सय स्थानमा तरकारी सङ्कलन केन्द्र स्थापना हुँदै

यो समाचार 223 पटक पढिएको

काठमाडौँ,    काठमाडौं, १२ माघ \ सरकारले मुलुकका १०० स्थानमा सामुदायिक फलफूल तथा तरकारी सङ्कलन तथा थोक बजार स्थापना गर्ने भएको छ ।कृषि उपजको सहज सङ्कलन तथा बिक्री वितरणका लागि त्यस्ता बजार स्थापना गर्न लागिएको कृषि विकास मन्त्रालयका प्रवक्ता टेकप्रसाद लुईंटेलले जानकारी दिनुभयो ।स्थानीय क्षेत्रमा उत्पादित कृषि उपजलाई सहज तवरले बजारमा पठाउने र कृषि क्षेत्रलाई व्यावसायिक बनाउने र स्थानीयस्तरमै रोजगारी तयार गर्ने ध्येयका साथ सामुदायिक रूपमा त्यस्ता बजार र सङ्कलन केन्द्र स्थापना गर्न लागिएको हो ।

सरकारले चालु आवको बजेट वक्तव्यमा कृषि उपजको सहज बिक्री वितरणका लागि १०० वटा केन्द्र स्थापना गर्ने लक्ष्य राखेको थियो ।

Vegetable market

त्यस्ता केन्द्रहरू चालु आवभित्र स्थापना गरिनेछ । मन्त्रालयका अनुसार त्यस्ता बजारमध्ये ५१ वटाको त सम्झौतासमेत सम्पन्न भइसकेको छ । मोरङमा पाँच, धनुषामा छ, सिन्धुलीमा दुई, रौतहटमा आठ, भक्तपुरमा एक, सिन्धुपाल्चोकमा तीन, नवलपरासीमा दुई, रूपन्देहीमा सात, गुल्मीमा पाँच, कास्कीमा एक, बाग्लुङ तीन, लम्जुङ सात, बझाङमा एक गरी ५१ वटा केन्द्र सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

 

बाँकी रहेका ४९ वटाको समेत आगामी फागुनभित्र सम्झौता सम्पन्न हुने मन्त्रालयले जनाएको छ । स्थानीय सहकारी, कृषि उपभोक्ता समूह, कृषक तथा कृषि क्षेत्रमा काम गरिरहेकालाई नै त्यस्ता केन्द्र स्थापनाका लागि आग्रह गरिएको र त्यस्ता केन्द्रलाई जिल्ला कृषि विकास कार्यालयमार्फत आवश्यक सहयोग उपलब्ध गराइने छ ।

 

यस्तै, कृषि सहकारी र कृषक समूहलाई उत्पादित अलैँचीको प्रशोधनका लागि ड्रायर मेसिन खरिद गर्न समेत पूँजीगत अनुदान दिइने भएको छ । सो कार्यक्रम अनुसार पहिलो चरणमा लम्जुङ जिल्लाका लागि १२, गोरखामा तीन, दोलखामा नौ, रामेछापमा दुई, सिन्धुपाल्चोकमा एक ललितपुरमा एक र सोलुखुम्बुमा दुई गरी १८ वटा कृषक समूहलाई डबल ड्रम अलैची भट्टी प्रदान गरिसकिएको छ ।

 

यस कार्यक्रममा लागि मन्त्रालयले रु दुई लाख पचास हजारदेखि पाँच लाखसम्म पूँजीगत अनुदान दिएको छ । यस्तै अलैँची खेतीका लागि प्रख्यात मानिएका पूर्वाञ्चलको इलाम, पाँचचर, झापालगायतका जिल्लामा पनि जिल्ला कृषि विकास कार्यालयमार्फत प्रस्ताव आह्वान गरिसकिएको छ । केही समयभित्रै ती जिल्लामा समेत सम्झौता गरिने छ ।कृषि क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने ध्येयका साथ मन्त्रालयले प्रविधिक सामग्रीहरूको सहज पहुँच उपलब्ध गराएको प्रवक्ता लुईंटेलको भनाइ छ । रासस

रचनात्मक प्रतिक्रिया दिनुहोस् :