हाइब्रिड धानमा रोग लागेपछि क्षतिपूर्ति माग्दै किसान सडकमा

यो समाचार 118 पटक पढिएको

काठमाडौं, माघ १४\ चीनबाट आयातित हाइब्रिड (वर्णसंकर) डीवाई ६९ धानमा नेकब्लास्ट (बालामुनि कालो दाग आएर बाला नै भाँच्चिने रोग) लागेर पीडित किसान क्षतिपूर्ति माग्दै सडकमा उत्रिएका छन्। क्षतिपूर्ति नपाएको आक्रोशित बनेका किसानले अरनिको राजमार्गमा धर्ना दिई यातायात आवतजावत ठप्प पारे।

नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी किसान संघले नेतृत्व गरेको धर्नामा सहभागी किसानले क्षतिपूर्तिस्वरूप प्रतिरोपनी १२ मुरी धान उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले सरकारद्वारा गठित छानबिन समितिले कृषि मन्त्रालयलाई बुझाएको प्रतिवेदनसमेत जलाएका छन्। किसानलाई पनि दोषी ठहर गरिएको प्रतिवेदनमा क्षतिका लागि किसानले २५ प्रतिशत बेहोर्नुपर्ने उल्लेख छ।

धानमा लागेको रोगबारे अनुसन्धान गर्न गठित छानबिन समितिको प्रतिवेदन जलाउँदै भक्तपुरका किसान।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यस्तै प्रतिवेदनमा किसानलाई क्षतिपूर्ति नभई राहत उपलब्ध गराउनुपर्ने उल्लेख रहेको नेपाल क्रान्तिकारी किसान संघका अध्यक्ष एवं सभासद् डिल्लीप्रसाद काफ्लेले जानकारी दिए। ‘किसान कुनै वैज्ञानिक होइनन्। उनीहरूले बढी उत्पादन हुने जुन बीउ बजारमा छ, त्यही लगाए’, उनले भने, ‘वैज्ञानिक सरकारसँगै छन्। त्यसैले किसानलाई के गर्न हुन्छ, हुँदैन, उनीहरूले नै भन्नुपर्छ। सरकारले आफ्नो अकर्मण्यताको दोष किसानलाई दिन पाउँदैन।’

उनले सरकारले दाबी गरेअनुसार चिनियाँ धान डीवाई ६९ लगाउँदा प्रतिरोपनी १२ मुरी फल्ने भएकले सोही बराबरको धान किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे।

जिल्ला कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, कृषि विभाग हुँदै कृषि विकास मन्त्रालयसम्म क्षतिपूर्ति माग गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै आइतबार किसानले करिब दुई घन्टा राजमार्ग ठप्प पारेका हुन्। किसानको धर्नाका कारण राजधानी भित्रिने र बाहिरिने सयौं सवारीसाधन अरनिको राजमार्गमै रोकिएका थिए।

किसानसँग भएको पटकपटकको वार्तामा कृषिमन्त्री टेकबहादुर घर्तीले पीडितलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि पूरा नगरेपछि आफूहरू आन्दोलनमा उत्रन बाध्य भएको नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरका अध्यक्ष गोविन्द दुवालले बताए।

भक्तपुरमा चार हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। यसमध्ये बढी उत्पादन दिने लोभमा किसानले एक हजार तीन सय हेक्टरमा चिनियाँ डीवाई ६९, डीवाई १८ र डीवाई २८ जातको हाइब्रिड धान लगाएका थिए। भक्तपुरमा यी तीन जातको धानको १० टन बीउ बिक्री गरिएको थियो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :