेर स्वस्थकर खाद्यान्न खाने भनेका थिए ।

 

‘उपभोक्ताको चाहनाअनुसार अर्गानिक सर्टिफिकेसन -सरकारी मान्यताप्राप्त) संस्थाको सहकार्यमा प्रमाणीकरण अभियानमा लागेका हौं,’ गिरीले भने, ‘प्रांगारिक कृषि उत्पादक, उपभोक्तालगायत सरोकारवालाको प्रत्यक्ष र सक्रिय सहभागितामा स्थानीय परिवेशअनुसारको मापदण्ड तथा व्यवस्थापकीय ढाँचामा सञ्चालन हुने प्रमाणीकरण प्रद्धतिलाई पीजीएस भनिन्छ ।’ यो नेपालको पहिलो पहल भएको बताए ।

द बजारले अहिले पोखराका महेन्द्रपुल -सेलवेज डिपार्टमेन्टल स्टोर्स) राष्ट्र बैंक चोक र ड्यामसाइडमा बिक्री कक्ष राखेर अर्गानिक तरकारीलगायत खाद्यान्न बिक्री गर्दै आएको छ । बजार सर्वेक्षणमा हाल दैनिक ५० हजार रुपैयाँ मूल्यभन्दा बढीको अर्गानिक तरकारीको मात्रै माग रहेकामा मुस्किलले १५ हजार रुपैयाँको मात्र उपलब्ध हुने गिरीले बताए । अर्गानिक खेतीबारे किसानलाई समेत थाहा नभएकाले माग र आपूर्तिको तालमेल मिल्न नसकेको उनले बताए । लेखनाथ रिठेपानीस्थित गुल्मी अर्गानिक तरकारी र्फमका सञ्चालक याम तरामुले पीजीएसका कारण आफूहरूको उत्पादनले सहजै बजार पाउने विश्वास गरे । ‘यस्तो प्रमाणीकरणले उपभोक्तामा विश्वास जागृत हुन्छ,’ तरामुले भने, ‘अर्गानिक हो कि विषादी हालिएको छ भन्ने जान्ने अधिकार उपभोक्तमा सुरक्षित रहनेछ ।’

१६ रोपनीमा खेती गर्दै आएका तरामुले सातामा ४ सय केजी अर्गानिक तरकारी द बजारमा पठाउँछन् । बागबानी कृषि अधिकृत मनहर कडरियाले कृषि कार्यालयको संयोजकत्वमा समिति गठन भएर प्रमाणीकरणको काम सुरु गरिएको बताए । ‘कृषि र्फमलाई समूहसमूहको बीचमा अर्गानिक प्रमाणीकरण गरेर वस्तु बजारमा पठाउने काम हुन्छ,’ कडरियाले भने, ‘यो सुरुवात मात्रै हो । उपभोक्तालाई मूल्य सस्तो, स्वस्थकर खाना, उत्पादकलाई पनि कम लागत यसले समेट्छ । समग्रमा उत्पादक र उपभोक्ताको पहुँचमा अर्गानिक खेतीलाई पहुँच पुग्छ ।’ उनले उपभोक्ताले निरीक्षण गरेर मात्रै पनि वस्तुको उपभोग गर्न सक्ने बताए ।
– लालप्रसाद शर्मा

रचनात्मक प्रतिक्रिया दिनुहोस् :