तरकारीले बजार नपाउँदा गुन्द्रुक बनाउँदै ओखलढुंगाका किसान

This post has already been read 91 times!

  • जीवन शर्मा 

ओखलढुंगा,  १४ माघ\  जिल्लाको पश्चिमी भेगका गाविसमा व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुले बजार भाउँ नपाएपछि समस्यामा परेका छन् । सदरमुकामबाट १५ कोष टाढाका गाविसहरु, फेदिगुठ, फुलबारी मुलखर्क, विलन्दु लगायतका गाविसहमा उत्पादि साग, काउली बन्दालगायत तरकारीले बजार नपाएपछि किसानहरु सुकाएर गुन्द्रुक बनाउन बाध्य भएका छन् । 
Veg marketएक वर्षमा २ क्वीन्टलभन्दा बढी काउली र बन्दा उत्पादन गरेकी फेदिगुठकी अगुवा किसान राधा गुरुङ तरकारीले बजार नपाएपछि बन्दा र काउली सुकाएर गुन्द्रुक बनाउने भएकी छिन् । ‘दुई घण्टा हिडेर बेच्न लग्यो श्रम अनुसारको मूल्य पाइदैन’ उनले भनिन्–सुकाए पछिसम्म राख्न सकिन्छ’ । राधार लगायत तरखारी खेतीमा जुटेका स्थानीय किसान देवीबहादुर र नैनकला गुरुङको पनि समस्या उस्तै छ । गाउँको बजारमा बिक्रि नहुने र सदरमुकाम र बजार क्षेत्रमा लैजान यातायात नभएकाले तरकारी खेर जाने गरेको उनीहरुको भनाइ छ ।
गाउँ गाउँमा कृषि सम्बन्धी विभिन्न परियोजनाहरुले व्यवसायिक तरकारी खेती गर्न सीप सिकाएर विउ विजन समेत सहयोग गरेपछि दुर्गमका किसानहरु व्यवसायिक तरकारी खेतीतर्फ जुटेका छन् । व्यवसायिक तरकारी खेति गर्ने किसानहरु बढ्दै गए पनि बजार अभावले समस्या थपिएको छ । ‘तरकारी बारीमै कुहिने भएपछि काम गर्न पनि जाँगर आउन छाड्यो’ नैनकला गुरुङले गुनासो गरिन् ।
यस भेगका किसानहरुले गोलभेँडा, काउली, बन्दा, मुला, रायो साग, सिमीजस्ता तरकारी उत्पादन गर्ने गरेका छन् । ‘शुरुमा काम गर्न उत्साहित भएका किसानहरु तरकारीले बजार भाउ नपाएपछि निराश भएका छन्’ जनजाति उत्थान समाजकी सह सचिव सविना गुरुङले बताइन् । सडक सुविधा नपुगेका ठाउँमा तरकारी निकासी गर्न समस्या भएकाले किसान मारमा परेका छन् । तरकारी उत्पादन हुने पकेट क्षेत्रमा सडक सञ्जाल विस्तार गर्ने हो भने बजारमा पु¥याउँदा पैसासँग साटिने हरियो तरकारी सुकाएर पोको बनाउनु पर्ने यहाँका किसानहरुको बाध्यता हट्ने कृषि सम्बन्धि कार्यक्रम संचालन गर्ने एक संस्था फोर्ड नेपालका अध्यक्ष रेवतीरमण सुनुवार बताउँछन् ।