कृषि पर्यटन सञ्चालन गर्ने सोच छ, अनुदान पाइन्छ !

यो समाचार 177 पटक पढिएको

आठ जिल्लामा अनुदान दिइने

काठमाडौं । कृषि पर्यटन प्रवद्र्धन गर्ने सोचमा हुनुहुन्छ भने तपाईको इच्छालाई सरकारले पुरा गरिदिनुभएको छ । तरकारी विकास निर्देशनालयले चालु आर्थिक बर्ष २०७४।७५ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार आठ जिल्लामा कृषि पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सरकारले अनुदान सुविधा उपलब्ध गराएको छ । काभ्रेको सल्ले जामुने, सुनसरीको माछामारा, चितवनको इच्छाकामना गाउपालिका १ हात्तिवाड, सिराइचुली र वडा नं. ७ उपरदांगगढी, काठमाडौंको शंकरापुर नगरपालिका, उदयपुरको रौतमाई गाउपालिकाको रौता पोखरी ६ आसपासका गाउहरु, कैलालीको घोडाघोडी, सोलुखुम्बुको पत्ताले र नुवाकोटको ककनी क्षेत्रमा कृषि पर्यटनका लागि सुविधा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।

कृषि र पर्यटन व्यवसायको माध्यमबाट ग्रामिण किसानको आयस्तरमा बृद्धि गर्न तथा रोजगारीको अवसर सिर्जना गरी गरिबी निबारण गर्न यो कार्यक्रम सरकारले ल्याएको हो ।

यो कार्यक्रममा होमस्टे सञ्चालन समिति, व्यवस्थापन समिति र कृषि पर्यटन प्रवद्र्धन समिति, व्यवस्थापन समिति, कृषि व्यवसाय, कृषि पर्यटन व्यवसायमा आवद्ध निजी क्षेत्रबाट सञ्चालित कृषि पर्यटन केन्द्रबाट दरखास्तको आह्वान गरिएको छ । सूचना प्रकाशित भएको २०७४।७। २२ गतेको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा अनुसूची ३ अनुसारको कागजातहरु तथा अनुसूची ४ अनुसारको व्यवसायिक प्रस्तावसहित आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

यो कार्यक्रमसम्बन्धी कार्यविधि तरकारी विकास निर्देशनालयको वेवसाइट www.vdd.gov.np र कृषि विकास मन्त्रालयको वेवसाइट www.moad.gov.np मा राखिएको छ । थप जानकारीका लागि तरकारी विकास निर्देशनालयको ०१ ५५२३७०१ मा सम्पर्क गर्न सकिन्छ ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :