दोब्बर भयो आँटाको उत्पादन

This post has already been read 90 times!

” वार्षिक २ लाख ४० हजार मेटन उत्पादन”
काठमाडौं । नेपालमा पछिल्लो ३ वर्षमा आँटा (गहुँको पिठो)को उत्पादन दोब्बर भएको छ । नेपाली उपभोक्तामा बेलुकाको खानामा रोटी खाने प्रचलन बढेपछि आँटाको माग तथा उत्पादन बढेको गोल्छा अर्गनाइजेशनअन्तर्गतको भूदेव खाद्य उद्योगका सञ्चालक सुरेन्द्र गोल्छाले बताए । ‘अहिले वार्षिक २ लाख ४० हजार मेट्रिक टन आँटा उत्पादन हुन्छ,’ उनले भने, ‘आगामी वर्षहरूमा यसको उत्पादन अझ बढ्ने देखिन्छ ।’ अहिले नेपाली उद्योगहरूले २ किलोग्रामसम्मका साना प्याकमा पनि आँटा उत्पादन गर्ने गरेका छन् । केही वर्षदेखि चक्की आँटा (चोकर ननिकालिएको पिठो)को माग पनि अधिक रहेको उनको भनाइ छ ।
Pitho
हाल नेपालमा मिल आँटा र चक्की आँटा उत्पादन हुने गरेको छ । त्यसमा पनि मिल आँटाको उत्पादन बढी छ । मिल आँटाबाट सुजी पनि उत्पादन गर्न सकिन्छ । तर, चक्की आँटालाई गहुँबाट सीधै उत्पादन गरिने हुँदा यो बढी प्रोटिनयुक्त हुन्छ । त्यसैले यसको माग र उत्पादन दर बढेको गोल्छा बताउँछन् । नेपालमा उत्पादित आँटामध्ये ६० प्रतिशत मिल आँटा र ४० प्रतिशत चक्की आँटा हुने गरेको पनि व्यवसायीहरू बताउँछन् ।

हाल नेपालमा करीब १५ ओटा आँटा उद्योग (फ्लोर मिल) सञ्चालनमा छन् । त्यसमा केएल दुगड समूहअन्तर्गतको विकास फ्लोर मिल्स र गोल्छा अर्गनाइजेशनअन्तर्गतको भूदेव खाद्य उद्योग ठूलो परिमाणमा आँटा उत्पादन गर्ने उद्योग हुन् । विकास फ्लोर मिल्सले अहिले मैदा र आँटा गरी दैनिक ५० देखि ६० मेट्रिक टन उत्पादन गर्दै आएको छ । यसले मैदा तथा आँटालाई २ देखि ८० किलोग्रामसम्मको प्याकमा उपलब्ध गराएको छ । यस्ता आँटालाई कम्पनीले अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन र बङ्गलादेशमा समेत निर्यात गर्दै आएको केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगडले अभियानलाई जानकारी दिए ।

अहिले नेपालमा वार्षिक करीब १२ अर्ब रुपैयाँ बराबरको आँटामात्र खपत हुने गरेको व्यवसायीहरू बताउँछन् । त्यसमा विकास फ्लोर मिल्सले मात्रै वार्षिक २ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गर्ने बताएको छ । आँटा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ गहुँको ६० प्रतिशत आपूर्ति आन्तरिक उत्पादनबाटै हुने गरेको छ । बाँकी ४० प्रतिशत भने भारतबाट आयात गर्ने गरिने दुगडको भनाइ छ ।

आँटाको माग बढ्दै गएपछि उत्रत गहुँखेती गर्न थालिएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले मकवानपुरको हेटौंडाबाट वार्षिक ६ सय टन उत्रत जातको गहुँको बीउ उत्पादन गरी किसानलाई विक्री गर्दै आएको कम्पनीले बताएको छ । चालू आवदेखि त्यो परिमाणलाई बढाएर वार्षिक १ हजार ८ सय टन पुर्‍याउन लागिएको कर्पोरेशनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् । यस विषयमा कर्पोरेशनको सञ्चालक समितिले निर्णय गरिसकेको उनले बताइन् ।