विराटनगरलाई ‘चिकेन हब’ बनाउन पहल

यो समाचार 236 पटक पढिएको

विराटनगर, माघ १५\  विराटनगरलाई ‘चिकेन हब’ बनाउन सरकारी र निजी क्षेत्रबाट पहल सुरु भएको छ। पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालयले यसक्षेत्रका व्यवसायी, किसान, बिक्रेता र सरोकारवालासँग कुखुरा पालन व्यवसायका समस्या, उत्पादनस्थिति र बजार संभाव्यताबारे सुझाउ लिएको छ ।

Chicken

निर्देशनालयका निर्देशक डा. केशवप्रसाद प्रेमी नेतृत्वको सरकारी टोलीले विराटनगरमा पूर्वका किसान, विक्रेता, ठूला व्यवसायी सहित सरोकारवालासँग छलफल चलाएर सुझाउ लिएको हो।

निर्देशक प्रेमीले भने,‘चितवन र काठमाडौंपछि कुखुरा पालन व्यवसाय फस्टाउन सक्ने क्षेत्र पूर्वमा छ। यसमा पनि विराटनगरलाई हामीले केन्द्रमा राखेका छौं।’

प्रेमीले कुखुरा पालन व्यवसायलाई प्रवर्द्धन गर्न ‘चिकेन फेस्टिभल’ गर्नेसम्मको तयारी गरेको बताए। किसान र व्यवसायीको प्रस्तावअनुसार अन्य कार्यक्रम पनि चलाइने उनले जानकारी दिए।

विराटनगर र आसपासको क्षेत्रका कुखुरापालक सानाकिसान, ह्याचरी व्यवसायी, दाना र औषधिका बिक्रेताले पनि यो क्षेत्रमा कुखुरा पालन व्यवसाय फस्टाउने प्रशस्तै संभावना रहेको सुझाएका छन्। विराट पोल्ट्री व्यवसायी संघका सचिव गुणराज जमरकट्टेल भन्छन्, ‘यो व्यवसायको सम्भावना र बजारको विषयमा जानकारी दिएका छौं। सरकारबाट सकारात्मक आश्वासन आएको छ।’

कुखुरा पालन व्यवसाय फस्टाउन भारतीय क्षेत्रबाट चल्ला र कुखुरा आयात नियन्त्रण गर्नुपर्ने उनले बताए।

बढ्दै कारोबार

पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार यस क्षेत्रमा ६ वटा ह्याचरी सञ्चालनमा छन्। तिनले बार्षिक ९ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्छन्। कुखुरा पालन व्यवसायमा सयौंको संख्यामा साना किसान संलग्न छन्।

पूर्व क्षेत्रका आर्थिक बर्ष २०७०/७१ मा १लाख १२ हजार ७५ मेट्रिक टन मासु उत्पादन भएको थियो। चालू आबमा १ लाख ४६ हजार २७ मेट्रिटन उत्पादन हुने अनुमान गरिएको निर्देशनालयका पशु चिकित्सक कुमार सिंह खत्रीले जानकारी दिए।

उनले भने,‘कूल मासु उत्पादनको हेर्दा यसमा कुखुराको परिमाण बढ्दो क्रममा छ। कुखुरा पालन व्यवसाय प्रवर्द्धन गरे उत्पादन र आम्दानी बढ्न सक्छ।’

निर्देशनलायका अनुसार पूर्व क्षेत्रमा कुखुराको संख्या २ करोड भन्दा धेरै छ। तिनमा स्थानीय जातका ४८ लाख १२ हजार ४३६, ब्रोइलर १८ लाख ९ हजार ९०९ र लेयर्स २ लाख ५७ हजार १५ वटा रहेका छन्। यो क्षेत्रमा बार्षिक रुपमा १४ अबए १३ करोड रुपैयाँ बराबरको मासुको कारोबार हुन्छ।

निजी क्षेत्र सकारात्मक

निजीक्षेत्रलाई साथ दिए आफूहरु पनि विराटनगरलाई ‘चिकेन हब’ बनाउने अभियानमा लागिपर्ने मोरङ झोराहाटका किसान दिपनारायण उराउले बताए।

उराउ विगत तीनवर्षदेखि कुखुरापालन व्यवसायमा संलग्न छन्। किसानले उत्पादन गर्ने कुखुरा दाना र औषधिका डिलरहरुको मनोमालिन्यले पनि आफूहरुले उत्पादन गर्ने कुखुरा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उराउ गुनासो गर्छन्।

अर्का कुखुरा पालक किसान तेजकुमार बस्नेत दाना बिक्रेता, किसान र मासु बिक्रेताबीच पनि समन्वय हुनुपर्ने सुझाव दिन्छन्।

उनले किसानलाई स्वदेशमै उत्पादन हुने चल्ला र दाना सस्तो तथा सुलभ मूल्यमा खरिद गर्ने प्रबन्ध सरकारी तवरबाट हुनुपर्ने बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :