सिजनमै दूध अभाव

This post has already been read 139 times!

” भारतबाट दैनिक १ लाख लिटर आयात “

काठमाडौं,   माघ १४ \  तरल दूध उत्पादन गर्दा मिसाइने धुलो दूध (एसएमपी)को मूल्य दोब्बर बढेपछि यो वर्ष सिजनमै दूध अभाव भएको छ । कृषकबाट संकलन गरिने मात्रा घटेपछि बजारमा पु¥याउने तरल दूधको माग पूरा गर्न भारतबाट दैनिक १ लाख लिटर आयात हुन थालेको छ । नेपालमा असोज–कात्तिकदेखि माघ–फागुनसम्म (फल्स सिजन) वर्षायामभन्दा बढी दूध उत्पादन हुन्छ ।

सिजनमै दूध अभाव

एसएमपीको मूल्य गत वर्ष प्रतिकिलो ३ सय २० रुपैयाँ रहेकोमा बढेर अहिले ६ सयसम्म पुगेको छ । कृषकबाट लिने कच्चा दूधमा एसएमपी मिलाएर बजार पठाइन्छ । अहिले दूधको माग बढी भएपछि साना डेरीले कृषकसँग सिधै सम्पर्क गरेर कच्चा दूध लिने गर्दा ठूला डेरीले एसएमपी र तरल दुबै दूधको उत्पादन घटाएका छन् ।
दैनिक बजारमा पठाइने तरल दूध उत्पादन घटेपछि माग पूर्ति गर्न दुग्ध विकास संस्थान (डीडीसी), सुजल डेरी र र चितवन मिल्कले १ महिनायता भारतबाट आयात गर्न थालेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
एसएमपीको मूल्य बढेकाले साना डेरीले कृषकको घर–घर पुगेरसमेत दूध संकलन गर्न थालेको बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले बताए । “पाउडरको मूल्य बढेपछि साना डेरीले कृषकबाट प्रत्यक्ष रूपमा खरिद गर्ने दूधको मात्रा बढाएका छन्,” उनले भने, “एसएमपी प्रयोग गर्ने हो भने उत्पादन लागत हालको बिक्री मूल्यभन्दा पनि बढी हुने भएकाले सिधै तरल दूध खरिद गर्नु उनीहरूको बाध्यता पनि हो ।”
डीडीसीले यसअघि भारतको पटनाबाट दैनिक २० हजार लिटर दूध आयात गर्दै आएकोमा आइतबारदेखि बढाएर ४० हजार लिटर पु¥याएको छ । निजी डेरीले भने ६० हजार लिटर आयात गरिरहेका छन् । नेपालभन्दा भारतमा मूल्य बढी भएकाले सीमा क्षेत्रबाट भारततर्फ दूध निकासी हुँदा पनि यहाँ अपुग भएको व्यवसायी बताउँछन् ।
“कृषकले नेपालमा प्रतिलिटर ३२ रुपैयाँ पाउँछन् भने त्यही दूधले भारतमा ३२ भारु पाउँछ,” डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहाल भन्छन्, “मूल्य बढी पाएपछि सीमा क्षेत्रबाट भारततर्फ दूध बिक्री गर्दा यताको आपूर्ति प्रभावित बनेको छ, त्यसमाथि एसएमपीको मूल्य बढ्नाले थप समस्या देखिएको छ ।”
गाईवस्तुको दाना, पेट्रोल, ढुवानी, कर्मचारीको तलब आदिसमेत बढेकाले समयानुकूल दूधको मूल्य समायोजन गर्नुपर्ने उनले बताए । केही महिनाअघि दूधमा कोलिफर्मको हल्लाले नयाँ व्यवसायी कम थपिएका कारण पनि उत्पादनमा कमी आएको दाहालको तर्क छ ।
तरल दूध अभाव हुनुको कारण र समाधानको उपाय सुझाउन कृषि विकास मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । “दूध अभाव भएको पक्का हो, यसको कारण पत्ता लगाउन समितिले छानबिन गरिरहेको छ,” मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले भने, “समितिको सुझावअनुसार आवश्यक कदम चाल्नेछौं ।” दूधको मूल्य समायोजन र उत्पादन लागत घटाउने खालका कार्यक्रमलगायतका विषयमा मन्त्रालयले निर्णय लिने पनि उनले बताए ।
गत आवमा १६ लाख मेट्रिक टन दूध उत्पादन भएको बोर्डको तथ्यांक छ । यो उत्पादन अघिल्लो वर्षभन्दा ४ प्रतिशतले बढी हो । चालू वर्ष पनि कम्तीमा ४ प्रतिशतले उत्पादन बढ्ने बोर्डको अनुमान छ ।
नेपालमा दूध दिने गाई करिब १ लाख र भैंसी १३ लाख रहेको तथ्यांक छ । हाल नेपालमा दैनिक १० लाख लिटरभन्दा बढी दूधको माग छ ।किन भयो अभाव
पाउडर दूध (एसएमपी)को मूल्य दोब्बर बढ्नाले
बढी मूल्य पाइने हुँदा भारतमा बिक्री गर्ने क्रम बढ्यो
दूध उपभोग गर्ने संख्या बढ्दा खपत बढ्यो
मागको तुलनामा उत्पादन कम
कोलिफर्मको हल्लाले नयाँ व्यवसायी थपिएनन्

कारोबारबाट