तरकारीको मूल्यवृद्धिमा सरकारको ध्यानाकर्षण

यो समाचार 110 पटक पढिएको

काठमाडौं । अत्यधिक बढेको तरकारीको बजारभाउ नियन्त्रण गर्न सरकारले मातहतका निकायहरूलाई निर्देशन दिएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले बजारभाउ नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएको हो।

तरकारी बजारको नियमित अनुगमन गर्न र अनुगमनको प्रभावसम्बन्धि प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई दिन कृषि विकास मन्त्रालयलाई निर्देशन दिइएको छ। तरकारी बजारलाई विशेष फोकस गरेर अनुगमन कडा गर्ने, जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयहरूले बजार अनुगमन थप तीव्र पार्ने, बजारमा हुने उतारचढावलाई नियन्त्रण गर्ने उपायहरू अध्ययन गर्ने लगायतका निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मूल्य वृद्धिमा बिचौलियाहरूको भूमिका हुन सक्ने भएकोले तरकारी कारोबारमा संलग्न रहेका ठूला व्यापारीहरूलाई राजश्व अनुसन्धान विभाग र आन्तरिक राजश्व विभाग परिचालन गरी अनुगमन गर्न अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

‘बजार मूल्य निश्चित तहभन्दा माथि जान थालेपछि सजग हुने प्रणाली विकास गर्ने र हाल भइरहेको मूल्यवृद्धि अझै पनि घटेन भने पुनः यसबारे प्रधानमन्त्री कार्यालयमा बैठक राखी थप प्रभावकारी कदम चाल्न सम्बन्धित पक्षलाई निर्देशन दिने’ निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :