चलेनन् जीनब्यांक र प्रयोगशाला

यो समाचार 210 पटक पढिएको

काठमाडौं,  माघ ११\ चौबीसै घन्टा विद्युत् आवश्यक पर्ने कृषि अनुसन्धान केन्द्रले लोडसेडिङका कारण पूर्ण क्षमतामा प्रयोगशाला सञ्चालनमा ल्याउन सकेको छैन। अधिकांश कृषि, खाद्य तथा पशुसम्बन्धी प्रयोगशाला अहिले थन्किएका छन्।Loadsedding

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जिन ब्यांक) सहित, नार्ककै अन्य महत्त्वपूर्ण ११ वटा प्रयोगशाला, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विभाग, पशुसेवा तथा पशुसेवा स्वास्थ्य निर्देशनालय, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र, बाली संरक्षण, तरकारी विकास, फलफूल विकास निर्देशनालयलगायतका तीन दर्जनभन्दा बढीको संख्यामा रहेका प्रयोगशाला पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिएको छैन। यसकारण अनुसन्धान क्षेत्र नै प्रभावित भएको छ।

 

कतिपय निकायले महत्त्वपूर्ण प्रयोगशाला सञ्चालनका लागि चौबीसै घन्टा विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक रकम उपलब्ध गराए पनि उनीहरूले बिजुली पाएका छैनन्। खुमलटारस्थित नार्कको राष्ट्रिय जीन ब्यांकले यसका लागि नेपाल विद्युत् प्राधिकरणलाई दुई वर्षअघि एक करोड ८५ लाख रुपैयाँ उपलब्ध गराए पनि हालसम्म त्यहाँ विद्युत् आपूर्ति हुन सकेको छैन।

 

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि आफ्नो केन्द्रीय प्रयोगशालाका लागि नियमित विद्युत्का दिन दुई महिनाअघि २७ लाख रुपैयाँ प्राधिकरणलाई बुझाए पनि सुविधा उपलब्ध गराइएको छैन।

 

ब्यांकका प्रमुख डा. मदनराज भट्ट भन्छन्, ‘हाम्रो प्रयोगशालालाई चौबीसै घन्टा नियमित रूपमा विद्युत् चाहिन्छ। तर लोडसेडिङका कारण सय बर्षसम्म बीउ संरक्षण गरेर राख्ने प्रयोगशाला सञ्चालनमा ल्याउन सकिएको छैन। विद्युत्को अभावमा हाल १५ वर्षसम्म संरक्षण गरेर राख्ने प्रयोगशालालाई मात्रै सञ्चालनमा ल्याइएको छ।’

 

ब्यांकका प्रशासकीय अधिकृत विष्णु राणाका अनुसार ब्यांकको प्रयोगशालालाई नियमित रूपमा चौबीसै घन्टा गरेर तीन सय केभीको विद्युत् आवश्यक छ। ‘तर हामीलाई हाल एक सय ५० केभीको विद्युत् लोडसेडिङो रूपमा प्राप्त भइरहेको छ। यसले गर्दा पूर्ण रूपमा प्रयोगशाला सञ्चालनमा ल्याउन नै कठिन भएको छ’, राणाले भने, ‘प्राधिकरणमा धेरै पटक ताकेता गर्दा पनि हालसम्म विद्युत् आपूर्ति हुन सकेन।’

 

उनका अनुसार लगनखेलस्थित विद्युत् वितरण केन्द्रदेखि नार्कको हातासम्म अन्डरग्राउन्ड तार ओछ्याउने काम सम्पन्न भए पनि विद्युत् आपूर्ति गरिएको छैन। जिन ब्यांकमा अहिले खाद्यान्न, दलहन र तरकारीबालीका ६२ जातको नौ हजार आठ सय ३० वटा स्थानीय जातका बीउ संकलन गरेर राखिएको छ।

 

नार्ककै वरिष्ठ वैज्ञानिक मनोज ठाकुरका अनुसार लोडसेडिङका कारण माटो विज्ञान, पोषण, तन्तु विज्ञान, बीउ विज्ञान, पशु विज्ञान, बीर्य विज्ञान, कीटनाशक, जैविक प्रविधिलगायत एघारवटा महाशाखाअन्तर्गतका प्रयोगशाला पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। ‘यस्ता प्रयोगशालालाई चौबीसै घन्टा विद्युत् आवश्यक भए पनि हाल केही घन्टामा मात्रै उपलब्ध हुने ऊर्जाका कारण अनुसन्धान क्षेत्र प्रभावित बनेको छ’, वैज्ञानिक ठाकुरले भने।

 

यसबाहेक लोडसेडिङका कारण दैनिक गतिविधि, प्रशासनिक र प्रविधि विस्तारका क्रियाकलाप अगाडि बढाउन पनि समस्या भएको छ। खाद्य विभागका प्रवक्ता प्रमोद कोइरालाकाअनुसार विभागको केन्द्रीय प्रयोगशाला सञ्चालन गर्न चौबीसै घन्टा विद्युत् आपूर्ति नहुँदा सूक्ष्म रूपमा खाद्य परीक्षण गर्न समस्या परेको छ। एउटा खाद्यसम्बन्धी कीटाणुको विश्लेषण गर्न नियमित रूपमा ७२ घन्टासम्म विद्युत् आवश्यक पर्छ।

 

उनी भन्छन्, ‘तर लोडसेडिङका कारण त्यस्ता कीटाणुको वृद्धिदर र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित नकारात्मक पक्षबारे पत्ता लगाउन समस्या परेको छ।’ पशु स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजयकान्त झा लोडसेडिङका कारण जेनेटिक प्रयोगशाला, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला र रेविज प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नसकिएको बताउँछन्।

अन्नपूर्ण पोष्टबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :