पाँचथरको मुलाको बजार विस्तार हुँदै

यो समाचार 134 पटक पढिएको

पाँचथर, १६ पुस । पाँचथरको फिदिम नगरपालिका–३, को मझुवा, सिलौटी, डोजरडाँडा, सिम्ले क्षेत्रमा मुलाको उत्पादन वृद्धि भएको छ । यहाँका कृषकले व्यावसायिक रुपमै मुला खेती गर्न थालेकाले गत वर्षभन्दा यसपालि ५० प्रतिशतभन्दा बढी मुला उत्पादन भएको किसानले बताएका छन् । अर्गानिक मुलाले राम्रो बजार पाउँदै गएपछि यसको खेतीमा किसानको आकर्षण बढेको हो । यहाँ फलेको मुला पोहोर २०० गाडी निर्यात भएकामा यो वर्ष ४०० गाडी निर्यात भएको छ ।


चार सय गाडीबाट एक हजार मेट्रिक टनसम्म मुला बिक्री भएको स्थानीय व्यापारी मचिन्द्र सुनुवार मुखियाले सुनाए । उनले भने, “मुला प्रतिकिलो रु १५ देखि १९ सम्ममा बिक्दा रु एक करोड ८० लाख बढी आम्दानी भएकोे छ ।”

यहाँ उत्पादित मुला फिदिमको शनिबारे बजार, इलामको पशुपतिनगर, झापा, विराटनगर, भारतको सिलगुडीसम्म पुग्ने सम्बद्ध व्यापारी बताउँछन् । यस क्षेत्रमा पाँच वर्षअघिदेखि थालिएको मुला खेतीले राम्रो बजार पाउँदा अहिले यसको बिस्तार भएको हो ।

मेची राजमार्ग आसपासका मझुवा, सिलौटी, डोजरडाँडा, सिम्लेका १ सय ५० भन्दा बढी परिवारका किसानले आलुपछि राम्रो आम्दानीको स्रोतका रुपमा मुला रोप्ने गरेका हुन् ।

मुला खेती थालेदेखि परिश्रमको फल छिटो खान चाहे मुलै रोप्नु पर्दोरहेछ भन्ने ज्ञानसमेत मिलेको सुस्मिता सुनुवारले सुनाए । मुला रोपेको दुई महिनाभित्रमा फलेर विकी सक्ने, सिँचाइको आवश्यकता नपर्ने र फुर्फुराउँदो माटो रहेको ओसिलो स्थान राम्रो हुने हुँदा मझुवा, सिलौटी, डोजरडाँडा, सिम्लेमा मुला फस्टाउने गरेको छ । मुला रोपेपछि सामान्य गोडमेलबाहेक अरु झन्झट गरिरहनु नपर्ने हुनाले यसलाई सरल खेती मानिन्छ । सजिलो खेती भएका कारण यसप्रति प्रायः गृहिणी महिलाको बढी लगाव रहेको पाइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :