कृषि कर छुटको ट्र्याक्टर ढुवानीमा प्रयोग

यो समाचार 77 पटक पढिएको

विराटनगर, १० माघ \ कृषि कर छुटमा दिएको ट्र्याक्टर व्यावसायिक ढुवानी व्यापारमा प्रयोग गर्न थालिएको छ। कृषि प्रयोजनका लागि आयात हुने ट्र्याक्टर खरिद गर्दा भन्सारशुल्क पाँच प्रतिशत मात्रै तिरे पुग्छ। १३ प्रतिशत भ्याट पनि तिर्नुपर्दैन। तर, यो सुविधामा आयात गरिएका ट्र्याक्टर अहिले ढुवानी व्यापारमा प्रयोग भइरहेका छन्।

विराटनगरमा बालुवा बोकेर गुड्दै कर छुटको ट्र्याक्टर

मेची र कोसीका यातायात कार्यालयमा १० हजारभन्दा धेरै ट्र्याक्टर दर्ता भई सञ्चालनमा छन्। तीमध्ये अधिकांश ढुवानी व्यापारमै सीमित छन्। झापा र मोरङका ट्र्याक्टर व्यवसायी संघमा मात्र तीन हजारभन्दा धेरै ट्र्याक्टर व्यवसायी आबद्ध छन्। तिनले दुवै जिल्लामा ठूला नदीबाट ढुंगा, बालुवा, गिटी ढुवानी गर्छन्।

 

योबाहेक रड, सिमेन्ट, इँटा र अन्य सामग्री ढुवानी गर्न पनि ट्र्याक्टर नै प्रयोग हुन्छ। झापाको कन्काइमाई ट्र्याक्टर व्यवसायी संघले त हरेक वर्ष ढुवानीका क्रममा नदीमा ठेकेदारले तोकिएको भन्दा धेरै कर लिएको भन्दै आन्दोलन गर्ने गरेको छ।

 

संघका सचिव कोमल खतिवडा भन्छन्, ‘कृषिको काम सकेर बचेको समयमा मात्रै ढुवानीमा लगाइन्छ। हरहमेसा दौडाइएको छैन।’ सरकारले स्पष्ट रूपमा यो यन्त्रलाई कृषिमा मात्र प्रयोग गर्न दबाब दिन नसक्नु र जमिन चक्लाबन्दी गरी खेती गर्ने चलन नभएकोले पनि ट्र्याक्टर अन्यत्र प्रयोग भएको खतिवडाको तर्क छ।

 

झापाको कन्काई, रतुवा, मावा, विरिङ, मेची, टाङटिङ र मोरङको चिसाङ, लोहन्द्रा, गछिया, बूढीखोला आदिबाट ट्र्याक्टरले नै निर्माणमा प्रयोग हुने बालुवा, गिटी, ढुंगा र भरोट ढुवानी गर्छन्।

 

पूर्वाञ्चलका विभिन्न नाकाबाट सरकारी सुविधा लिएर भन्सार छुटमा बर्सेनि आयात हुने ट्र्याक्टरको परिमाण भने बढ्दो छ। रानी भन्सार कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०६९/७० मा यो नाका भएर ३६ करोड ७४ लाख ५६ हजार मूल्यबराबरका सात सय नौवटा ट्र्याक्टर आयात भएको थियो। जसको महसुल १७ करोड ७२ लाख ५७ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०७०/७१ को पुस मसान्तसम्म यही नाका भएर पाँच सय १० वटा ट्र्याक्टर आयात भइसकेका छन्।

 

यो अवधिमा मूल्य र महसुलबीचको अन्तर क्रमश: आठ करोड २५ लाख ८३ हजार र तीन करोड ९५ लाख पाँच सय रुपैयाँ रहेको देखिएको छ तर आर्थिक वर्षको आधा समय बाँकी रहेकोले आयात बढ्ने अनुमान गरिएको भन्सार कार्यालयले जनाएको छ।

 

रानी भन्सार कार्यालयका अधिकृत नारायण रेग्मी तथ्यांकले पनि ट्र्याक्टरको आयात बढ्दै गएको देखिएको बताउँछन्। उनले भने, ‘तर, सरकारी सुविधा लिएर आयातीत ट्र्याक्टर कुन काममा प्रयोग भइरहेको छ भन्ने हामीले नियमन गर्ने होइन्। यातायात कार्यालय र ट्राफिक प्रहरीले यो विषयमा चनाखो हुनुपर्छ।’

 

ट्राफिक व्यवस्थापन र सवारी नियमविपरीतका कामको नियमन गर्दै आएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीकी प्रमुख एसपी पूजा सिंह सरकारी सुविधामा ल्याइएका ट्र्याक्टर कृषिको साटो अन्यत्र प्रयोग गरिनु गलत भएको बताउँछिन्।

 

सरकारी नियमको कमजोरीको फाइदा उठाएर धेरैले एउटा भन्दै अर्को प्रयोजनमा ट्र्याक्टरको दुरुपयोग गरेको विषयमा केन्द्रलाई जानकारी गराउँदै कृषि र अन्य प्रयोजनका लागि छुट्टाछुट्टै कर लिने प्रबन्ध गर्न आग्रह गरेको एसपी सिंहले बताइन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :