माहुरीको चरन क्षेत्र प्यूठान

यो समाचार 157 पटक पढिएको

प्यूठान । पछिल्लो समय प्यूठान माहुरीको चरन क्षेत्रको रूपमा विकास हुँदै गएको छ। जिल्लाका अधिकांश भूभागमा प्रशस्त चरन क्षेत्र भएकाले जिल्लाबाहिरबाट माहुरी व्यवसायी आउने क्रम बढ्दै गएको छ। पूर्वी जिल्लाका उद्यमी आउने गरेका हुन्। जिल्लाका धेरैजसो ठाउँमा चिउरी, तोरी र फापर फूल्ने समय भएकाले माहुरीलाई प्रशस्त आहारा हुने गरेको उद्यमी बताउँछन्।

‘कात्तिक र मंसिर महिना प्यूठानमै बित्छु, ईश्वरपुर नगरपालिका(४ सागरनाथ सर्लाहीबाट आएका हेमराज देवकोटाले भने, ‘हाम्रो फिरन्ते व्यवसाय हो। नियमित रूपमा प्यूठान आउन थालेको ६ वर्ष भयो।’ मंसिर १५ पछि मह निकालेर गृह जिल्ला फर्कने योजना रहेको उनले जानकारी गराए। आफूसँगै विभिन्न जिल्लाका आठजना उद्यमी आएको उनले बताए।

नवलपरासी (दुम्कीवास), रौतहट, बारा, जितपुर कपिलवस्तुलगायत जिल्लाबाट उद्यमी माहुरी चराउनका लागि जिल्लाका विभिन्न स्थानमा आएका छन्। बिजुवार (टिकुरी), बाग्दुला, मरन्ठाना खरीबोट, बडडाँडा, कागपाती खोला (गोठिवाङ), जुम्रिकाँढालगायत स्थानमा पुगेर उद्यमीले माहुरी चराएका छन्। एक सिजनमा माहुरी चराउन बाहिरी जिल्लाबाट आएका उद्यमीले हालको बजार मूल्य अनुसार झन्डै ८६ लाख रुपैयाँ बराबरको मह लैजाने गरेको देवकोटाले जानकारी गराए।

‘एकपटक एक हजार नौ सय जति माहुरीका घार भित्रन्छ’, उनले भने, ‘प्यूठानमा माहुरीपालनका लागि प्रशस्त सम्भावना रहेछ। तर, यहाँका किसानले चासो देखाएको पाइएन।’ मेलिफेरा जातको माहुरी चराउन ल्याइएको उनले जानकारी गराए। सम्भावित क्षेत्रको पहिचान गरी जग्गाधनीलाई भाडा दिएर माहुरी चराउने गरिएको उनले अनुभव सुनाए। एक सय २५ घार माहुरी ल्याइएको देवकोटाले जानकारी गराए।

नवलपरासी दुम्कीवासकी इन्दु राना पनि माहुरी चराउन प्यूठान आउन थालेको धेरै वर्ष भइसक्यो। ज्यामिरे माहुरीपालन सहकारी संस्था लिमिटेडमा आवद्ध रानाले एक सय २५ वटा माहुरीका घारलिएर चराउन आएकी हुन्। ‘एकपटक आउँदा करिब ६/७  रुपैयाँ बराबरको मह लगेर जान्छौँ’, उनले भनिन्, ‘यहाँ आउन थालेको पाँच वर्ष भयो।’ बिजुवारको टिकुरीमा माहुरी चराएको उनले बताइन्। वर्षौंदेखि व्यावसायिक रूपमा माहुरीपालन थालेका उद्यमीले जिल्लाबाट विभिन्न क्षेत्रमा पुगेर माहुरी चराउँदै आएका छन्।

वर्षौंदेखि बाहिरी जिल्लाबाट आएका उद्यमीले माहुरी चराएर मह उत्पादन गरे पनि जिल्लावासी यसतर्फ आकर्षित हुन सकेका छैनन्। घरायसी प्रयोजनका लागि मह उत्पादन गरे पनि जिल्लामा बृहत रूपमा व्यावसायिक उद्यमीले यसतर्फ चासो देखाएको पाइएको छैन। ‘हामी त सिजनमा मात्र आउने हो’, उद्यमी रानाले भनिन्, ‘स्थानीयवासीले लगानी गर्ने हो भने राम्रो आम्दानी गर्न सक्छन्।’ उत्पादित मह होलसेल प्रतिकिलो तीन सय ५० र खुद्रा चार सय रुपैयाँमा बिक्री गर्ने गरिएको उनले जानकारी गराइन। बाहिरी जिल्लाबाट आएका उद्यमीले एक सिजनमा करिब २८ हजार पाँच सय किलो मह उत्पादन गरेर लैजाने गरेको तथ्यांकले देखाएको छ।

जिल्लास्थित सरोकारवाला निकायले समेत उद्यमीलाई व्यावसायिक रूपमा माहुरीपालन क्षेत्रमा लाग्न हौसला दिएको पाइँदैन। बजारको ग्यारेन्टी नहुँदा यसतर्फ अपेक्षा गरे अनुसार आकर्षित हुन नसकेको जिल्लाका उद्यमी बताउँछन्। सर्लाहीकै अर्जुन पोख्रेल, मणी पाण्डे, चण्डी लामिछाने (कावासोती), रत्नदास खतिवडा (रौतहट), भीम तिमिल्सिना (बारा), अर्जुनभान चौधरी (नवलपरासी) पनि माहुरी चराउनका लागि प्यूठान आएका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :