तीस वर्षको भारत अनुभवपछि गाईपालनमा

यो समाचार 289 पटक पढिएको

तौलिहवा । रोजगारीका लागि युवाहरु विदेश पलाएन भइरहेका बेला जिल्लाका एक किसान गाईपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन । गाईपालन ब्यवसायबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण एक किसानले प्रस्तुत गरेका हुन । वाणगंगा नगरपालिका(८ बोडगाउँका किसान खुमानन्द पौडेलले पशुपालन व्यवसायबाट मासिक डेढ लाख आम्दानी गर्दै आएका छन् ।

२०७० साल देखि आफ्नै जग्गामा व्यवसायीक गाईपालन तर्फ लागेका पौडेलको फर्ममा होलस्टिन र जर्सी जातका २१ ओटा गाई र दुई ओटा भैसी समेत छन् । दैनिक १ सय देखि १ सय २५ लिटर दुध बेचेर उनले मासिक रु. १ लाख २५ हजार सम्म आम्दानी गर्न सफल भएका छन । गाईपालन मेहनतको पेशा भएकाले घरपरिवारको सहयोगमा मिलेर काम गर्ने गरेको छ’, उनले बताए । गाईपालनबाट बालबच्चाको शिक्षा, घरपरिवारको दैनिक खर्च कटाएर मासिक रु ५० हजार जति आम्दानी गर्ने गरेको उनले बताए ।

पौडेल भन्छन्, ‘स्थानीय दुग्ध सहकारीमा दुध विक्री गरेर राम्रो आम्दानी गर्दै आएको हुँ ।’ सरकारले किसानलाई अनुदान दिने विषयमा ढिलासुस्ती गर्दा किसान मारमा परेको उनको गुनासो छ । समय सकिए पछि आउने घाँसको विउ लगाएतका सरकारी अनुदानले गाईपालन व्यवसाय फस्टाउन नसकेको उनि बताउँछन । अनुदानमा पाइने घाँसको विउ पनि समयमै नआउँदा आफै किनेर लगाउने गरेको उनले बताए ।

भारतमा तीसबर्ष सम्म रोजगारी गरेर नेपाल आएका पौडेलले अनुभवका आधारमा गाईपालन व्यवसाय शुरु गरेका हुन् । नेपालमा पशुपालन कृषकलाई दाना, मल, बिजुली बत्ती, पानीमा अनुदान दिनुपर्ने माग समेत उनले सरकार समक्ष राख्छन । ‘कृषि प्रधान देश भनेर भन्ने गरेपनि कृषि पेशा प्रति राज्य उदासिन छ,’ उनले भने, यो पाराले देशमा कृषि क्रान्ति हुँदैन ।’

१३ ओटा गाईबाट व्यवसाय शुरु गरेका पौडेलले ५ कट्ठामा गाईपालनको लागि गोठ बनाएका छन । उनले ३ विगाहा जमिन भाडामा लिएर पशुपालन व्यवसायका लागि घाँसखेती, धानखेती समेत गर्दै आएका छन । रु. ७ लाखबाट व्यवसाय शुरु गरेका उनले अहिले सम्म गाईपालनमा रु. १५ लाख बराबरको लगानी लगाएका छन् ।

जीन्दगीभर भारतमा रोजगारी गरेर जीवन परिवर्तन नहुने देखेपछि उनी व्यवसायीक गाईपालन तर्फ आकर्षित भएका हुन् । ‘मैले भारतमा तीस बर्ष जागिर गरे उनले भने, ‘जीवनभर घरपरिवार छोडेर जागिर गर्नुभन्दा स्वदेशमै आफै केहि गर्नुपर्छ भन्ने सोचले गाईपालन तर्फ लागेको हुँ ।’

विगत केहि बर्ष यता जिल्लामा व्यवसायीक गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको छ । यातायातको सुविधा गाउँ गाउँ सम्म पुगेपछि गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको हो । स्थानीय स्तरमा दुग्ध सहकारी संस्थाहरु सञ्चालनमा आए पछि झनै किसानलाई राहत मिलेको छ । जिल्लामा १ सय भन्दा बढी गाईपालन फर्म दर्ता भएको जिल्ला पशु विकास अधिकृत अब्दुल सलामले बताए । जिल्लाको उत्तरी क्षेत्र वाणगंगा र बुद्धभुमिनगरपालिकामा सबैभन्दा बढी व्यवसायीक रुपमा गाईपालन गरिदै आएको अधिकृत सलाम बताउँछन ।

कपिलवस्तुबाट बार्षिक २१ हजार मेट्रिकटन दुध उत्पादन हुँदै आएको पशु विकास कार्यालयले जनाएकोछ । यहाँको दुध बुटबल, भैरहवा हुँदै चितवन सम्म पुग्ने गरेको छ । जिल्लाको दक्षिणी भेगमा व्यवसायीक रुपमा भैसीपालन गर्ने किसानको संख्या बढेपनि उत्तरी क्षेत्रमा व्यवसायिक गाई पालन हुने गरेको कार्यालयले जनाएकोछ । ‘गाईपालन गरेका कृषकहरुलाई कार्यालयले बेला बेला अनुदान दिदै आएको छ, उनले भने त्यसले गर्दा किसानलाई उच्च मनोबल मिलेको छ । ‘

रचनात्मक प्रतिक्रिया दिनुहोस् :