एफएनसीसीआई र सरकारको साझेदारीमा १० उद्योग सञ्चालनमा आउने

यो समाचार 164 पटक पढिएको

  •  ३० करोड लगानी
  •  चालू आवमा सबै उद्योग सञ्चालनमा आउने

काठमाडौं, ९ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) र सरकारको साझेदारीका एक जिल्ला एक उत्पादन (ओभिओपी) कार्यक्रमअन्तर्गत १० ओटा उद्योग सञ्चालनमा आउने भएका छन् । स्थानीयस्तरका रोजगारीको अवसर सृजना गर्ने तथा स्थानीयस्तरमा भएका स्रोतसाधनलाई अन्तरराष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न उद्देश्यले उद्योग सञ्चालनमा ल्याउन लागेको उद्योग वाणिज्य महासङ्घ अन्तर्गत कृषि उद्यम केन्द्रका प्रमुख प्रदीप मर्हजनले अभियानलाई बताए ।

OVOP

‘महासङ्घ र सरकारको पहलमा सार्वजनिक निजी–साझेदारी (पीपीपी) मोडेल अनुसार उद्योग सञ्चालनमा ल्याउन लागेको हो,’ उनले भने, ‘उद्योग चालू आर्थिक वर्षभित्र सञ्चालनमा आउने छन् ।’
महासङ्घले बारामा डेरी, सिन्धुलीमा जुनार, रसुवामा रेन्वोट्राउड, रौतहटमा माछाको दाना, अर्घखाचीमा मह, प्यूठानमा तरकारीको बीउ, धादिङमा तरकारी प्रशोधन केन्द्र, मुस्ताङमा पश्मिना धागो, ओखलढुङ्गामा चिराइतो र जाजरकोटमा अर्धबहुमूल्य पथ्थर उद्योग सञ्चालनमा आउने बताएको छ । ती उद्योग सञ्चालनका लागि सरकार, उद्योग वाणिज्य महासङ्घ र स्थानीय कृषकले ३० करोड ९ लाख रुपैयाँ लगानी गरेको महर्जनले जानकारी दिए । त्यसैगरी, सरकारले उल्लिखित उद्योग सञ्चालनका लागि अधिकतम ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने उनको भनाइ छ ।
महर्जनका अनुसार निकट भविष्यमा नै बारमा डेरी उद्योग, सिन्धुलीमा जुनार उद्योग, रौतहटमा माछालाई आवश्यक पर्ने दाना उद्योग सञ्चालन आउने छन् । चालू आबमा सञ्चालनमा आउने उद्योगमा बाकी सात उद्योगको मेसिन जडान कार्य शुरु भइरहेको ओडीओपी कार्यक्रमका संयोजक डिबी बस्नेतले बताए । सात उद्योगमध्ये पनि धेरैले काम तीब्ररुपमा अगाडि बढाएको उनको भनाइ छ ।
‘उद्योगमा स्थानीय कच्चापदार्थलाई प्रयोगमा ल्याइने छ,’ महर्जनले भने, ‘त्यसो गर्दा स्थानीय स्रोत तथा साधनको प्रयोग बढछ, ।’ एफएनसीसीआई र सरकारको पहलमा सञ्चालित उद्योग नमूना मात्र हुने उनले जानकारी दिए । एउटै जिल्लामा पनि धेरै कृषि उद्योगको आवश्यकता पर्ने महासङ्घले बताएको छ । थप उद्योग आवश्यक परेका जिल्लास्थित उद्योग वाणिज्य सङ्घको पहलमा सञ्चालन गर्न सकिने बस्नेतले बताए ।
त्यसैगरी, एफएनसीसीआई ७५ ओटै जिल्लामा ओडीओपी कार्यक्रमा सञ्चालन गर्ने भएपनि हाल १० जिल्लामा कार्यक्रम लागू हुँदै आएको छ । तर, एफएनसीसीआईले थप जिल्ला विस्तार गर्ने बताएको ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :