मत्स्य ह्याचरीमा रूपन्देही आत्मनिर्भर

यो समाचार 42965 पटक पढिएको

बुटवल । रूपन्देही मत्स्य ह्याचरीमा आत्मनिर्भर बनेको छ । माछाको पकेट जिल्ला रूपन्देहीमा माछाका भुरा उत्पादनमा वृद्धि भएसँगै निर्यात गर्ने अवस्थामा पुगेको हो ।केही समय अघिसम्म जिल्लाका माछा किसानले बाहिरी जिल्लाबाट भुरा ल्याउँदै आएका थिए । ह्याचरीको संख्या बढेसँगै भुरा उत्पादनसमेत बढेको हो ।

रूपन्देहीमा प्रधानमन्त्री कृषि आधुनिकीरण कार्यक्रमअन्तर्गत माछापालनमा काम भइरहेको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा झन्डै एक हजार ५० हेक्टर क्षेत्रमा माछा उत्पादन हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमपछि पाँच सय हेक्टर क्षेत्रफल बढ्ने बताइएको छ।

माछा पोखरीको संख्या बढ्दै गएपछि ह्याचरीको संख्या थपिएको थियो । अहिले रूपन्देहीकै ह्याचरीले भुराको माग थेगेको रूपन्देहीको पत्थरडाँडामा रहेको मण्डल मस्त्य ह्याचरीका सञ्चालक रामेश्वर मण्डलले बताए । ‘रूपन्देहीमै उत्पादित भुराले पुगेको छ’, उनले भने, ‘यहाँका भुरा रूपन्देहीबाहिर पनि पठाउन थालेका छौं ।’ रूपन्देहीबाट उत्पादित माछाका भुरा रूपन्देहीमा मात्र नभई नेपालका अधिकांश जिल्लामा जाने गरेका छन् ।

२०७० मा उत्कृष्ट ह्याचरी किसानका रूपमा राष्ट्रपति पुरस्कारबाट पुरस्कृत मण्डल ह्याचरीमा वार्षिक १५ करोड माछाका भुरा उत्पादन हुने गर्छन् । यो वर्ष भने भुरा उत्पादनमा केही कम आएको छ । तापक्रम वृद्धि भएकाले तीन करोड माछा कम उत्पादन भएको मण्डलले बताए । रूपन्देहीका फार्मले सिल्भर कार्प, कमन, बिग्रेड, नैनी, रहु र ढाकुर गरी सात प्रजातिका भुरा उत्पादन गर्दै आएका छन् । ह्याचरीसम्बन्धी विज्ञ नहुने, पानीको क्वालिटी र ब्रिडिङ सेक्टरको विज्ञ नहुँदा ह्याचरीमा समस्या भएको सञ्चालक मण्डलको भनाइ छ ।

रूपन्देहीमा हाल ६ मत्स्य ह्याचरी र १७ वटा मत्स्य नर्सरी रहेको रूपन्देही मत्स्य उत्पादक संघका अध्यक्ष पुण्य चौधरीले बताए । माछाको उत्पादन र व्यवसायीको संख्या बढे पनि पुराना पोखरी सुधार नहुँदा लक्ष्यअनुसारको उत्पादन भने भएको छैन । रूपन्देहीमा प्रतिहेक्टर आठ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।

रूपन्देहीको छपिया क्षेत्र माछाको पकेट क्षेत्र मानिन्छ । मत्स्य जोनका रूपमा विकास हुँदै गरेको रूपन्देहीको छपियामा पर्यटक भित्र्याउने योजनासमेत थालिएको छ । सियारी गाउँपालिकास्थित छपियाका हरेक सर्वसाधारणले व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन् । यस क्षेत्रबाट मात्रै दैनिक १५ क्विन्टल माछा उत्पादन हुँदै आएको छ ।

छपिया क्षेत्रमा चार दशक अघिदेखि माछा पालिए पनि सात वर्ष अघिदेखि अभियानमुखी माछा उत्पादन थालिएको हो । यहाँको एक सय ६७ हेक्टर क्षेत्रफलको एक हजार दुई सय पोखरीमा माछापालन भएको छ । पाँच सय ५० व्यावसायिक किसानले वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन गर्छन् । यसबाट वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ ।

रूपन्देहीमा उत्पादन हुने माछा पोखरा, काठमाडौं, चितवन, कपिलवस्तु, पाल्पासहित भारतका सीमावर्ती क्षेत्रमा खपत हुने गरेको छ । माछा बिक्रीका लागि छपिया, बुटवल र भैरहवामा जिउँदो माछा पसल सञ्चालन गरिएको छ । रूपन्देहीमा रहु, नैनी, ग्रास, भ्याकुर, सिल्भर, बिगहेड, कमनकार्पलगायत उन्नत जातका माछापालन गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :