‘भ्रष्टाचारले बढायो खाद्य असुरक्षा’

यो समाचार 195 पटक पढिएको

काठमाडौं, ११ माघ\ नेपालमा मौलाउदो भ्रष्टाचारले खाद्य असुरक्षालाई बढावा दिएको सरोकारवालाले बताएका छन् । शनिवार ललितपुरको हिमालयन होटेलमा आयोजित कार्यक्रममा बोल्दै खाद्य अधिकारकर्मी तथा सरोकारवालाले सुरक्षा नेपालमा खाद्य संप्रभुताको लागि भ्रष्टाचारले नकारात्मक भूमिका खेलीरहेको बताए हुन् ।
Fienअनियमितताको कारण बजारमा गुणस्तरहीन खाद्यान्न विक्री हुँदा खाद्य सुरक्षा जोखिममा परेको राष्ट्रिय मानव अधिकार आयोगका कार्यकारी सचिव वेदप्रसाद भट्टराईले बताए । “खाद्य अधिकार मानिसको नैसर्गिक अधिकार हो, तर नेपालमा खाद्य सुरक्षाको अवस्था नाजुक बन्दै गएको छ,” फुड फर इन्फर्मेसन एण्ड एक्सन नेटवर्क (फियान) नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “कमजोर क्वारेन्टाइनको कारण गुणस्तरहीन सामान बैध तथा अबैध रुपमा आयात हुँदा त्यस्तो खाद्यान्न उपभोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको छ ।” फियान नेपाल खाद्य संप्रमुखताको लागि वकालत गर्ने जर्मनीमा स्थापित फियान–इन्टरनेशनलको नेटवर्कको रुपमा काम गर्ने संस्था हो ।
उनले क्वारेन्टाइनमा कडाइ नहुँदा केही समयअघि भैरहवा नाकाबाट भित्रिएको गुणस्तहीन चामल उपभोग गर्दा पश्चिम नेपालमा ३ सय ९४ जनाको मृत्यु भएको बताए । आयोगले गरेको अनुसन्धानले ती नागरिकको मृत्युको कारण गुणस्तरहीन चामल रहेको उनले जानकारी गराए । संवैधानिक निकाएको रुपमा मानव अधिकार आयोगले खाद्य अधिकारका मुद्दालाई प्राथमिकता दिएको र कतिपय मुद्दाहरु सरकारका गतिविधीमा निर्भर हुने भएकाले यसतर्फ सचेत रहन सरकारलाई आव्हान गरे ।
बजारको अव्यवस्थित वितरणको कारण नेपालमा उपभोक्ता ठगिनुपरेको र खाद्य सम्प्रभुता थप चुनौतिपूर्ण बन्दै गएको खाद्य अधिकारकी अभियन्ता यमुना घलेले बताइन् । “धादिङमा १३ रुपैया किलो पाइने घिरौला काठमाडौंमा ३९ रुपैयामा किन्नुपर्छ, बजार अव्यवस्थित छ,” फियान नेपालकी सल्लाहकार समेत रहेकी उनले भनिन्, “अर्को महत्वपूर्ण अधिकार पोषणको हो तर पनि यसतर्फ सरकार गम्भीर भएको पाइदैन ।” नेपालमा स्रोत, साधन र आर्थिक समस्या नभएको तर सक्षम निकाय र नीति नियमको कार्यान्वनमा देखिएको समस्याले खाद्य सम्प्रभुतामा प्रश्न चिन्ह खडा भएको उनले बताइन् । नेपालको अन्तरिम संविधान २०६३ मा खाद्य संप्रभुताको बारेमा उल्लेख गरेको प्रसंग कोट्याउदै उनले बन्ने नयाँ संविधानमा पनि यसले निरन्तरता पाउनुपर्ने जोड दिइन् ।
फियान इन्टरनेशनलका उपाध्यक्ष डा. प्रेम दंगालले २५ प्रतिशत नेपाली आधा पेट खाएर बसेको बताए । “राज्यले खुला बजारको नीति लागू गरेपछि नेपालमा खाद्य अधिकार खुम्चीएको छ,” उनले भने, “मोन्स्यान्टो जस्ता बहुराष्ट्रिय कम्पनीका अधिकांस विउ जिएमओ हुन्छन्, यस्ता विउले पनि नेपालको खाद्य संकटलाई बढावा दिने भएकाले सजक हुनुपर्छ ।” कृषकको अधिकार स्थापीत गराउन नीतिगत सुधारको खाँचो रहेको उनले बताए । दंगालले खाद्य सुरक्षा र खाद्य अधिकारको विषयमा विद्यावारिधी समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघका महासचिव गोपाल लम्साल, काठमाडौं जिल्लाका स्थानीय विकास अधिकरी प्रेमराज जोशी, पूर्व सभासद शान्ता जिरेल लगाएतले खाद्य अधिकार, खाद्य संप्रभुता, खाद्य सुरक्षा लगाएतको विषयमा सबै पक्ष सजक रहनुपर्ने बताएका थिए ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :