खोरेत रोगबाट पशु मर्न थाले

यो समाचार 280 पटक पढिएको

काठमाडौं,  माघ १४ \ काभ्रेमा खोरेत रोगको संक्रमणबाट पछिल्लो ६ महिनामा ३१ वटा पशु मरेका छन्। खोरेतका कारण हालसम्म सातवटा गाई, ११ वटा भैंसी, सातवटा पाडापाडी र ६ वटा बाच्छी मरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ।

Animal Desease

विभिन्न गाविसमा पालिएका घरपालुवा पशुमा देखिएको खोरेत रोगको संक्रमण नियन्त्रणमा आउन सकेको छैन। जिल्ला पशु सेवा कार्यालयका अनुसार १६ वटा गाउँ विकास समितिमा पालिएका घरपालुवा पशुमा यो रोग देखिएको छ।

 

पछिल्लो समय पाँचखाल, बालुवा, खनालथोक, कुशादेवी, सस्र्युखर्क, मंगलटार, मेच्छे, नाला, खोपासी, शिखरआम्बोटे, मेथिनकोटलगायतका गाविसमा खोरेत रोग देखा परेको छ। च्याम्राङबेसीमा एक सय ५० भन्दा बढी पशुमा खोरेत देखा परेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गाई, भैंसी, बंगुर, पाढापाढी र बाख्रामा खोरेत रोग देखा परेको छ।

 

किसानले आफ्ना पशुमा वर्षमा दुईपटक खोरेत रोगविरु द्धको खोप लगाउनुपर्ने भए पनि नलगाएका कारण घरमा पालिएका पशुमा खोरेत रोग देखा परेको कार्यालयले जनाएको छ। किसानको हेल्चक्र्याइँका कारण ६ महिनाअघि खोरेत देखा परेका पशुमा समेत फेरि रोग देखिएको कार्यालयले जनाएको छ।

 

एकै घरका १६ गाईबस्तु मरे
धादिङ \ खोरेतले धादिङको सुनौलाबजार गाविस पिपलेमा एकै घरका १६ गाईबस्तु मरेका छन्। खोरेत रोगबाट यहाँका ६ घरमा पालिएका ३० भन्दा बढी पशु बिरामी भएका छन्। गर्मी याममा देखा पर्ने खोरेत रोग जाडो याममा देखा पर्न थालेपछि किसान चिन्तित भएका छन्। माघ ३ गते सुरु भएको खोरेत रोगले एकै घरका १६ वटा गाईबस्तु मरिसकेको सुनौलाबजारका किसान तेजबहादुर श्रेष्ठले बताए।

 

रोगबारे खबर गर्दा पनि जिल्ला पशु सेवा कार्यालय धादिङले बेवास्ता गरेको किसानको आरोप छ। उता जिल्ला पशु सेवा कार्यालय धादिङले भने गाईबस्तुमा खोरेत रोग लागेको खबर पाउनासाथ उपचारका लागि टोली खटाइएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख देवेन्द्र भगतले बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :