गाई भारतको, दूध नेपालको !

This post has already been read 270 times!

दूधमा बढ्दो परनिर्भरता हटाउने उपाय

suman-panta

  • सुमनराज पन्त

मोरङ,  शनिश्चरेका प्रकाश रायले घरमा गाई पालेका छन् । दूध बेच्नु उनको पेशा हो । उनी गाउँकै दूग्ध सहकारीलाई प्रतिलिटर सरदर ३० रुपैंयाँमा दूध बेच्छन् । एउटा गाईले दैनिक ५ लिटरजति दूध दिन्छ । अनि दूध बेच्दा जम्मा पाउँछन् १ सय ५० रुपैंयाँ । जव कि गाईले खाने दाना, औषधि, गोठालो खर्च र दूध नदिँदाको अवधि हिसाब गर्ने हो भने उनी घाटामा छन् । भन्छन् ‘गाउँमा अरु काम छैन, बसीबियाँलो मात्र छ ।’

-सर्लाही, लालबन्दीका उत्तम तिमिल्सिनाले पनि साथीहरुको सल्लाहमा गाई पालन गरेको तीन वर्ष भयो । उनी अहिले गाईपालनबाट विरक्तिएका छन् । ‘डिडिसीले लिटरको ३०/३१ रुपैंयाँमा दूध लैजान्छ’ उनी भन्छन् ‘प्रतिलिटर दूधको लागत नै ४० रुपैंयाँ पर्दछ ।’

 

यता, काठमाण्डौका उपभोक्ताहरु भने डिडिसीले ३० रुपैंयाँ प्रति लिटरमा उठाउने दूध ५० र ५६ रुपैंयाँको दरले किन्छन् । ‘त्यो पनि पाउडर मिसाएको हुन्छ’ शान्तिनगरका एक उपभोक्ता भन्छन् ‘किसान र उपभोक्ता दुबै शोषणमा परेका छन् ।’

 

किसान र उपभोक्ता दुबै ‘ठगिएका’ नेपालमा अहिले दूधको चरम अभाव सुरु भएको छ । पर्याप्त दूध आपूर्ति नहुँदा एकातिर धूलो दूध मिसाएको ‘प्रशोधित’ दूध बजारमा आइरहेको छ भने भारतबाट पनि दैनिक एक लाख लिटर दूध आयात भइरहेको छ । दूधको उत्पादन बढी हुने फ्लस सिजनमै यस्तो अभाव हुनु पक्कै पनि सुखद होइन । नेपालमा असोजदेखि फागुनसम्म दूध उत्पादन बढी हुने गर्छ ।

 

शहरीकरणसँगै प्रशोधित दूधको माग बढेको छ । तर, आन्तरिक उत्पादनले देशको माग धान्दैन ।

 

वर्षेनी बढ्दो माग सम्बोधन गर्न दूध परनिर्भरता बढेको छ । तर समस्या समाधानको ठोस पहल भएको छैन । सरकार र दात्तृ निकायले बेलाबखत निकालेको कार्यक्रमहरु पनि धेरैजसो ‘कनिका छराइ’ भएको किसानको गुनासो छ ।

 

नेपालको दूध भारततिर

पशुपालनका लागि पर्याप्त अवसर नेपालमै नभएको होइन । तर, पनि किन भइरहेको छैन दूग्ध उत्पादन ? यसको कारण एउटै छ, किसानले लागतअनुरुप मोल नपाउनु र डीडीसीलाई दिनेभन्दा बढी मूल्यमा गाउँघरमै किसानले भाऊ पाउनु । सहरीकरणउन्मुख गाउँघरमा खुलेका होटल, साना डेरी पसलहरुले उच्च मूल्य दिइरहेका छन् । अझ, भारतीय सीमाना जोडिएका क्षेत्रमा त किसानले स्थानीय बजार पनि ताक्दैनन् । नेपालमा पाउनेभन्दा डेढ गुणासम्म मूल्य भारतीय डेरी तथा ग्वालाहरुले नै दिने भएपछि को बेच्न चाहन्छ यहाँ ? त्यसैले किसानले मात्र होइन, जो कोही पनि बढी भाऊ पाउने ठाउँको खोजीमा हुन्छन् ।

 

अर्को कुरा, नेपालका किसानले सर्वाधिक भोगेको समस्या उन्नत नश्लका पशु अभाव हो । यहाँ शुद्ध नश्लका पशु पाउन हम्मे पर्छ । कृत्रिम गर्भाधानका लागि वीर्य -सिमेन) अभाव पनि भइरहन्छ । व्यावसायिक डेरी फार्म गर्न कम्तिमा १० लिटर दूध दिने गाई चाहिन्छ । तर, हाम्रा किसानले पाल्ने गाईले सरदर ५ लिटर दूध दिन्छन् ।

 

उच्च नश्ल भनिएका होलिस्टन, ब्राउन स्वीस, जर्सीजस्ता गाईहरु नेपालमै संकलन गरेर पनि किसानले पालिरहेका छन् । तर, ती पशुहरु ‘इनबि्रडिङ’ र लोकल साँढेसितको संसर्गले बढी जन्मिएका छन् । यसले गर्दा तिनीहरुमा खर्च हुने आहारको तुलनामा दूग्ध उत्पादकत्व कम हुने गर्दछ ।

 

कति छन् गाई भैंसी ?

अहिले नेपालमा १ लाख गाई र १३ लाख भैंसी रहेको तथ्यांक छ । तर, गाईमा उन्नत पशु छनौट गर्ने चलन सुरु भएपनि भैंसीका उन्नत नश्ल खोज्ने गरिएको छैन ।

 

भैंसीपालनको अवस्था पनि उत्साहप्रद छैन । अहिले पनि कम उत्पादत्वका भैंसीपालन हुने क्रम घटेको छैन । त्यस्तै, भैंसीले दिने दूधको परिमाण कम हुने, छिटै थाक्ने र दूधको उत्पादकत्वको अनुपातमा आहार खर्च बढी हुने गरेकाले यसको व्यवसायिक पालन कमैले गरेका छन् ।

 

दुग्ध उत्पादनका समस्या र समाधानका उपाय

पशुपालनका क्रममा भोग्ने जटिल समस्या चरन स्थलको कमी पनि हो । धेरैले गहुँको चोकर, पराल र खेतबारीमा चराएको भरमा पालन गर्दै आएका छन् । उन्नत घाँस खेती गर्ने र घाँसमा आधारित पशुपालन खासै नभएकाले दूधको उत्पादन लागत बढेको छ । यसका लागि सरकारले सार्वजनिक जमीन, सामुदायिक वन तथा पर्ती जमीनहरुमा उन्नत घाँसखेती प्रवर्द्धनमूलक कार्यक्रम लागू गर्नुपर्छ । किसानले आफ्नो नम्बरी जमीनमा अनाज तथा नगदेवाली गर्ने हुँदा घाँस खेतीको लागि जमीन अभाव हुने गरेको छ । घाँसखेतीको तुलनामा अनाज र नगदेवाली सुरक्षित र नाफामूलक मानिन्छ ।

 

त्यस्तै, किसानले भोगेको अर्को समस्या लागतअनुरुप दूधको मूल्य नपाउनु पनि हो । डेरी उद्योगहरुले दूधको ल्याक्टो, फ्याट र परिमाणको आधारमा मूल्य तोक्ने गर्दछन् । तर गुणस्तरीय दाना र चरन अभावले चौपायाले मापदण्डबमोजिम ल्याक्टो, फ्याट दिन छाडेका छन् ।

 

सरकारले चौपायाको आहार व्यवस्थापनमा सहुलियत प्रवाह गर्नुपर्दछ । साथै, किसानको लागत सम्बोधन हुने गरी दूधको समर्थन मूल्य तोकिनुपर्छ । जबसम्म किसानले लागत नै पाउँदैनन्, तबसम्म उनीहरुको उत्साह बढ्दैन । गर्नेले पनि गुजारा र वैकल्पिक पेशाको रुपमा पशुपालन गर्दछन् ।

 

उन्नत नश्लका पशु अभाव टार्न केही उपाय अपनाउन सकिन्छ । यसको समाधान गर्न भारत, चीनजस्ता मुलुकबाट उन्नत नश्लका चौपाया आयात गर्न सकिन्छ । भारतबाट पतञ्जली योगपीठका स्वामी रामदेवले एक लाख उन्नत गाई निःशुल्क सहयोग गर्ने वाचा गरेका थिए । तर, सरकारी तहमा समन्वय नहुँदा प्रस्तावित सहयोग अलपत्र परेको छ । यस्ता सहयोगको प्रबन्ध गर्नुको साथै नेपाली किसानले भारतबाट चौपाया भित्र्याउने कानुनी अड्चन पनि फुकाउनुपर्छ । अहिले भारतले चौपाया निर्यातमा प्रतिवन्ध लगाएको छ ।

 

अहिले कतिपय मुलुकमा चौपायामा उन्नत नश्लका बाछीको भू्रण -इम्बि्रयो) नै प्रत्यारोपण गर्ने चलन छ । यसरी प्रत्यारोपणबाट जन्मिने बाछीमा ९० प्रतिशत मूल गुण आउने हुँदा फाइदामूलक हुन्छ । नेपालमा पनि भ्रूण प्रत्यारोपणको अभ्यास गर्न सकिन्छ ।

 

खुसीको कुरो, नेपालको कृषिमा युवा सहभागिता बढ्दो छ । पढेलेखेका युवाहरु धमाधम कृषिमा सहभागी हुन थालेका छन् । तर सबैको एउटै गुनासो छ, पशुको उत्पादकत्व कम भयो । अब सरकारी नेतृत्वमा बसेकाहरुले पशुको उत्पादकत्व बढाउने योजना लागू गर्नुपर्‍यो । साथै, किसानको लागत सम्बोधन हुनुपर्‍यो । जबसम्म पशुको उत्पादकत्व बढाउने र किसानको लागत सम्बोधन हुँदैन तबसम्म नेपालमा दूध परनिर्भरता बढिरहन्छ ।

अनलाइनबाट