वेबसाइटमा देशभरको कृषिउपज मूल्य

यो समाचार 269 पटक पढिएको

काठमाडौं,   सरकारले देशभरका मुख्य थोक तथा खुद्रा कृषि बजार मूल्यको सूचनालाई व्यवस्थित गर्ने भएको छ । देशको मुख्य बजार कालीमाटीको मूल्य सूचनामात्र व्यवस्थित भएकोमा अब देशभरका ३० वटै थोक बजारका कृषिउपज मूल्य सूचनालाई तत्काल इन्टरनेटमा हेर्न मिल्ने गरी अद्यावधिक गर्न थालिएको हो ।
कृषि मन्त्रालयमातहतको कृषि विभागअन्तर्गतको कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयले देशभरका सबै बजारलाई आधुनिक सफ्टवेयर जडान गरी मूल्य सूचनालाई तत्काल इन्टरनेटमार्फत सबैले हेर्न मिल्ने गरी व्यवस्थित गर्न लागिएको हो । “यसअघि नै सम्बन्धित बजारलाई कम्युटर, इन्टरनेटलगायतका सञ्चार सामग्रीको व्यवस्था गरिसकेका छौं,” निर्देशनालयका बजार निर्देशक डा। हरिबाबु तिवारीले भने, “सूचना प्रणालीलाई व्यवस्थित गर्न नयाँखालको सफ्टवेयर र थप सूचना प्रविधि उपलब्ध गराउन थालिएको छ ।”
अहिले पनि बजारहरूले सूचना अद्यावधिक गरे पनि विभिन्न प्राविधिक कारणले कतिपय बजारले व्यवस्थित गर्न नसकेकाले यो आर्थिक वर्षभित्र व्यवस्थित गरिसक्ने उनले बताए । देशभरमा कुन कृषिउपजको थोक तथा खुद्रा मूल्य कति छ भन्ने विषयमा समयमै सूचना प्रवाह गरिँदा कृषि बजार विस्तारमा सहयोग पुग्ने निर्देशनालयले जनाएको छ । पूर्वदेखि पश्चिम नेपालसम्म कुन कृषि वस्तुको मूल्य कति निर्धारण गरिएको छ भन्ने सूचनामा जनताको पहुँच हुँदा कृषकले वस्तुको उचित मूल्य पाउने भएकाले फाइदाजनक रहेको र व्यापारीले पनि वस्तु खरिद–बिक्री गर्न सूचनाको आधारमा धारणा बनाउन सक्ने तिवारीले बताए ।
हरेक दिन अद्यावधिक गरिने कषिउपज मूल्य सूचना प्रवाह गर्न व्यवस्थित गर्न जडित प्रविधिलाई कृषि विकास मन्त्रालयले समेत प्रत्यक्ष अनुगमन गर्ने भएको छ । देशभरको कृषिउपज मूल्य र उपलब्धताको अवस्थालाई मध्यनजर गरिने र केही समस्या आइपरे मन्त्रालयले समेत समाधानको भूमिका निर्वाह गर्ने मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले बताए । “व्यापारीले मनपरी मूल्य लिने र उपभोक्ता ठगिले प्रवृत्तिलाई समेत नियन्त्रण गर्न कृषि सूचना प्रवाहमा नयाँ प्रविधि जडान गरिएको हो,” उनले भने, “दैनिक जीवनमा अत्यावश्यक स्वच्छ कृषिउपज कृषकदेखि उपभोक्तासम्म सुपथ मूल्यमा पु¥याउन यसले ठूलो भूमिका खेल्नेछ । देशभरको कृषि बजार सूचना हेर्न कृषि बजार निर्देशनालयको वेबसाइट ‘एग्रिबिज डट जीओभी डट एनपी’मा जानुपर्ने उनले बताए ।
सरकारले देशभर कृषि बजार स्थापना र व्यवस्थित गर्न जारी गरेको ‘कृषिउपज बजारस्थलको व्यवस्था तथा सञ्चालनसम्बन्धी निर्देशिका– २०५३’ सरकारको सहयोगमा कृषिउपज बजार सञ्चालन समिति गठन गरी सम्बन्धित क्षेत्रमा कृषि बजार सञ्चालन गर्ने व्यवस्था गरेको छ । बजार व्यवस्थित गर्न मन्त्रालयले साझेदारीमा ‘कृषिउपज बजार पूर्वाधार निर्माण तथा संकलनसम्बन्धी निर्देशिका– २०६८’ समेत जारी गरेको छ ।
निर्देशिकाको आधारमा कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयअन्तर्गत सञ्चालनमा रहेको कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास कार्यक्रमले देशका मुख्य बजार चितवन, बुटवल, धनगढी, विराटनगर, ढल्केबरलगायतका विभिन्न ३० स्थानमा बजार स्थापना गरी सञ्चालनमा छन् । संकलन केन्द्रसमेत गरी काठमाडौंलगायत देशभरका तरकारी थोक बजार भने ६३ स्थानमा छन् । बजार संख्या थप्ने र थप व्यवस्थित गर्दै लैजाने निर्देशनालयले जनाएको छ । नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले पनि सरकारले सहयोग गरे देशभरको तरकारी बजार व्यवस्थित गर्न आफूहरू तयार रहेको बताएका छन् ।

 कारोबार दैनिकबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :