स्याउमा आत्मनिर्भर हुन अनुदान

यो समाचार 216 पटक पढिएको

जुम्ला, १० माघ \ जुम्ला, मल र बीउमा अनुदान सुनिएकै हो । तर अहिले स्याउ फल्ने सात हिमाली जिल्लाका किसानले बोट हुर्काउनसमेत अनुदान पाउँदै छन् । स्याउका प्रत्येक बोट हुर्काउन किसानले वाषिर्क सय रुपैयाँ अनुदान पाउने छन्, त्यो पनि लगातार तीन वर्ष । 

Apple Treeकृषि मन्त्रालय, फलफूल विकास निर्देशनालयले जुम्लासहित सात जिल्लामा स्याउ आत्मनिर्भर कार्यक्रममार्फत उक्त अनुदान दिन लागेको हो । ‘व्यावसायिक स्याउ किसान वा समूहलाई बिरुवा खरिदमा ५० प्रतिशत र व्यवस्थापनमा वाषिर्क अनुदान दिन लागिएको हो,’ जुम्ला कृषि कार्यालय प्रमुख तेजनारायण गैरेले कान्तिपुरसित भने, ‘प्रतिबोट सय रुपैयाँका दरले तीन वर्ष अनुदान दिनेछौं ।’

अनुदान पाउन १० रोपनीभन्दा धेरै जग्गामा स्याउ लगाउने प्रस्ताव मागिएको छ । ४ सय ३२ किसान र समूहबाट आवेदन दर्ता भएको उनले बताए । ती आवेदनबाट छनोट गर्न बागबानी विकास अधिकृतको अध्यक्षतामा कृषि सेवा केन्द्र प्रमुख, किसान प्रतिनिधि, फार्म केन्द्र र गाविस सचिव रहेको समिति बनेको छ । ‘माघ तेस्रो साताभित्र किसान छनोट गरेर माघभित्र बिरुवा बाँड्छौं,’ गैरेले भने ।

कृषि विकास कार्यालयले स्याउ आत्मनिर्भरका लागि ३० हजार बिरुवा खरिद गरेर वितरण गर्न लागेको हो । बिरुवाका लागि १५ लाख र बोट व्यवस्थापन अनुदानका लागि ३० लाख बजेट आएको कृषि योजना अधिकृत बालकराम देवकोटाले बताए । जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, मुगु, मनाङ र मुस्ताङमा उक्त कार्यक्रम लागू छ ।

जुम्लामा मुख्यतः रेड रोयल, गोल्डन, जनाथन र चक्लेटी डेलिसेस स्याउ लोकपि्रय छन् । फलफूल विकास निर्देशनालयले चार वर्षअघि जुम्लालाई स्याउ बिरुवाको राष्ट्रिय स्रोत केन्द्र तोकेपछि वाषिर्क झन्डै ८० हजार बिरुवा बिक्री हुने गरेको छ ।

यहाँका नर्सरीमा हुर्केका स्याउका बिरुवा पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म १६ जिल्ला पुगेको योजना अधिकृत देवकोटाले बताए । ‘जुम्लामै एक घर, एक स्याउ बगैंचा अभियान चलेको छ,’ उनले भने, त्यसैले स्याउको बिरुवाको उत्पादन र बिक्री धेरै छ । स्याउ बिरुवा प्रतिगोटा २५ रुपैयाँमा बिक्री हुन्छ । यहाँ निजीस्तरबाट खुलेका १ सय १० वटा स्याउ नर्सरीमा अहिले झन्डै ११ लाख बिरुवा रहेको कृषि कार्यालयले जनाएको छ ।

६ वर्षअघि जिल्ला परिषद्बाट निर्णय भई ‘एक घर, एक स्याउ बगैंचा’ अभियान सुरु भएयता जुम्लामा बर्सेनि सय हेक्टर क्षेत्र थपिँदै गएको छ । कृषि कार्यालयका अनुसार, यहाँका ३० वटै गाविसका १४ हजार परिवारले २ हजार ५ सय १० हेक्टर क्षेत्रमा स्याउ लगाएका छन् । तीमध्ये ६ सय २५ हेक्टरमा स्याउ फल्छ । अभियान पूरा हुन बाँकी रहेका ५ हजार घरमा बगैंचा थप्नुपर्छ ।

यस वर्ष ४ हजार १ सय मेटि्रक टन स्याउ उत्पादन भएकोमा ३ हजार १ सय मेटि्रक टन निर्यात भएको कृषि प्रमुख गैरेले बताए । ‘ठूला बगैंचा बनाएर स्याउ उत्पादन व्यावसायिकतातर्फ जाओस् भन्ने अनुदानको उद्देश्य हो,’ उनले भने ।

कृषि कार्यालयले चन्दननाथ, महत, कात्तिकस्वामी, देपागाउँ, गर्जेनकोट, पटमारा र तातोपानी गाविसलाई अर्गानिक क्षेत्र घोषणा गरेको छ । त्यहाँ उत्पादित ग्रेड छुट्याइएको १९ मेटि्रक टन अर्गानिक स्याउ राम्रो भाउमा बिक्री भएको उनले बताए । गत वर्ष ३ हजार ९ सय मेटि्रक टन स्याउ उत्पादन भएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :