बिमामा अनुदान पाएपछि किसान खुशी

यो समाचार 107 पटक पढिएको

पर्सा, १० माघ \ अनुदानसहित पशुधन बिमा सेवा सुरु भएपछि व्यावसायिक पशुपालन गर्नेलाई प्रोत्साहन मिलेको छ। ५० प्रतिशत रकम बिमा समितिले नै बेहोर्ने व्यवस्था गरिएपछि किसानलाई सहज भएको हो।

पशुको मूल्यमा पाँच प्रतिशतका दरले बिमा शुल्क निर्धारण गरिँदै आएको थियो। अहिले प्रोत्साहनस्वरूप ल्याइएको बिमा योजनाअन्तर्गत ५० हजार रुपैयाँ मूल्य पर्ने दुधालु गाईको पाँच प्रतिशतका दरले बिमा शुल्क दुई हजार पाँच सय निर्धारण गरिए पनि पशुपालक किसानले बिमा कम्पनीलाई ५० प्रतिशत अर्थात् एक हजार दुई सय ५० रुपैयाँमात्र भुक्तानी दिनुपर्छ। बाँकी रकम बिमा समितिले नै अनुदानस्वरूप उपलब्ध गराइरहेको छ।

 

वीरगन्जको अशोक वाटिकास्थित डेरी फार्ममा पालिएका गाईको बिमा गर्नुअघि पहिचानका लागि बिमा कम्पनीका प्रतिनिधि गाईको कानमा ट्याग लगाउँदै।

बिमा समितिले सबै गैर जीवन बिमा कम्पनीलाई अनिवार्य रूपमा पशुधन बिमा सेवा उपलब्ध गराउने निर्देशन दिएको थियो। समितिको निर्देशनपछि बिमा कम्पनीले डेढ महिनाअघिदेखि पशुधन बिमा सेवा सुरु गरेका हुन्। नियमित स्वास्थ्य परीक्षण र औषधोपचार गराउँदा समेत रोग लागेर पशु मरेमा क्षतिपूर्तिको व्यवस्था थिएन। अनुदानसहितको बिमा व्यवस्थापछि पशुपालकले सम्भावित आर्थिक नोक्सानीको जोखिमबाट मुक्ति पाएका छन्।

 

अशोक वाटिका टोलमा होलेस्टन जातको गाई पालेर दुध उत्पादन गर्दै आएका श्याम यादव पशुधन बिमाको सुविधाले व्यवसायमा धेरै राहत मिलेको बताउँछन्। ‘दुध उत्पादनबाट हुने आम्दानी सन्तोषजनक भए पनि एउटै गाई मर्‍यो भने व्यवसायमा भुइँचालो जान्छ’, उनले भने, ‘बिमा नगरिएको पशुको मृत्युबाट हुने घाटा सहजै पूर्ति हुँदैन।’ उनले १० वटा जर्सी गाईको बिमा गराएका छन्।

 

यस वर्ष कात्तिक महिनायता मात्र पर्सा जिल्लामा फुट एन्ड माउथ (खुट्टा र मुख) भनिने रोगले डेढ दर्जनभन्दा बढीको संख्यामा दुधालु गाई मरे। ‘समयमै बिमा नगराएकाले घाटा भो’, रामटोलमा डेरी फार्म सञ्चालन गर्दै आएका श्याम शर्माले भने, ‘भटाभट गाई मरेपछि व्यवसाय नै चौपट भएको छ।’

 

बिमा गराउनुपूर्व पशुपालकले आफ्नो पशुको स्वास्थ्य परीक्षण प्रमाणपत्र बिमा कम्पनीसमक्ष पेस गर्नुपर्छ। मान्यताप्राप्त पशु चिकित्सकले जारी गरेको परीक्षण प्रतिवेदनका आधारमा बिमा कम्पनीले पशुपालकसँग सम्पर्क गरेर पशुपालन गरिएको स्थानमा पशुको रेखदेख, हेरचाह र पूर्वाधारबारे जानकारी लिनुका साथै बिमा गरिन लागेको गाईको कानमा ट्याग लगाएर पहिचान संकेत नम्बर दिन्छन् र बिमा शुल्क लिएर बिमालेख जारी गर्छन्।

 

ऋण लगानीका लागि बिमा अनिवार्य भएकाले पशुधन बिमा सुविधाले ब्यांक तथा वित्तीय संस्थाका लागि यो क्षेत्र लगानीको आकर्षण बन्ने विश्वास गरिएको छ। ‘बिमा र ब्यांक एकअर्काका परिपूरक हुन्’, सगरमाथा इन्सुरेन्सका शाखा प्रबन्धक अभिम डंगोल भन्छन्, ‘पशुधन बिमा सेवाका कारण ब्यांकका लागि पनि सुरक्षित लगानीको बाटो खुलेको छ।’

 

‘निर्धारित बिमा शुल्कको ५० प्रतिशत रकममात्र ग्राहकसँग असुल्ने गरेका छौं’, सगरमाथा इन्सुरेन्सका वीरगन्ज शाखा प्रबन्धक अभिम डंगोलले भने, ‘बाँकी ५० प्रतिशत बिमा समितिबाट भुक्तानी लिन्छौं।

 

पशुधन बिमासँगै पशु चिकित्सकले पनि सेवाको थप क्षेत्र पाएका छन्। पशुसेवा प्राविधिक अवधेश झा भन्छन्, ‘सरकारले पशु फार्मको वर्गीकरण गरेर चारा र स्वास्थ्य सेवाको क्षेत्रमा पनि अनुदान उपलब्ध गराउन सके यो क्षेत्रमा रोजगारी सिर्जना र आर्थिकोपार्जनको पर्याप्त सम्भाव्यता छ।’

 

जिल्ला पशु सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०६८-६९ मा गरिएको सर्वेक्षणका क्रममा पर्सा जिल्लामा नौ हजार सात सय २६ गाई र ११ हजार सात सय एक भैंसी पालन गरिएको थियो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :