रेम्बो ट्राउट पालेर सामूहिक आम्दानी

यो समाचार 76 पटक पढिएको

काभ्रे,   माघ १४ \ परम्परागत कृषि पेसामै रमाइरहेका र्‍यालेका किसानका लागि रेम्बो ट्राउड माछा राम्रो आम्दानीको स्रोत बनेको छ । पाँच वर्षअघिसम्म जीवन निर्वाहकै लागि मात्रै किसानी गर्दै आएका यहाँ स्थानीयले सामूहिक रूपमा माछापालन सुरु गरेपछि ट्राउड राम्रो आम्दानीको स्रोत बनेको हो ।स्थानीय खानी खोलाको पानीलाई उपयोग गरेर माछा पालिरहेका उनीहरूले माछाबाट लगानीको तेब्बर मात्र आम्दानी गरिरहेका छन् । माने दोभान बचत तथा ऋण सहकारी संस्था र फुल्ाचोकी मानेदोभान र्फमद्वारा संयुक्त रूपमा रेम्बो ट्राउड माछापालन गरिरहेका हुन् ।

 

माछापालनमा ४ सय २७ जना स्थानीय किसानको संलग्नता रहेको छ । ७ हजार भुराबाट ट्राउड माछा पालन सुरु गरिएकामा यस वर्ष १६ हजार ५ सय पालिएको छ । माछापालन पोखरी निर्माणका लागि ११ लाख रुपैयाँ, सहकारीले ५ लाख रुपैयाँ र र्फममा संलग्न ३९ जना व्यक्तिले ५ लाख गरी २० लाख रुपैयाँ लगानी गरिएको छ । पोखरीमा ३ जना स्थानीयले रोजगारी समेत पाएका छन् ।

 

‘ट्राउड माछापालनलाई व्यावसायिक रूपमा अगाडि बढाइरहेका छौं,’ अगुवा पदम तामाङले कान्तिपुरसँग भनेे, ‘माछापालन थालेदेखि राम्रो आम्दानी भइरहेको छ ।’ आगामी वर्ष ३० हजार माछा पाल्ने उनले बताए । सिन्धुपाल्चोकको हाइबुङबाट माछाका भुरा ल्याउने गरिएको छ । सुरुका वर्ष प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री गरिँदै आएको माछा यो वर्ष १ हजार १ सय रुपैयाँमा पोखरीबाटै धमाधम बिक्री भइरहेको छ । ‘यो जातको माछाको माग धेरै आएको छ,’ उनले भने, ‘तर पोखरीबाट बेचेर भ्याई नभ्याई छ ।’ माछापालनलाई अझै ठूलो स्केलमा अगाडि बढाउन पुँजी र प्रविधिको खोजीमा रहेको उनले बताए ।

 

किसानहरूको आकर्षण देखेर कृषि कार्यालयले ५ लाख ५० हजार रुपैयाँ अनुदानसमेत उपलब्ध गराइसकेको छ । ट्राउड माछापालनमा किसानहरूको उत्साह देखेर नेपालमै पहिलो पटक हिमालय जनरल इन्स्योरेन्स प्रालिले २० लाख रुपैयाँ बराबरको माछाको बिमासमेत गरिदिएको छ ।

 

‘महँगो खाले माछा के हो के भन्ने धेरै थिए, सुरुका दिनमा धेरैले राम्रो कमाइ हुने विश्वाससमेत गरेका थिएनन्,’ स्थानीय बालकृष्ण तामाङले भने, ‘हामीले मेहनतका साथ कामलाई निरन्तर गतिमा अगाडि बढाइरह्यौं ।’ रेम्बो ट्राउड माछापालनबाट राम्रो आम्दानी हुने देखेर केही समययता किसानहरू त्यसमा आकषिर्त हुन थालेका छन् । ग्राहकले पोखरीमै गएर माछा मारेर खरिद गर्न पाउँछन् ।

 

‘ट्राउड माछापालन गरेदेखि यहाँको होटलमा समेत व्यापार बढेको छ,’ स्थानीय होटल व्यवसायी रामकुमार रञ्जितकारले भने, ‘माछा खानकै लागि आउने ग्राहक दैनिक बढिरहेका छन् ।’ माछा खानकै लागि ललितपुर, काठमाडौं, भक्तपुर, बनेपा र पनौतीबाट बढी मात्रामा ग्राहकहरू आउने गरेको उनले बताए ।

– मनोज बस्नेत

रचनात्मक प्रतिक्रिया दिनुहोस् :