तरकारी खेतीबाट बार्षिक ४५ लाख आम्दानी

यो समाचार 236 पटक पढिएको

कुश्मा, १३ पुस । कुश्मा नगरपालिका –३ आम्वोटेमा पाँच वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेका लालबहादुर हरिजनले वार्षिक ४५ लाख रुपैयाँ आम्दानी गरेका छन् । १५ रोपनी जग्गा भाडामा लिएर नमुना अर्गानिक फर्म संचालन गरेका हरिजनले गत वर्ष रु ३५ लाख र यस वर्ष ४५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको बताए ।

उनले जैविक प्रणालीवाट तरकारी खेती गर्दै आएका छन् । फार्ममा बाह्रैमास गोलभेडा खेती, मौसम अनुसारका तरकारी, माछापालन, केरा खेती र कुखुरापालन गरिएको छ । साथै फार्ममा काक्रा, घिरौंला, बोडी, सिमी, भेण्टा , खुर्सानी, साग, काउली, बन्दा लगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुने गरेको छ । उनले एउटै गोलभेडाको बोटबाट २० किलोसम्म उत्पादन गरेको बताए ।

हरिजनले पर्वतमै पहिलोपटक बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ भित्र्याएर सफल परिक्षण गरेका छन् ।

हरिजनको फार्ममा उत्पादित तरकारी सदरमुकाम कुश्माबजार, डिमुवा, आम्वोटे, गिज्यान र छिमेकी जिल्ला पोखरामा समेत विक्रि हुने गरेको छ । पोखरा–बागलुङ राजमार्गको छेवैमा रहेको फार्ममा उत्पादित वस्तु ढुवानीमा कुनै समस्या नरहेको बताइएको छ । उनको फार्मलाई जिल्ला कृषि विकास कार्यालयले २० लाख रुपैया आर्थिक सहयोग र प्राविधिक सहयोग समेत गर्दै आएको छ । फार्ममा चक्रिय प्रणालीमा तरकारीहरु लगाउने गरिएको उनले बताए । उनको फार्ममा अन्य दुई जनाले रोजगारी पाएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :