अब नेपाली अलैँचीको पनि ‘ट्रेड मार्क’ दर्ता हुने

यो समाचार 102 पटक पढिएको

फिदिम । अलैँचीको मूल्य धेरै घटेर निराश भइरहेका किसानका लागि खुसीको खबर छ । मूल्यमा समेत सुधार ल्याउन सक्ने गरी नेपाली अलैँचीको ‘ट्रेड मार्क’ दर्ता प्रक्रियामा रहेको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले नेपाली अलैँचीको ‘ट्रेड मार्क’ दर्ता प्रक्रियामा रहेको बताउनुभयो । दर्तापछि सीधै अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँची निर्यातकर्ताले बेच्न पाउने छन् । यसले किसान नै निराश हुने गरी घट्दो अवस्थामा रहेको नेपाली अलैँचीको मूल्य बढाउने वरिष्ठ उपाध्यक्ष नेपालले विश्वास व्यक्त गर्नुभयो ।


वरिष्ठ उपाध्यक्ष नेपालले विश्व बजारमा अलैँची पठाउनलाई भारत, पाकिस्तान र युएईमा ट्रेडमार्क दर्ता गर्नुपर्ने प्रावधान रहे अनुसार यसतर्फ पहल भइरहेको बताउनुभयो । उहाँले कृषि, वाणिज्य, उद्योग मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र व्यवसायीको सक्रियतामा ‘एभरेस्ट विग कार्डामम’ नामक नेपाली अलैँचीको ट्रेडमार्क दर्ता भइरहेको सुनाउनुभयो । यो प्रक्रिया पूरा भएपछि २०७६ सालसम्मबाट नेपाली अलैँची विश्व बजारमा आफ्नै ट्रेडमार्कका साथ बिक्री हुने विश्वास गरिएको छ ।

नेपाली ट्रेडमार्कमा विश्व बजारमा अलैँची पठाएर राम्रो मूल्य लिन किसानले पनि अब गुणस्तरीय उत्पादन, प्रशोधनमा ध्यान दिन जरुरी रहेको बताइएको छ । वर्तमानमा आफ्नै ट्रेडमार्क अभावमा नेपालको अलैँची भारत हुँदै तेस्रो मुलुकमा बिक्री हुने चलनले किसानले भने जस्तो मूल्य नपाइरहेको बताइएको छ । नेपाली अलैँची खाडी तथा युरोपमा बढी बिक्ने गर्छ । हिजोआज बिनाट्रेड मार्कको नेपाली अलैँची भारतीयले सस्तोमा लगेर आफ्नो ट्रेड मार्कमा आफ्नै देशमा फलेको फल बनाएर महँगोमा बेच्ने गरेको बताइएको छ । यसको प्रत्यक्ष मार नेपाली किसानले भोग्नु परिरहेको नेपाल अलैँची व्यवसायी पाँचथर अध्यक्ष नरेन्द्र अधिकारीले बताउनुभयो ।

अहिले नेपालका मध्यपहाडी ४० जिल्लाका चौध हजार ७०० हेक्टरमा ६ मेट्रिक टनसम्म उत्पान हुने गरी अलैँची खेती भइरहेको पाइएको छ । महँगोमा बिक्ने लोभले पाखो, खोल्सीमा मात्र रोपिने अलैँची खेती अरू बाली लाग्ने खेतबारी र करेसामा समेत किसानले मुख्य आयस्रोतका रूपमा विस्तार गरिरहेका छन् । यही अलैँचीको मूल्य पछिल्लो समयमा घट्न थाल्नाले भने घाटा खप्न सकिने पिरलोले सयौँ किसानमा निराशा छाउन थालेको छ । भारतीयले नेपालको गुणस्तरीय अलैँचीमा विभिन्न देशमा फल्ने सस्तो र कमसल अलैँचीसँग मिसाएर बेच्नाले पनि मूल्य घट्दो अवस्थामा रहेको बताइन्छ । नेपालको आठ सयदेखि दुई हजार १०० मिटर उचाइको मध्य पहाडी क्षेत्रमा थप बृहत्तर क्षेत्रफलमा अलैँची खेती विस्तार गर्न सकिने सम्भावना औँल्याइएको छ ।

जडीबुटी तथा मसलेदार अदुवाबाली परिवारमा पर्ने अलैँची खेती विकासमा सरकारले विशेष कार्यक्रम बढाउन थालेको छ । जसअनुसार धेरै अलैँची खेती भइरहेको पाँचथर फालेलुङ गाउँपालिकाको १, २, ६ र ७ वडाका सिदिन र एक्तिनको पाँच सय हेक्टर जमिनमा अलैँची जोन कार्यक्रम सञ्चालनमा छ । आर्थिक वर्ष २०७१/०७२ मा सुख्खा प्रतिमन असी हजारदेखि एक लाख २० हजार रुपियाँसम्ममा बिक्री भएको अलैँचीको मूल्य हिजोआज ३० हजार रुपियाँमा झरेको छ ।  मूल्य घटेर सुख्खा प्रतिमन २५ हजार रुपियाँभन्दा कम थाप्ने अवस्था आए किसानलाई घाटा हुने अलैँची व्यवसायी महासङ्घ पाँचथर अध्यक्ष अधिकारीले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :