तराईबाट मौरी चराउन रोल्पासम्म

This post has already been read 191 times!

सिद्धि (चितवन),  माघ १४ \  समथर क्षेत्रमा हुने तोरीलगायत बालीमा विषादी प्रयोग बढेपछि कृषकका लागि मौरी चराउन पहाडी क्षेत्र रोजाइ बनेको छ । चितवनलगायत मध्य तराईका जिल्लाबाट कृषक मौरी चराउन दाङ, रोल्पासम्म पुग्ने गरेको पाइएको छ । टाढा जान नसक्ने कृषकले जिल्लाका शक्तिखोर, सिद्धि, काउलेलगायत पहाडी गाउँमा मौरी चराउन लाने गर्छन् ।

 

Bee, Newsagro

विषादीबाट मौरीलाई जोगाउन मौरीपालक कृषकले यहाँका पहाडी भीरतिर पुर्‍याउने गरेका छन् ।यस समय चिउरी फुल्ने भएकाले कृषकले मौरीको घार जंगल छेउछाउ लैजान थालेका हुन् । सिद्धि र शक्तिखोरका जंगल भीर नजिक अहिले २ हजार घार मौरी चरनका लागि ल्याइएको छ । कृषकले सामूहिक रूपमा चरन समूह बनाएर महिनौंसम्म मौरीलाई यहीँ राख्छन् । बछौली, कुमरोज, पदमपुरलगायत गाविसमा यस वर्ष प्रशस्त तोरी खेती भएको छ । तर तोरीबारी वरिपरि मौरीका घार कमै मात्र देख्न सकिन्छ । केही वर्षअघिसम्म चितवन तोरी खेतीका लागि मुलुकभर प्रसिद्ध भए पनि विषादीको प्रयोग बढेपछि मौरीपालक हैरान छन् ।

 

‘यहाँको तोरी बारीमा विषादी प्रयोग बढेकाले रोल्पाका गाउँहरूमा मौरी चराउन लान्छौं,’ नेपाल मौरीपालक संघका अध्यक्ष राजेन्द्र गौतमले भने, ‘पहाडी जिल्लामा तराईमा जस्तो विषादी प्रयोग निकै कम छ ।’ दाङ, रोल्पाका स्थानमा मौरी चराउन उपयुक्त रहेको उनले बताए । कात्तिकदेखि वैशाखसम्म चिउरी फुल्ने समय भएकाले केही वर्षदेखि यो समयमा चितवनबाहेक अन्य जिल्लाबाट समेत मौरीपालक कृषक मौरी चराउनका लागि सिद्धि र शक्तिखोर आइपुगेका छन् । यहाँका ठूला मौरीपालक कृषक भने रोल्पा पुग्ने गर्छन् । विभिन्न जिल्लाबाट मौरी चराउन आफ्नो गाविसमा कृषक आउने र थोरै मिहिनेतमा राम्रो आम्दानी गर्न थालेपछि सिद्धि र शक्तिखोरका कृषक पनि मौरीपालनतर्फ आकषिर्त भएका हुन् ।

 

स्थानीय दिलबहादुर गुरुङका घरमा अहिले ५० वटा मौरी घार छन् । २०६६ बाट मौरी पाल्न थालेका गुरुङले विभिन्न जिल्लाबाट आएका कृषकलाई उनि जस्तै मौरीपालक बनाए । ‘मेरो केही पेसा नभएपछि मौरी पाल्न थालेको हुँ,’ उनले भने, ‘काम पनि सजिलो, आम्दानी राम्रो छ ।’ तोरी बारीमा विषादीको प्रयोगले मौरी चराउन भीर खोज्दै हिँड्नुपरेको उनले सुनाए । प्रतिघार ५ हजार कमाउँछु,’ उनले भने, ‘भीरमा पारेको मह महँगोमा पनि बिक्छ ।’ विषादीको प्रयोगले तोरी बारी हाम्रा लागि कामै नलाग्ने भएको उनको गुनासो छ ।

 

सिद्धिमा मात्र ३ जना र शक्तिखोरमा अरूबाट सिकेर मौरीपालन गर्ने किसानको संख्या १५ पुगिसकेको छ । यहाँका जंगल र भीरमा मौरी चराउन अन्य जिल्लाका दर्जन किसान यहीँ बसेका छन् । चिउरी फुल्ने मौसममा सिद्धि शक्तिखोरमा चरन भए पनि अरू समयमा बाहिरी जिल्लामा लैजानुपर्ने कृषकहरू गुनासो गर्छन् । पछिल्ला तीन वर्षमा कृषि कार्यालयले तोरी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न बीउमा अनुदान दिन थालेपछि तोरी खेती हुने क्षेत्र र उत्पादन बढ्न थालेको छ ।

 

विषादीको प्रयोग भने घटेको छैन । विषादी प्रयोग गरिएको तोरी बारीमा मौरी चर्न गए मर्ने र लाखौंको क्षति हुने भएकाले कृषकले यहाँ मौरी चराउन्नन् । विषादी प्रयोग अत्यधिक बढेपछि यहाँका कृषक मौरी चराउन कपिलवस्तु, दाङ, रुकुम, रोल्पासम्म पुग्ने गरेको मौरीपालक महासंघले जनाएको छ ।

– विनोद त्रिपाठी