साताभित्रै दूधको मूल्य बढ्ने

यो समाचार 181 पटक पढिएको

काठमाडौं,   माघ १५ \ साताभित्र दूधको मूल्य बढ्ने भएको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले झोल दूधको उत्पादन लागत बढेको भन्दै दूधको मूल्यमा प्रतिलिटर ४ देखि ५ रुपैयाँसम्म बढाउने तयारी गरेको हो ।४० प्रतिशत बजार हिस्सा भएको संस्थानले निर्धारण गर्ने मूल्यले नीजि क्षेत्रका डेरीले बेच्ने दूधको मूल्य पनि प्रभावित हुनेछ ।

Milk su
कर्मचारीको तलब, पेट्रोल आदिको मूल्यवृद्धि र लोडसेडिङका कारण जेनेरेटरको खर्चसमेत वृद्धि हुँदा उत्पादन लागत बढेकाले मूल्यमा समायोजन गर्न लागिएको राष्ट्रिय दुग्ध विकास बोर्डले बताएको छ । “उत्पादन लागत बढेकाले मूल्यवृद्धिका लागि संस्थानले प्रक्रिया अगाडि बढाएको हो,” बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले भने, “कृषक र उद्योग दुवैलाई मर्का नपर्ने गरी वृद्धि गर्न बोर्डले सुझाव दिएको छ ।” उनका अनुसार वृद्धि गरिने मूल्यको ६९ प्रतिशत हिस्सा कृषकले र ३१ प्रतिशत हिस्सा उद्योगीले पाउनेछन् ।

यसअघि संस्थानले गत वर्ष मंसिरमा एकतर्फी रुपमा उद्योगको मात्र मूल्यवृद्धि गरेका कारण कृषक र उद्योगीबीच विवाद चर्किएको थियो । मूल्यवृद्धि गर्दा सधैंजसो विवादमा पर्दै आएको संस्थानलाई विवादास्पद हुनबाट जोगाउन कृषि विकास मन्त्रालयले दुग्ध पदार्थको मूल्यवृद्धिका लागि अध्ययन कार्यदल बनाई अध्ययन गरेको छ । कार्यदलले पाँचै विकास क्षेत्रमा दुग्ध बजारको अध्ययन गरेर आइतबार कृषि विकास मन्त्रालयमा नतिजाको कार्यपत्र पेस गरेको छ ।

मूल्यवृद्धिका सम्बन्धमा थप अध्ययन आवश्यक देखिएकाले तत्काललाई कार्यदलको सुझाव अघि नबढेको मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले बताए । “बजारको अवस्थाबारे अध्ययन समितिले संक्षिप्त प्रतिवेदन पेस गरिसकेको छ” उनले भने, “थप गृहकार्य गरेर समितिको प्रतिवेदनका आधारमा मूल्यवृद्धिको निर्णय लिइनेछ ।” पछिल्लो समयमा ठूला डेरीले संकलन गर्ने दूधको मात्रा घटेको सम्बन्धमा पनि समितिले अध्ययन प्रतिवेदन तयार गर्नेछ ।

कृषक र उद्योगी दुवैको समस्या सम्बोधन गर्ने गरी मूल्यवृद्धिको निर्णय गनुपर्नेमा नीजि क्षेत्रका दुग्ध व्यवसायीले जोड दिँदै आएका छन् । “जहिले पनि हामी (नीजि डेरी) र कृषकको सहभागिताबिना नै डीडीसीले मूल्यवृद्धिको निर्णय गर्ने गरेको छ, यसमा पुनर्विचार गर्नुपर्छ,” डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले भने, “कृषक र उद्योगी दुवैको उत्पादन लागत बढेकाले मूल्यवृद्धि आवश्यक छ । तर, दुवै पक्षको समस्या सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ ।” विस्तृत अध्ययन गरेर दूध उत्पादनसँग सरोकार राख्नेसँग छलफल गरेर दूधको वैज्ञानिक मूल्यवृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :