कृषिमा विष– जीवन विषाक्त हुदै

यो समाचार 365 पटक पढिएको

  • सुवास कार्की 

विषादी विष हो, औषधी होइन तर किसानहरु विषादीलाई औषधी ठान्दै खेतबारीमा प्रयोग गरिरहेका छन् । विष प्रयोग गर्नु सामान्य कुरा होइन तर किसानहरुले अन्न, तरकारी र फलपूmलमा अन्दाधुन्द विषादी प्रयोग गरिरहेका छन् । यो गम्भिर विषय हो । यसमा राज्य मौन वस्नु तथा प्रभावकारी काम नगर्नु सामान्य होइन ।

Suvash-Karki

किसानहरुले खेतवारीमा प्रयोग गरिरहेका विषादी र रासायनिक मलका कारण किसानहरुको स्वास्थमा गम्भिर असर गरिरहेको विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । तर पुष्टि गरिने विषय एकातिर हो तर थाहा नपाउने गरी किसानहरुको स्वास्थ्यमा परेको गम्भिर असर बारे लेखाजोखा हुदैन् । रासायनिक मल र विषादीको प्रयोग गर्दा निकै सावधानी अपनाउनु अनिवार्य छ । यो सँगै हाम्रा किसानले सामान्य सावधानी समेत नअपनाई त्यस्ता विषादी प्रयोग गरिरहेको यथार्थ हो ।

 

रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास भइरहेको पनि यथार्थ हो । यसको नकारात्मक प्रभाव कति बढ्यो भन्ने बारे परिक्षण गर्दा पत्ता लाग्छ तर माटो विग्रिएको त स्वत स्पष्ट छ । किनकी विषादी माटोको हितका लागि हुदै होइन ।
विषादी र अन्यौल
काठमाडौं बाड भन्ज्याङका किसान देउघन घर्तीलाई विषादीले नकारात्मक असर गर्ने थाहा छ तर नगरे उत्पादन घट्ला र रोगले सखाप पार्ला भन्ने चिन्ता पनि छ । जान्दाजान्दै पनि विषादी प्रयोग गर्नुपर्ने वाध्यताका प्रतिनिधी किसान हुन घर्ती देशभर अधिकांश किसान यस्तै गर्छन् ।

किसानहरु खेतिपातीमा रासायनिक मल र विषादीको प्रयोग बारे निकै अन्यौलमा छन् । रासायनिक मल र विषादीलाई प्रयोग गर्न दिने नदिने भन्ने वारे राज्यसँग अवस्था अनुकुल, स्पष्ट र प्रभावकारी नीति नै नभएको देखिन्छ । रासायनिक मल र विषादी प्रयोग र व्यवस्थापनका लागि नीति, कार्यक्रम र व्यवस्था हुदै नभएको होइन तर तिनिहरु कार्वान्वयन सहज छैन । त्यस्ता कार्यक्रम आम किसानसम्म पुग्दा फरक रुपमा व्याख्या र प्रयोग भएको पाइन्छ ।
विषादी र रासायनिक मलका कारण किसानहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परेको र किसानको स्वास्थ्यमा थाहा पाउने गरी नै नकारात्मक असर गरेका पुष्टि भैसकेका छन । कतिपय स्थानमा त यस्ता विषादी र रासायनिक मलको प्रयोगले उत्पादन नै घट्दै गएको छ । विषादीको अन्धाधुन्ध प्रयोगका कारण माटोको उर्वराक्षमतामा ह्रास आइरहेको छ । प्रयोग भइरहेका विषादीले मात्र काम नगर्ने भन्दै बढी क्षमता भएका विषादी प्रयोगको सिलसिला विस्तार भैरहेको अवस्था छ ।

किसानहरु निकै अन्यौलमा छन्, प्रयोग नगर्ने हो भने लगानी डुब्ने डर गरौ त विषादीको आक्रमण र माटोको उर्वराशक्ति ह्रास भइ भविस्यमा उत्पादन कमि हुने अवस्था ।
समस्याको महशुस
काभ्रेका किसान रघु थापालाई एलर्जीको समस्या देखिएको छ । माटोलाई माया गरी माटो मै लडिबुडी गरेर हुर्केका थापालाई माटोले कहिल्यै अहित गरेन । तर केही समय देखि त्यही माटोले छालामा समस्या ल्याउन थालेको छ । थापालाई तरकारीमा प्रयोग गरिने विषादीको प्रयोग पछि पनि उस्तै समस्या हुने गरेको छ । उनि आफै भन्छन कि त्यही विषादीे माटोमा घुलेकाले अहिले माटोले एलर्जी हुन्छ ।
अधिकांश किसानहरुले रासायनिक मल र विषादीको प्रयोग जानेर, बालीको आवश्कयकता भएर भन्दा पनि अरुको देखेर र बढी उत्पादन हुने भ्रममा गरिरहेका छन् ।

किसानहरु बालीमा समस्या पर्दा खेतिको विज्ञसम्म पुग्ने गरेको पाइदैन त्यसैले उनिहरु विषादी व्यापारी र पसले कहा पुगेर उनिहरुको सुझावमा विषादी र रासायनिक मल प्रयोग गरिरहेका छन् । कतिपय छिमेकि देशबाट आउने विषादी उत्पादक कम्पनी र डिलरले विभिन्न भ्रमण र उपहारका लोभ देखाई त्यस्ता विषादी बढी बेच्न र किसानसम्म पुर्याउन उद्ध्त छन् । यसो हुदा बढी बेच्ने लोभमा व्यापारीले किसानलाई जथाभावी विषादी प्रयोग गराइरहेको अगुवा किसान पुरुषोत्तम चौगोटीको दाबि छ ।
बिषादीलाई अन्तिम अस्त्रका रुपमा मात्र प्रयोग गर्ने सरकारको नीति भएको र गएका वर्षमा भन्दा यसपाली त्यस्ता विषादीको आयात कम भएको बिषादी पञ्जिकरण तथा व्यवस्थापन शाखाका विषादी रजिष्ट्रार अच्यूत प्रसाद ढकालले जानकारी दिनुभएको छ । तर किसानले विषादी प्रयोग गर्न नजानेर स्वास्थ्य, माटो र विरुवामा गम्भिर असर परेको भने स्वीकार गर्नुभएको छ ।

खाद्य सुरक्षाका मुद्दालाई ध्यान दिनुपर्ने भएकाले जैविक, मौलिक र परम्परागत विषादी प्रयोगमा पूर्ण रुपमा लाग्न नसकिएको उहाको भनाइ छ ।
तर जैविक विषादी उत्पादक तथा अनुभवी किसानहरु भने माटोको उर्वराशक्ति घटाएर र किसानको स्वास्थमा असर पुर्याएर खाद्य सुरक्षाको कुरा गर्नु मूर्खता सिवाएक केही नभएको दाबि गर्छन् ।
नीति र व्यवहार
राष्ट्रिय कृषि नीति २०६१ले कृषि उत्पादन एवं उत्पादकत्व बढाउने र त्यसका लागि प्राकृतिक श्रोत, वातावरण र जैविक विविधताको संरक्षण, सम्वद्र्धन एवं सदुपयोग गर्ने उद्देश्य लिएको छ ।

तर यसमा सम्वन्ध राख्ने रासायनिक मल र विषादीका सन्दर्भमा भने नीतिको उद्देश्य र व्यावहारबीच ठूलो अन्तर पाइन्छ ।
नीति अन्तर्गत व्यावसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीको विकास शीर्षकमा (३१ नम्वरको बुदां) प्रांगारिक खेतीलाई प्रोहोत्साहन गरिने र प्रांगारिक खेती गरी कृषिवस्तु निकासी गर्ने उत्पादन क्षेत्रमा उत्पादित कृषिवस्तुहरुको गुणस्तर प्रमाणिकरणको लागि टेवा पु¥याइने उल्लेख छ ।
तर किसानहरुले प्रांगारिक मल उत्पादन र प्रयोग कम गरिरहेको सरोकारवालाले बताइरहेका छन् । पशुपालन र बाली सँगसँगै गरिने परिपाटी हराउदै जादा यसमा समस्या र चुनौती थपिदै गएको छ ।

नीतिमा नै (३३ नम्वर बुदां) परम्परागत् स्थानीय मौलिक कृषिवस्तु एवं सम्बद्ध प्रविधिहरुको पञ्जिकरण तथा प्रवद्र्धन गरिने तथा स्वदेशी मूलको विशिष्ट उत्पादन एवं उत्पादन प्रविधिहरुको पहिचान तथा अधिकार सुरक्षित गरिने उल्लेख छ ।
यो महत्वपूर्ण हो । यसलाई कार्वान्वयन भई उपलब्धि हासिल गर्न ढिलो भइसकेको छ । असल काम कहिले ढिलो हुदैन भन्ने मान्यतालाई आत्मसाथ गर्ने हो भने पनि यसका आधारहरु अविलम्व निर्माण गरी अगाडि बढ्नु पर्छ ।
कीटनाशक औषधीहरुको विक्रि वितरणलाई नियमन गरी आपूर्तिमा गुणस्तर कायम गर्ने (३६ नम्वर बुदां) उल्लेख छ ।

तर किसानहरुले लापरवाही तवरले त्यस्ता पदार्थ प्रयोग गरिरहेका छन् । अझै भारतिय सिमाना हुदै अवैधानिक रुपमा आइरहेका विषादीबारे अनुगमन र निरुत्साहन जरुरी छ । नीतिको प्राकृतिक स्रोत तथा वातावरणको संरक्षण, सम्वद्र्धन एवं सदुपयोग शीर्षकमा प्रांगारिक मलको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गरिने उल्लेख छ । रासायनिक मल र बिषादीको अवैज्ञानिक तवरले प्रयोग बढेका बेला यो शीर्षकका नीतिलाई अविलम्व कार्वान्वयन अत्यावश्यक छ ।
अन्त्यमा
प्रांगारिक मल र जैविक तथा परम्परागत विषादी प्रयोगका सन्दर्भमा राज्यले जे भने पनि र अगुवा किसान तथा अभियान्ताहरुले उत्पेरणा जगाएको भनिरहेपनि किसानहरुमा व्यापक द्धिविधा छ ।
भएका नीति तथा कार्यक्रम पनि सरकारले खास किसानसम्म लैजान सकेको छैन् । कतिपय किसानले प्रतिवन्धित विषादी पनि प्रयोग गरिरहेपनि राज्यले त्यसलाई निरुत्साहित गर्न त के प्रयोग भएको पहिचान समेत औपचारिक रुपमा गर्न सकेको छैन् ।
अनुकुलता र प्रभावकारिताका हिसावले आवश्यक जैविक मल र मौलिक तथा परम्परागत बिषादीको प्रयोग र उत्पादनको कला स्थानीय किसानमा भएपनि त्यस्ता ज्ञान प्रसार र प्रयोगमा राज्यले ध्यान दिन सकेको छैन् ।
यसैले सबैभन्दा पहिला त कृषिसँग जोडिएका राज्यका संयन्त्र तथा अनुभवी किसानहरुको सम्मेलन गरी आवश्यक नीति निर्माण र प्रभावकारी कार्वान्वयन अबिलम्व जरुरी छ । यसबारे स्पष्ट र प्रभावकारी नीति तथा कार्यक्रम लागु र कार्वान्वयन नगर्ने हो भने कृषकहरुको स्वास्थ्यमा परेको समस्याले ठूलो समस्या निम्त्याउने अवस्यम्भावी छ ।

यसका कारण एकातिर पुन उत्साहित हुन खोजेको कृषि क्षेत्र झन मुभर्mाउने तथा अर्काेतिर माटोको उर्वराक्षमतामा कमि भई उत्पादनमा संकट बढ्दै जादा देशमा बाकि रहेको कृषिको संभावना पनि उखेलिने छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :