दुग्ध सहकारीलाई मिल्क एनालाईजर यन्त्र वितरण गरिने

This post has already been read 167 times!

काठमाडौं, माघ १४\  पशुपंछि बजार प्रबद्र्धन निर्देशनालयले दुधको गुणस्तर र स्वच्छता कायम गर्न दुग्ध सहकारीलाई मिल्क एनालाईजर यन्त्र वितरण गर्ने कार्यक्रम ल्याएको छ । सरकारले गएको पुष १ गते मिल्क एनालाईजर वितरण कार्यविधि पारित गरेपछि पहिलोचरणमा यो बर्ष २५ वटा सहकारीलाई वितरण गरिने निर्देशनालयका बरिष्ठ पशु बिकास अधिकृत डाक्टर माधवप्रसाद अर्यालले बताउनुभयो ।

 

Milk Analizer

अहिले देशका ६२ जिल्लामा एक हजार सात सय ७८ दुग्ध सहकारी संस्था छन् । सरकारले यी सबै संस्थालाई यन्त्र उपलब्ध गराउँदै लैजाने योजना बनाएको छ । तर मिल्क एनालाईजर यन्त्र प्राप्त गर्न कम्तिमा एक हजार लिटर दुध संकलन र चिलिङ्ग भ्याट भएको सहकारी हुनुपर्ने व्यबस्था गरिएको छ ।

 

मिल्क एनालाईजर यन्त्रले किसानलाई आफ्नो दुधको फ्याट, ल्याक्टोज र प्रोटिनको मात्रा विक्रिस्थलमा तुरुन्तै जानकारी दिन्छ । जसका कारण किसानले दुधको मुल्य पनि तुरुन्तै थाहा पाउने पशु उत्पादन निर्देशनालयका बरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले बताउनुभयो । यो यन्त्रले किसानले दुधमा पानी मिसाएको छ भने पनि त्यसकोे मात्रा छुट्टै देखाईदिने भएकाले दुधको स्वच्छतामा नियन्त्रण हुने पौडेलको भनाई छ ।

 

यसअघि सन् २००८ मा दुधालु गाईको वंश सुधार कार्यक्रम अन्र्तगत १४ जिल्लाका १५ सहकारीलाई यन्त्र वितरण गरिएको थियो । त्यस्तै सन् २०१० मा युएसएआईडीको सहयोगमा भैंसीको जातीय सुधार कार्यक्रम अन्र्तगत १० जिल्लामा एक–एक वटाका दरले यन्त्र वितरण गरिसकिएको छ ।

दुधको शुद्धता कसरि थाहा पाउने ?

सामान्यतया गाईको दुधमा ८७ प्रतिशत पानी र १३ प्रतिशत ठोस पदार्थ हुन्छ भने भैंसीको दुधमा ८० देखि ८२ प्रतिशत पानी र १८ देखि २० प्रतिशत ठोस पदार्थ हुन्छ । ठोस पदार्थ भन्नाले फ्याट, प्रोटिन र ल्याक्टोजको मात्रा हो । गाईको दुधमा ३.५ प्रतिशत र भैंसीको दुधमा ७ प्रतिशत फ्याट राम्रो मानिन्छ ।
यन्त्रको फाईदा–‘कन्डक्टिभिटी टेष्ट’

गाईभैंसीमा कुनैपनि पनि रोगले आक्रमण गर्ने जोखिम उच्च रहन्छ । जसका लागि पुर्व सतर्कता अपनाउँदा किसानलाई फाईदा पुग्छ । यसरि पुर्व सर्तकता अपनाउन मिल्क एनालाईजर यन्त्रको ठुलो भुमिका रहन्छ ।

 

यो मेशिनको माध्यमबाट कन्डक्टिभिटी टेष्ट गर्न सकिन्छ । जसले गाईभैंसीमा हुने थुनलोको सम्भावनालाई पहिल्यै थाहा पाउन सकिने पशु उत्पादन निर्देशनालयका बरिष्ठ पशु बिकास अधिकृत डाक्टर लोकनाथ पौडेल बताउनुहुन्छ ।

कन्डक्टिभिटी टेष्ट गर्दा गाईमा ६ भन्दा माथि र भैंसीमा ५ भन्दा माथि देखिएमा थुनेलो लाग्छ की भनेर किसानलाई सचेत गराउँछ । यदि थुनेलो लागिहाल्यो भने दुध बेच्ने किसानलाई ठुलो क्षती पुग्छ । त्यसैले लाग्नुभन्दा पहिल्यै उपचार विधि खोज्न मिल्क एनालाईजर यन्त्रको सहयोग लिन सकिन्छ ।